वन्यजन्तुको बढ्दो आक्रमणपछि  कतरनियाघाटमा नेपालीलाई प्रवेश निषेध

बर्दिया,६ फाल्गुन ।

भारत–नेपाल सीमावर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेपछि भारतीय पक्षले कडा कदम चालेको छ । भारतको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्र अन्तर्गत धर्मापुर रेन्जपोष्टले घाँस काट्न, दाउरा बटुल्न तथा चरिचरनका लागि नेपाली नागरिकलाई जंगल प्रवेशमा रोक लगाएको जनाएको छ ।

वन विभाग, धर्मापुरका वनकर्मी संजय मिश्राका अनुसार पछिल्लो समय जंगलमा घाँस–दाउरा गर्न गएका सर्वसाधारणमाथि बाघ, चितुवा र हात्तीको आक्रमण बढेको छ । “वन्यजन्तुको आक्रमणबाट ज्यानै जाने घटना बढ्न थालेपछि सुरक्षाका लागि प्रवेशमा रोक लगाउन बाध्य भएका हौं,” उनले बताए ।

उनका अनुसार कतरनियाघाट क्षेत्रमा बाघ, चितुवा र हात्तीको संख्या वृद्धि भइरहेको छ । सीमावर्ती बस्तीमा समेत वनबाट निस्किएका चितुवाले कुकुरसहित घरपालुवा जनावरमाथी आक्रमण गर्ने क्रम बढेको छ । साँझ परेपछि चितुवा बस्तीमा पसेर आतंक मच्चाउने गरेको स्थानीयको गुनासो छ ।

मधुवन नगरपालिकाकी सूचना सुनारका अनुसार यसअघि भारतीय वन प्रशासनले पुरुषलाई मात्र प्रवेशमा रोक लगाएको थियो । “पहिले महिलालाई घाँस–दाउरा ल्याउन दिइन्थ्यो, तर अहिले बाघ, चितुवा र हात्तीको त्रासका कारण पूर्ण रूपमा रोक लगाइएको छ,” उनले भनिन् ।

सीमामा खटिएको सशस्त्र प्रहरी बीओपी तारातालका एक अधिकारीले पनि भारतीय वन क्षेत्रमा वन्यजन्तुको जोखिम बढेकाले नजान आग्रह गर्दा पनि कतिपय स्थानीयले बेवास्ता गर्ने गरेको बताए । सोही कारण भारतीय वन अधिकारीहरूले कडा प्रतिबन्ध लगाएको उनको भनाइ छ ।

सीमावर्ती बासिन्दाको दैनिकी प्रभावित

घाँस, दाउरा र चरिचरनमा रोक लगाएपछि बर्दियाका सीमावर्ती गाउँका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस क्षेत्रमा पर्याप्त वन क्षेत्र नभएकाले स्थानीय किसान वर्षौंदेखि भारतीय जंगलमा निर्भर रहँदै आएका थिए ।

स्थानीयका अनुसार भारतीय जंगलमा घाँस–दाउरा तथा चरिचरनका लागि जाँदा नेपालीले वनका मुन्सी तथा कर्मचारीलाई खाद्यान्न बुझाउने चलन समेत थियो। तर हालको प्रतिबन्धले दैनिक जीवनयापनमा समस्या थपिएको छ ।

सीमावर्ती बासिन्दाले वैकल्पिक व्यवस्था मिलाउन दुवै देशका सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् । वन्यजन्तु संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुरक्षित गर्ने उपाय खोज्नुपर्ने उनीहरूको माग छ ।

वन्यजन्तुको बढ्दो आक्रमणपछि   कतरनियाघाटमा नेपालीलाई प्रवेश निषेध

लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीको फायर 

Leave a comment

Your email address will not be published. Required fields are marked *