कर्णाली बासी: लामो रातको कथा

गोल्डेन बुढा
जुम्ला ,१५ पुस।
कर्णालीमा पुस १५ केवल पात्रोको एउटा मिति होइन। यो समयप्रतिको दृष्टि हो, प्रकृतिसँगको सम्बन्ध हो र पुस्तौँदेखि अभ्यास हुँदै आएको सामूहिक स्मृतिको जीवित परम्परा हो। वर्षकै सबैभन्दा लामो रात नसुतेर बिताउने चलनले कर्णाली समाजको धैर्य, सहअस्तित्व र प्रकृतिसँगको सामञ्जस्यलाई उजागर गर्छ। तर आज यही सांस्कृतिक अभ्यास संरक्षणको सबैभन्दा संवेदनशील मोडमा उभिएको छ।
संस्कृतिलाई पर्व, नाचगान वा खानपानमा सीमित गरेर बुझ्नु कर्णाली समाजको आत्मालाई सरलीकृत गर्नु हो। पुस पन्ध्रसँग जोडिएका सामूहिक भोज, देउडा, साईतर (गाउँखाने) कथाहरू र लाटालाटी जस्ता अभ्यासहरू सामाजिक संरचनाका आधारस्तम्भ हुन्। यिनै अभ्यासमार्फत सहकार्य, लैङ्गिक समतुल्यता र सामूहिक स्मृतिको पुनर्निर्माण हुन्छ।लाटालाटी परम्परा केवल भेष बदल्ने रमाइलो खेल मात्र होइन। यो वर्षभरि जकडिएका सामाजिक भूमिकाबाट एक रातका लागि मुक्त हुने अभ्यास हो। यसले समाजभित्र लुकेका असमानता र शक्ति सन्तुलनलाई व्यंग्यात्मक ढङ्गले उजागर गर्छ। यस्ता अभ्यास नबुझी हराउनु भनेको सामाजिक विमर्शको एउटा महत्वपूर्ण माध्यम गुमाउनु हो।कर्णाली समाजको इतिहास धेरै हदसम्म मौखिक छ। साईतर, गाउँखाने कथाहरू र देउडाका शब्दहरू नै यहाँका ऐतिहासिक दस्तावेज हुन्। तर आधुनिक शिक्षापद्धति, औपचारिक लेखन र डिजिटल संस्कृतिको प्रभावले मौखिक ज्ञानलाई क्रमशः गौण बनाउँदै लगेको छ। आज पुस पन्ध्रको रात कथा सुनाउने पुस्ता बुढिँदै गएको छ, तर सुन्ने पुस्ता तयार छैन। यसले सांस्कृतिक स्मृतिमा गहिरो रिक्तता सिर्जना गरिरहेको छ। मौखिक इतिहास अभिलेखीकरण नहुनु भनेको भविष्यका लागि आफ्नै पहिचान हराउनु हो।परिवर्तन आफैँमा समस्या होइन। तर प्रश्न के हो भने,परिवर्तनले संस्कृतिलाई पुनःपरिभाषित गरिरहेको छ कि विस्थापित गर्दैछ ? पछिल्ला वर्षहरूमा पुस पन्ध्रका अवसरमा देखिने अत्यधिक मदिरा सेवन, जुवातास र भाडभैलो सांस्कृतिक विकास होइन, विकृति हुन्। यी अभ्यासले पर्वको केन्द्रमा रहेको सामूहिकता र आत्मीयतालाई विस्थापित गर्दै व्यक्तिगत उपभोग र प्रदर्शनलाई प्राथमिकता दिन थालेका छन्।युवापुस्ताका लागि पुस पन्ध्र ‘रमाइलो गर्ने रात’ मा सीमित हुनु यसैको संकेत हो। जब पर्वको अर्थ हराउँछ, अभ्यास पनि टिक्दैन।पुस पन्ध्रसँग जोडिएका परिकार,जुम्ली मार्से, राधे (कद्दु), जुम्ली फर्सी, तरुल,यी केवल स्वादका कुरा होइनन्। यी स्थानीय कृषि प्रणाली र जैविक विविधताका प्रतिफल हुन्। संस्कृति संरक्षणको बहस यी बीउँ, माटो र खेती प्रणालीसँग नजोडिएसम्म अपूरो रहन्छ। बजारमुखी खानपानले स्थानीय उत्पादन विस्थापित गर्दा संस्कृति मात्र होइन, आत्मनिर्भर अर्थतन्त्र पनि कमजोर बन्दै गएको छ। त्यसैले पुस पन्ध्र संरक्षणको अर्थ स्थानीय उत्पादन, बीउँ र किसान संरक्षण पनि हो।संस्कृति संरक्षण भावनात्मक अपिल मात्र होइन, संरचनागत हस्तक्षेप हो। पुस पन्ध्र संरक्षणका लागि कम्तीमा तीन तहमा काम आवश्यक छ।
पहिलो, ज्ञान तहमा पुस पन्ध्रसँग जोडिएका कथा, गीत, अभ्यास र जनविश्वासको व्यवस्थित अभिलेखीकरण। दोस्रो, संस्थागत तहमा स्थानीय सरकारले पर्वलाई संस्कृति-मैत्री नीतिअन्तर्गत संरक्षण गर्दै विकृत अभ्यास नियन्त्रण गर्ने पहल र तेस्रो, पुस्तान्तरण तहमा,विद्यालय शिक्षा र स्थानीय पाठ्यक्रममा कर्णाली संस्कृतिको गहिरो समावेश हुनुपर्ने देखिन्छन्।पुस पन्ध्र कर्णालीको सबैभन्दा लामो रात हो। तर आज संरक्षणमा चुक्यौँ भने, यही रात संस्कृतिको सबैभन्दा अँध्यारो समय बन्न सक्छ।
संस्कृति जोगाउनु भनेको विगत सम्झनु मात्र होइन, भविष्यप्रतिको उत्तरदायित्व वहन गर्नु हो।पुस पन्ध्र जोगिनु भनेको कर्णाली जोगिनु हो,उसको स्मृति, पहिचान र आत्मसम्मान जोगिनु हो।क्याप्सन : पुस पन्ध्रको रातमा खाने परिकार बनाउँदै तस्बिर गाेल्डेन बुढा जुम्ला !






