कर्णालीमा कस्तो छ रास्वपा नेतृद्वय विनिता र टाँसीको चुनावी मैदान ?

ओम शाही

सुर्खेत, २ फागुन । 

२०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट पहिलो पटक सांसद निर्वाचित भएकी थिइन्, जुम्लाकी विनिता कठायत । गएको निर्वाचनबाट अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दश हजार पाँच सय ८८ मत प्राप्त गर्दा समानुपातिकतर्फ २० हजार एक सय ६७ मत प्राप्त गरेको थियो ।

सञ्चारकर्म छाडेर राजनीतिमा हाम फालेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको तत्कालिन ग्यालेक्सी फोरके टेलिभिजनमा विनिता न्युज एंकरको कस्ट्युम स्टाइलिस्टमा काम गर्थिन । लामिछानेले स्थापना गरेको रास्वपामा विनितालाई समानुपातिक सांसद पद अकस्मात आइलागेको राजनीतिक विरासत थियो ।

गएको निर्वाचनमा राजनीति बुझ्‌न नपाउँदै उनलाई सांसद पद सरप्राइज जस्तै बनेको थियो । न राजनीतिक भेला, न त मतदाता फकाउन नै उनलाई मेहनत गर्नु पर्‍यो । २३–२४ भदौको जेन–जी आन्दोलनका कारण सांसदको पुरा अवधि काम गर्न नपाउँदै पुनः दोस्रो पटक सांसद हुन कस्सिएकी छन् विनिता । तर, यसपटक भने समानुपातिक नभई प्रत्यक्षतर्फ उनको उम्मेदवारी छ ।

आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी अहिले जुम्लामा मतदताको घरदैलो अभियानमा छिन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट उनले नौ जना पुरुषसँग प्रतिस्पर्धा गर्दैछिन् । उनका लागि मुख्य चुनौती परम्परागत दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छन् ।

उनका अर्का चुनौती गएको निर्वाचनमा कांग्रेस–माओवादी लगायत पाँच दलिय गठवन्धनलाई हायलकायल बनाएर दोब्बर मतले विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का ज्ञानबहादुर शाही पनि चुनावी मैदानमा छन् । शाहीले विनितालाई हराउन यतिसम्म चुनौती दिएका छन्, राप्रपा र रास्वपा मिलेको भन्दै हलो चिन्हमा भोट हाल्न प्रचार गरेको आरोप लगाउँदै विनितालाई पत्रकार सम्मेलन नै गर्नुपरेको थियो ।

सांगठनिक हिसाले जुम्लामा पुरान दल बलिया छन् । २०७९ को मतपरिणामलाई विश्लेषण गर्ने हो भने जुम्लामा सांगठनिक भोटमा एमाले अघि छ । एमालेको १० हजार पाँच सय ४८ सांगठनिक भोट रहदा १० हजार चार सय ७६ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेकपा (तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी)को आठ हजार नौ सय ६० मत रहदा ज्ञानबहादुर शाहीको पार्टी राप्रपाको पाँच हजार सात सय ९६ सांगठनिक भोट छ ।

गएको निर्वाचनमा रास्वपाको घण्टी चिन्हलाई जुम्लाबाट आठ सय ९९ मत प्राप्त भएको देखिन्छ । यो मतपरिणामले रास्वपा सांगठनिक हिसावले जुम्लामा निकै कमजोर देखिन्छ । यस कारण पनि उनलाई यस पटकको निर्वाचन सहज हुने देखिदैन । गएको निर्वाचनमा पुराना दलको विकल्प भन्दै उदाएको रास्वपाको जनलहर निकै थियो । जुन अहिले छ । तर, विनिताले आफ्‌नै गृह जिल्लाबाट समानुपातिकतर्फ सन्तोषजनक भोट पाइनन् ।

कर्णालीमा सुर्खेत बाहेक अन्य पहाडी तथा हिमाली जिल्लामा रास्वपाको उपस्थिती कमजोर रहेको विगतको मतपरिणामले देखाउछन् । यस कारण पनि दोस्रो पटक संसद यात्रा तय गर्न लागेकी विनिता निकै दवावमा छिन् । चुनावी प्रचारका क्रममा जुम्लामा रहेकी विनिताले घरदैलो कार्यक्रमलाई व्यापक बनाएकी छन् । चुनावी प्रचरका क्रममा उनी कहिले मन्दिरको दर्शन गर्न पुग्छिन्, त कहिले धामीबाट आर्शिवाद लिन । चुनावको प्रचारकै क्रममा उनी यसअघि कहिल्यै नपुगेका बस्तीहरुमा पुगेर मतदाताको आर्शिवाद लिएकी छन् ।

घरदैलोसँगै विनिताले आफ्‌नो सामाजिक सञ्जाललाई समेत प्रयोग गरिरहकी छन् । हातमा चुनाव चिन्ह घण्टी लिएर उनको प्रचार सुरु हुन्छ । चुनावी प्रचारका क्रममा मतदाता आफुप्रति आशावादी रहेको बताउँदै आएकी छन् । उनले भोट माग्दा अधिकांश मतदातालाई भन्ने गरेकी छन्, ‘यो हाम्रो पितृसत्तात्मक समाज जहाँ राजनीति अझै पनि पुरुषहरूको अखडा बनेको छ । जहाँ शक्ति, पहुँच र पैसाको खेलमा महिलालाई कमजोर ठानिन्छ । तर, आज सबै पार्टीका अनुभवी पुरुष नेताहरूसँग आँखा जुधाएर उभिएकी एउटै महिला छिन् । डराएर होइन, झुकेर होइन, आत्मविश्वास, इमान र जनताको भरोसासहित । कर्णाली–जुम्ला जस्तो पछाडि पारिएको ठाउँमा, जहाँ अझै विकास सपना जस्तै लाग्छ, त्यहीँ बाजेको उमेरका नेतासँग लडिरहेकी एउटी युवा छोरी छे । अब निर्णय तपार्इँको हातमा ।’

