घाँस काट्न गएकी १७ वर्षीया बालिकाको बाघको आक्रमणबाट मृत्यु, बर्दियामा वन्यजन्तु आतङ्क बढ्दो

बर्दिया ,१५ पुस।
बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ वर्षीया बालिकाको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा कोठिया टोल निवासी बिनीता परियार रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार आमा–छोरीसहित पाँच जनाको समूह सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा अचानक बाघले आक्रमण गरेको हो । उकालो चढ्दै गर्दा बिनीता आमालाई तान्दै अगाडि बढिरहेकी थिइन् । सोही क्रममा पछाडिबाट बाघले आक्रमण गरी उनलाई जंगलभित्र तानेर लगेको पारिवारिक स्रोतले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्दा गम्भीर अवस्थामा परियारलाई वन क्षेत्रमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल चौधरीले प्रारम्भिक अनुसन्धानका आधारमा पाटेबाघको आक्रमण हुन सक्ने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्र चितुवा वा पाटेबाघमध्ये कुन वन्यजन्तुले आक्रमण गरेको हो भन्ने यकिन हुनेछ ।
पछिल्लो समय बर्दियामा वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । पुस महिनाभित्र मात्र वन्यजन्तुको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने एक जना घाइते भएका छन् । जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा चितुवा र बाघको आक्रमणबाट हालसम्म छ जनाको ज्यान गएको छ ।
विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रभन्दा बाहिर रहेका सामुदायिक वन क्षेत्रमा पछिल्लो समय चितुवा र बाघको आक्रमण बढी देखिन थालेको छ । यसले स्थानीय बासिन्दामा त्रास बढाएको छ भने वन्यजन्तु व्यवस्थापन र सुरक्षा उपाय थप प्रभावकारी बनाउन सरोकारवालाले माग गरेका छन् ।






