नेपाल एपीएफ स्कुल कोहलपुरको छैठौं वार्षिकोत्सव सम्पन्न, सञ्चारकर्मी आलम खान सम्मानित

बाँके ,१७ माघ।
नेपाल एपीएफ स्कुल, कोहलपुरको छैठौं वार्षिकोत्सव तथा ‘अभिभावक दिवस’ भव्य रूपमा सम्पन्न भएको छ । सो अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै रेडियो नेपाल बाँकेका संवाददाता आलम खान सम्मानित हुनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ विध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खानलाई सम्मानपत्र प्रदान गरिएको हो । सम्मान प्रदान गर्दै डिआइजी कुवरले सञ्चार माध्यमले समाजलाई सही सूचना प्रवाह गर्नुका साथै सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुवरले शिक्षा मानव उत्कृष्टताको आधार भएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षामार्फत अनुशासित, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्न सकिनेमा जोड दिँदै शैक्षिक संस्थाले ज्ञानसँगै नैतिकता र अनुशासनलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नौवस्ता जवान तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बमले “मानव उत्कृष्टताका लागि शिक्षा” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय अघि बढिरहेको बताउनुभयो । उहाँले एपीएफ स्कुलले शैक्षिक गुणस्तर, अनुशासन र संस्कारलाई सँगसँगै अघि बढाइरहेको उल्लेख गर्नुभयो ।

विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावलले एपीएफ स्कुलको शैक्षिक गुणस्तर, अनुशासन र सह–पाठ्यक्रम गतिविधिमा छुट्टै पहिचान स्थापित हुँदै गएको बताउनुभयो । उहाँले अभिभावक, शिक्षक र विद्यार्थीको सामूहिक प्रयासले विद्यालयलाई अझ उत्कृष्ट बनाइरहेको धारणा राख्नुभयो ।

त्यसैगरी स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमार प्याकुरेलले हाल विद्यालयमा कक्षा १० सम्म पठनपाठन भइरहेको र ४२० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री र सिकाइ पद्धतिलाई थप प्रभावकारी बनाइने योजना रहेको पनि बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । प्रस्तुतिले उपस्थित अभिभावक र अतिथिहरूको मन जितेको थियो ।

कार्यक्रममा अभिभावक माया बुढाथोकी, बलबहादुर विष्ट लगायतलाई उत्कृष्ट अभिभावकका रूपमा सम्मान गरिएको थियो । साथै कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक भिम चन्द, मानबहादुर शाही, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख निराजन खनाल, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाह लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।







