सम्पादकीय : दलको जनमत जाँच्ने चुनाव !

२०७२ मा संविधान जारी भएयता देशमा दुई पटक प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएका छन् । २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रले पालैपालो गठवन्धन बनाएर चुनावी मैदानमा उत्रिए । गठवन्धन प्रवृत्तिका कारण कर्णालीमा कहिले कांग्रेस त कहिले एमाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ बढारिए । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा गठवन्धनका कारण २०७४ मा नेपाली कांग्रेस र २०७९ मा नेकपा एमालेको पक्षमा नतिजा सून्य बन्यो । कर्णालीका १० जिल्ला मध्ये सुर्खेत र दैलेखमा दुई/दुई र बाँकी ८ जिल्लामा एक/एक निर्वाचन क्षेत्र छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको गठवन्धनले २०७४ मा १२ मध्ये ११ सिटमा जित निकालेको थियो । सो चुनावमा नेपाली कांग्रेसले कुनै पनि सिटमा जित हासिल गर्न सकेन । २०७९ को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा एमाले सून्य बन्ने अवस्थामा पुगेको थियो । २०७४ को चुनावमा कर्णालीमा कांग्रेसको जित शून्य हुँदा नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले समेत हार बेहोर्नुपरेको थियो ।

त्यस निर्वाचनमा एमालेका ६ र माओवादी केन्द्रका पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । तर माओवादीसँगको एकता भंग भएपछि २०७९ को निर्वाचनमा कर्णालीमा एमालेको जित शून्य बन्यो । उक्त चुनावमा माओवादी केन्द्र, एकीकृत समाजवादी गठबन्धनसँग तालमेल गरेर अघिल्लो चुनावमा पत्तासाफ भएको कांग्रेसले पुनरागमन गरेको थियो । गत प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १२ सिटमध्ये गठबन्धनले ११ सिट आफ्नो पोल्टामा पारेको थियो । जसमा माओवादीले पाँच, कांग्रेसले चार र एकीकृत समाजवादीका तीन उम्मेदवारले चुनाव जितेका थिए । जुम्लामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार गोम कुँवर गौतम मात्र हारिन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले हराएका थिए । आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन विशेष परिस्थितीका बीच हुँदैछ । यस पटकको निर्वाचन पपुलर राजनीनिक शक्ति र पुराना दलहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ । २३–२४ भदौको जेनजी आन्दोलनले नियमित समयभन्दा झण्डै दुई वर्षअगावै प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

यस पटकको निर्वाचन कर्णालीमा रोचक हुने देखिएको छ । किनभने यसपटक विगतमा जस्तो कुनै पनि दलले गठनबन्धन गरेका छैनन् । अर्थात् कर्णालीमा गठवन्धन गरेर चुनाव लड्ने दलहरुको वास्तविक जनमत मापन पनि आगामी चुनावले गर्दैछ । दलहरुले चुनावी नतिजा आफ्‌नो पक्षमा पार्न निकै मेहनत गरिरहेका छन् । कर्णालीमा १२ सिटका लागि एक सय ३४ उम्मेदवार मैदानमा छन् । आगामी निर्वाचनमा दलहरु एक्ला–एक्लै मैदानमा हुँदा कसले बाजी मार्छ यसै भन्ने सकिने अवस्था छैन् । तर गत निर्वाचनमा कर्णालीका १२ निर्वाचन मध्ये केही ठाउँमा मात्रै उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । जसले गर्दा एमाले, कांग्रेस र नेकपाको विगतको समिकरणको हिसाव बिग्रने चर्चा छ । चुनाव हुने वा नहुने भन्ने चर्चाका बीच मतदानको समय आउन अब एक साता बाँकी छ । विशेष परिस्थितीका बाबजुद हुन लागेको आगामी निर्वाचनलाई सफल बनाउन सबैले आफ्‌नो ठाउँबाट सहयोग गर्न आवश्यक छ । सरकारले आम मतदातालाई भयरहित चुनावमा भाग लिने वातावरण तय गराउन कुनै कसरत बाँकी राख्नु हुँदैन । चुनाव लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसलाई शान्तिपूर्ण तवरबाट सम्पन्न गराउन सबैको साझा दायित्व हो ।

सम्पादकीय : दलको जनमत जाँच्ने चुनाव !

सुर्खेतमा कांग्रेसको चुनावीसभा नेकपा र रास्वपाप्रति चर्को

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds