बाजुरामा प्रभावकारी बन्दै मतदाता शिक्षा

बाजुरा,७ फाल्गुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
चुनावी प्रचार–प्रसारले गाउँ–टोल तातेका बेला जिल्ला निर्वाचन कार्यालय बाजुरा ले भने मतदाता सचेतनालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कार्यालयले जिल्लाका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्ति गरी घरदैलो अभियान सञ्चालन गरेको छ। दैनिक रूपमा घर–घर पुगेर मतदाता शिक्षकहरूले मतदान गर्ने तरिका, मतपत्रमा सही छाप लगाउने विधि, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी तथा मतदान समयबारे जानकारी दिइरहनुभएको छ।
बडिमालिका नगरपालिका(५ कि एक जना मतदाता थेवे साउदले मतदाता शिक्षा पाए सँगै आफूहरू ढुक्क भएर सही तरिकाले मतदान गर्न सक्षम भएको प्रतिक्रिया दिनुभयो। “पहिला अन्योल थियो, अहिले घरमै सिकाइदिँदा सजिलो भयो,” उहाँले भन्नुभयो।
मतदाता शिक्षिका दुर्गा देवि साउदका अनुसार अधिकांश मतदाताले चासोका साथ कार्यक्रम सुन्ने र जिज्ञासा राख्ने गरेका छन्। विशेष गरी वृद्धवृद्धा, पहिलो पटक मतदान गर्ने युवा तथा महिलाहरूलाई लक्षित गरेर व्यवहारिक अभ्याससहित शिक्षा दिइँदा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
जिल्ला निर्वाचन अधिकारी भीम बहादुर शाहिले मतदाता शिक्षा कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो उहाँका अनुसार सचेत मतदाता निर्माण गर्न सके बदर मत कम हुने र निर्वाचन प्रक्रिया अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।
यसैबिच, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लामा सुरक्षा व्यवस्थापन, कर्मचारी खटनपटन, सामग्री व्यवस्थापन लगायत निर्वाचनका कामहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।