जुम्लाबाट रास्वपाका कठायत, राप्रपाका शाहीसँगै एमालेका शान्तिलाल महत, कांग्रेसका दिपबहादुर शाही, नेकपाका नरेश भण्डारी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का बिर्षबहादुर रावत, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का मनऋषि धिताल, नेपाल जनता पार्टीका रनिलविक्रम शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, प्रतिनिधिसभातर्फ एक निर्वाच क्षेत्र रहेको हुम्लाबाट रास्वपाले टाँसी ल्हान्जोमलाई उम्मेदवार बनाएको छ । टाँसी उनै व्यक्ति हुन्, जो २३–२४ भदौपछि बनेको पूर्वप्रधानन्यायधिस सुशीला कार्की नेतृत्वको सरकारमा भू–राजनीति जोडिदा मन्त्री बन्नबाट रोकिएकी थिइन । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमी स्थायी घर भएकी लामालाई चीन विरोधी राजनीतिमा संक्रिय बौद्ध धर्मगुरु दलाई लामासँग जोडेर विवादमा ल्याइएको थियो ।

सोही कारण उनी मन्त्री बन्नबाट रोकिएकी थिइन । अमेरिकी राजदुतावासको मातहत रहने युथ काउन्सिलमा जोडिएकाले पनि उनी विवादित बनेकी थिइन । सुरुमा रास्वपाले उनलाई आदिवासी जनजाती महिला कलस्टरको पहिलो नम्बरमा राखेको थियो । तर, पार्टीले अन्तिम समयमा आएर उनको नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो । हुम्लामा पनि मुख्य प्रतिस्पर्धी तीन दल कांग्रेस, नेकपा र एमाले नै छन् ।

जसमा कांग्रेसबाट जयपति रोकाया, नेकपाबाट डाक्टर दिपेन्द्र रोकाया र एमालेबाट दल फडेरा उम्मेदवार छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट छक्क बुढा, नेकपा (माओवादी)बाट कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जटिल कार्की आगामी निर्वाचनका लागि चुनावी मैदानमा छन् ।

गएको निर्वाचनमा हुम्लामा प्रत्यक्षतर्फका उम्मेदवार नउठाएको रास्वपाको घण्टी चिन्हलाई समानुपातिकतर्फ एक सय ७१ मत प्राप्त भएको थियो । यो परिणाम रास्वपाका लागि निकै कमजोर उपस्थिती हो । गत निर्वाचनमा अन्य दलहरुले पाएको समानुपातिक मत हेर्दा नेपाली कांग्रेसले आठ हजार एक सय ९२, तत्कालिन नेकपा माओवादी केन्द्रले सात हजार तीन सय ६३, नेकपा एमालेले पाँच हजार नौ सय सात मत पाएका छन् । पुराना दलहरुको यो उपस्थितीले टासीलाई चुनाव जित्न निकै चुनौती हुने देखिन्छ ।

यद्यपी, उनका पक्षमा आदिवासी जनजातिको भोट आउने आकलन गरिएको छ । टासी यतिबेला चुनावी प्रचारका लागि हुम्लाको सर्केगाड गाउँपालिका पुगेकी छन् । चुनावी प्रचारका क्रममा मतदाता आफुप्रति उत्साहित रहेको बताउँछिन । हुम्लालाई राज्यले सदिऔंदेखि उपेक्षामा पार्दै आएकाले आफुहरुको सहभागिता सुनिश्चित हुनुपर्ने आवाज उठाउँदै आएकी छन् ।

‘महिलाले हुम्ला जस्तो जिल्लाबाट पहिलो पटक अवसर पाउनु नै ठुलो कुरो हो । राज्यको समर्ग सिस्टमले हुम्लालाई मात्र होइन महिलालाई पनि त पछाडि पारेको छ । म फरक किन हुँ भन्दा पहिलो कुरो म नयाँ सोच भएको युवा हुँ, आन्दोलनबाट जन्मिएको युवा हुँ, सडकमा गोली लागेन र आज बाँचेकी छु । अब सडकको आवाजलाई सदनमार्फत दीगो बनाउन मलाई हुम्लीले जिताउन पर्छ,’ मतदातासँग टाँसीले भोट मागिरहेकी छन् ।

कर्णालीमा कस्तो छ रास्वपा नेतृद्वय  विनिता र टाँसीको चुनावी मैदान ?

उम्मेदवार नपुग्ने तिलाकाे दुर्गम गाउँ

कर्णालीमा कस्तो छ रास्वपा नेतृद्वय  विनिता र टाँसीको चुनावी मैदान ?

देखिन छाडे गोरुगाडा 

Leave a comment

Your email address will not be published. Required fields are marked *