कर्णालीका १२ निर्वाचन क्षेत्रमा १३८ उम्मेदवार ठुला दलले दिएनन् महिलालाई अवसर

ओम शाही
सुर्खेत, ८ माघ ।
आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीबाट एक सय ३८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलबार कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।
कर्णालीमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)सँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रमसंस्कृति पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादी तथा तराई केन्द्रीत राजनीतिक दलहरूले उम्मेदवार उठाएका छन् ।
जसमा ११ महिला र एक सय २७ पुरुष गरी एक सय ३८ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतका निमित्त प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईँका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । उनका अनुसार हालसम्म उम्मेदवारविरुद्ध कुनैपनि उजुरी परेको छैन ।
‘निर्वाचन कार्यतालिका अनुसार बुधबार साँझ ५ बजेसम्मका लागि उजुरी दिन सकिनेमा कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन,’ उनले भने, ‘उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ, बिहिबार अन्तिम नामावली प्रकाशन हुन्छ ।’ अन्तिम नामावाली प्रकाशन भएपछि उम्मेदवारहरुलाई शनिबार चुनाव चिन्ह प्रदान गरिने उनले बताए ।
निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले उपलब्ध गराएको तथ्यांक अनसुसार दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतबाट २८ पुरुष र दुई महिला गरी ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  जसमा सुर्खेत–१ बाट १३ पुरुष र सुर्खेत–२ बाट एक महिला र १६ पुरुष गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, एक निर्वाचन क्षेत्र रहेको डोल्पाबाट आठ पुरुष र एक महिला गरी नौ जनाले उम्मेदवारी दिएका छन् । मुगुबाट सात पुरुष, जुम्लाबाट एक महिला र नौ पुरुष गरी १०, कालीकोटबाट १४ पुरुष, हुम्लाबाट एक महिला र सात पुरुष गरी आठ, रुकुम पश्चिमबाट ११ पुरुष र एक महिला गरी १२, जाजरकोटबाट ११ पुरुष र डोल्पाबाट आठ पुरुष र एक महिला गरी नौ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको देलैखबाट तीन महिला र १८ पुरुष गरी २१ जनाले उम्मेदवारी दिएका छन् । जसमा क्षेत्र नम्बर १ बाट एक महिला र नौ पुरुष गरी १० र क्षेत्र नम्बर २ बाट दुई महिला र नौ पुरुष गरी ११ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
महिलालाई उपेक्षा
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कर्णालीका प्रमुख राजनीतिक दलहरुले महिलालाई उपेक्षा गरेका छन् । अघिपछि महिला सहभागिताको सवाल निकै जोडतोडका साथ उठाउने कांग्रेस, एमाले, नेकपाले मात्र होइन आफुलाई वैकल्पिक शक्तिका रुपमा चिनाउने नयाँ दलहरुले पनि महिलालाई अपेक्षा गरेका छन् ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फको टिकटमा मात्र होइन दलहरुले निर्वाचन लड्ने आकांक्षा भएका महिलाहरुलाई सिफारिसमा समेत विभेद गरेका छन् । प्रत्यक्षतर्फ चुनाव लड्ने योजना बनाएका महिलाहरुलाई पछि पार्दै पुरुषहरुको वर्चश्व कायम हुँदा कर्णालीमा मात्रै होइन देशैभर महिला सहभागिताको सवाल बोली र सिद्धान्तमै सीमित भएको छ ।
ठुला दलले उपेक्षा गर्दा कर्णालीमा साना दलले मात्र महिलालाई केही जिल्लामा अवसर दिएका छन् । तर, उनीहरुले जित्ने सम्भावना भने छैन । कर्णालीबाट ११ जना महिलाले अवसर पाउँदा ठुला दल कांग्रेस र रास्वपाले मात्रै केही क्षेत्रमा महिलालाई अघि सारेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनबाट संघीय संसदमा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसले कर्णालीका १२ निर्वाचन क्षेत्र मध्ये एक क्षेत्रमा मात्रै महिलालाई अवसर दिएको छ । कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा बासना थापालाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । अन्य निर्वाचन क्षेत्रबाट उम्मेदवार आकांक्षीका रुपमा सिफारिस भएपनि महिलाहरुले अवसर भने पाएनन् ।
त्यस्तै, विघटित प्रतिनिधिसभामा दोस्रो दल नेकपा एमालेले कर्णालीबाट प्रत्यक्षतर्फ योग्य महिला नै भेटाएन । आकांक्षीको रुपमा केही जिल्लाबाट महिलाहरु सिफारिस भएको भएपनी अन्ततः चुनावनको टिकट भने पुरुषले नै पाएका छन् । गएको निर्वाचनबाट संघीय संसदमा तेस्रो दल बनेको तत्कालिन माओवादी हालको नेकपाले पनि महिलालाई अवसर दिन चाहेन ।
कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा योग्य हुँदाहुँदै पनि नेकपाले प्रत्यक्षतर्फ महिलालाई अघि सारेन । गत निर्वाचनबाट अस्तित्वमा आएको रास्वापाले भने कर्णालीका दुई निर्वाचन क्षेत्रमा महिलालाई अवसर दिएको छ । रास्वपाले जुम्लाबाट विनिता कठायतलाई प्रत्यक्षतर्फको टिकट दिएको छ । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन । यस पटक कठायतलाई रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएको छ ।
त्यस्तै, रास्वपाले हुम्लाकी टासी ल्हान्जोमलाई पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको टिकट दिएको छ । रास्वपाले सुरुमा टासीको नाम समानुपातिक सूचीमा राखेको थियो । यस्तै, सुर्खेत–२ मा नेपाल मजदुर किसान पार्टीबाट तुल्छी खड्का, दैलेख–२ मा राप्रपाबाट बविता शाही, आम जनता पार्टीबाट तिर्था कुमारी वंशी मगर उम्मेदवार छन् । दैलेख–१ मा आमजनता पार्टीबाट मेनका श्रेष्ठ, रुकुम पश्चिममा आमजनता पार्टीबाट प्रेमा दमाई, सल्यानमा राप्रपाबाट अनिशा नेपाली र राष्ट्रिय जनमोर्चाबाट कमला डांगी प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षका उम्मेदवार बनेका छन् ।
कर्णालीका १२ निर्वाचन क्षेत्रमा १३८ उम्मेदवार ठुला दलले दिएनन् महिलालाई अवसर

जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता

Leave a comment

Your email address will not be published. Required fields are marked *