बाँकेमा प्रलोपा–जसपा नेपालबीच चुनावी तालमेल, दुई क्षेत्रमा साझा उम्मेदवारलाई समर्थन

१०, फाल्गुन २०८२

बाँके। जिल्लाको समसामयिक राजनीतिक परिस्थिति र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच बाँके जिल्लामा रणनीतिक चुनावी तालमेल तथा कार्यगत एकता गर्ने औपचारिक सहमति सम्पन्न भएको छ।
आइतबार बसेको संयुक्त बैठकपछि दुवै दलका जिल्ला नेतृत्वले जारी गरेको सहमति पत्रमा देशमा देखिएको वर्तमान राजनीतिक ध्रुवीकरण, ‘जेन्जी’ विद्रोहपछिको विकसित राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ। साथै, संसदीय अभ्यासलाई सुदृढ बनाउँदै बाँके जिल्लाको विशिष्ट राजनीतिक अवस्था र मतदाताको अपेक्षालाई ध्यानमा राखी चुनावी सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ।
क्षेत्र नं. १ मा कृष्णा केसीलाई जसपा नेपालको समर्थन
सहमति अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रलोपा का आधिकारिक उम्मेदवार कृष्णा केसी (चुनाव चिन्ह ‘आँखा’) लाई जसपा नेपालले औपचारिक समर्थन गर्नेछ। दुवै दलका कार्यकर्ता र संगठनात्मक संरचनाहरू उक्त क्षेत्रमा साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुनेछन्।
क्षेत्र नं. २ मा कमरुद्दीन राईलाई प्रलोपा को साथ

त्यस्तै, बाँके निर्वाचन क्षेत्र नम्बर २ मा जसपा नेपालका आधिकारिक उम्मेदवार कमरुद्दीन राई (चुनाव चिन्ह ‘छाता’) लाई प्रलोपा ले समर्थन गर्ने सहमति भएको छ। उक्त क्षेत्रमा पनि दुवै दलले साझा उम्मेदवारको पक्षमा एकीकृत अभियान सञ्चालन गर्नेछन्।
विचार, झन्डा र अस्तित्वप्रति पारस्परिक सम्मान

सहमति पत्रमा दुवै दलले निर्वाचन प्रचारप्रसारका क्रममा एक-अर्काको विचार, सिद्धान्त, झन्डा र संगठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साझा उम्मेदवारलाई आफ्नै दलको उम्मेदवार सरह आत्मसात् गर्दै राष्ट्रिय निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्ने घोषणासमेत गरिएको छ।
प्रलोपा बाँके जिल्ला अध्यक्ष दीपक शर्माले जिल्लाको समग्र राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि तालमेल आवश्यक भएको बताउँदै यो सहकार्यले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे।
जसपा नेपाल बाँके जिल्ला अध्यक्ष कौशल कुमार धोबीले पनि वर्तमान चुनौतीपूर्ण राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै संयुक्त प्रयासले जनतामा सकारात्मक सन्देश जाने बताए।
दुवै दलको यो रणनीतिक तालमेलले बाँकेका दुई निर्वाचन क्षेत्रमा चुनावी समीकरणमा नयाँ आयाम थपिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

बाँकेमा प्रलोपा–जसपा नेपालबीच चुनावी तालमेल, दुई क्षेत्रमा साझा उम्मेदवारलाई समर्थन

कर्णालीका लागि ‘आश्वासन होइन, परिणाम’: नरेश भण्डारीको

बाँकेमा प्रलोपा–जसपा नेपालबीच चुनावी तालमेल, दुई क्षेत्रमा साझा उम्मेदवारलाई समर्थन

बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *