जुम्लामा यस वर्ष १७ हजार ५ सय ५८ मेट्रिक टन स्याउ उत्पादन

गाेल्डेन बुढा
जुम्ला,२९ मंसिर ।
स्याउको राजधानी भनेर चिनिने जुम्लामा पछिल्ला दुई वर्षयता स्याउ उत्पादन र निर्यात दुवै घटेको छ । खेतीको क्षेत्रफल र कृषकको संलग्नता बढे पनि मौसमजन्य क्षति र उत्पादकत्व घट्दा आम्दानीमा गिरावट आएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाउँछ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष जुम्लामा १७ हजार ५ सय ५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । यसमध्ये ५ हजार ५ सय ९१ मेट्रिक टन मात्रै जिल्ला बाहिर निर्यात भएको छ । निर्यातबाट ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ आम्दानी भएको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।यो तथ्याङ्क अघिल्ला दुई वर्षको तुलनामा कम हो । गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भई ९ हजार ३ सय ३१ मेट्रिक टन निर्यात भएको थियो । त्यसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ जिल्लामा भित्रिएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा त २० हजार ५ सय ११.४६ मेट्रिक टन उत्पादन भई हालसम्मकै उच्च ६६ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको थियो ।कृषि कार्यालयका अनुसार यस वर्ष कुल उत्पादनको करिब ३० प्रतिशत मात्रै स्याउ निर्यात भएको छ ।

४ हजार ४ सय १४.६० मेट्रिक टन जिल्लाभित्रै खपत भएको छ।भने नासो र कोसेलीका रूपमा २ हजार ६ सय ४८.८१ मेट्रिक टन बाहिरिएको छ । कुल उत्पादनको १५ प्रतिशत चाना, जुस, जाम, साइडर र ब्रान्डी जस्ता प्रशोधनमा प्रयोग भएको छ । १० प्रतिशत (१ हजार ७ सय ६५.८८ मेट्रिक टन) भण्डारण गृहमा रहेको छ भने करिब १० प्रतिशत उत्पादन क्षतिग्रस्त भएको छ ।उत्पादकत्वमा पनि गिरावट आएको छ । गत वर्ष प्रतिहेक्टर ९.९२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष घटेर ८.३१ मेट्रिक टनमा सीमित भएको छ । “असिना र बेमौसमी वर्षाका कारण झन्डै १७ करोड रुपैयाँ बराबरको क्षति आकलन गरिएको छ,” कार्यालय प्रमुख अधिकारीले भने, “नयाँ बिरुवाले पूर्ण उत्पादन दिन समय लाग्नु र बाली व्यवस्थापनका चुनौतीले पनि असर पारेको छ ।”उत्पादन घटे पनि स्याउको मूल्य भने बढेको छ । अघिल्लो वर्ष प्रतिमेट्रिक टन ६५ हजार ४ सय रुपैयाँ रहेको बिक्री मूल्य यस वर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ । बगैचामै प्रतिकिलो ६५ रुपैयाँ ५० पैसादेखि ७० रुपैयाँसम्म बिक्री भएको छ ।

इटालियन फुजी स्याउ भने १ सय ७५ रुपैयाँभन्दा माथिको मूल्यमा कारोबार भएको छ । “मूल्य वृद्धिले केही राहत दिएको छ,” अधिकारीले भने ।
जुम्लाको स्याउ सुर्खेत हुँदै काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, महेन्द्रनगर र धनगढीसम्म पुग्छ । सिंजा–५ फुङ्ग गाउँका अगुवा कृषक नर्वजंग रोकाया हरेक वर्ष ५ देखि ७ लाख रुपैयाँ आम्दानी गर्छन् । “खेती विस्तार हुँदैछ, तर कहिलेकाहीँ मौसमले साथ दिँदैन,” उनले भने । अर्का कृषक रामचन्द्र रोकायाले खेती विस्तार गरेर १० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।तथ्याङ्कले पनि स्याउ खेतीतर्फ आकर्षण बढ्दै गएको देखाउँछ । गत वर्ष ४ हजार ३ सय २५ हेक्टरमा सीमित स्याउ खेती यस वर्ष बढेर ४ हजार ४ सय ४५ हेक्टर पुगेको छ । फल दिने क्षेत्रफल २ हजार हेक्टरबाट २ हजार १ सय २५ हेक्टरमा विस्तार भएको छ । स्याउ खेतीमा संलग्न घरधुरी संख्या १९ हजार १ सय २५ बाट बढेर १९ हजार १ सय ५० पुगेको छ । त्यस्तै बिक्री वितरणमा पनि कृषकहरूको संलग्नता उल्लेख्य मात्रामा बढेको छ । बिक्री वितरणमा लाग्नेको संख्या ७ हजार ३ सय २५ बाट बढेर ७ हजार ३ सय ५० पुगेको छ । यस्तै व्यापारमा संलग्न कृषक ५ सय २५ बाट बढेर ६ सय ३ पुगेको तथ्याङ्क कृषि कार्यालयसँग छ।बिक्री–वितरण र व्यापारमा संलग्न कृषकको संख्या पनि बढ्दो छ ।पछिल्ला वर्षहरूमा जुम्लामा फुजी, गालाजस्ता उच्च घनत्व र सुधारिएका प्रजातिका स्याउ खेती हुन थालेका छन् । कर्णालीका जुम्ला, कालिकोट, मुगु र डोल्पा किसानको मुख्य आयस्रोतकै रूपमा स्याउ खेती रहँदै आएको छ । तर जुम्लाबाहेक अन्य जिल्लाको उत्पादन र निर्यातको व्यवस्थित अभिलेख छैन । डोल्पामा यस वर्ष करिब १ सय मेट्रिक टन स्याउ निर्यात भई २ करोड २० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको कृषि कार्यालयले जनाएको छ ।देशभर उत्पादन हुने स्याउमध्ये ४१.२ प्रतिशत कर्णाली प्रदेशमै उत्पादन हुन्छ । त्यसमा पनि जुम्ला अग्रस्थानमा छ । २०२४ सालमा बागवानी फार्म स्थापना भई कश्मीरबाट बेर्ना भित्रिएपछि जुम्लामा स्याउ खेती सुरु भएको थियो ।

२०६४/०६५ मा कर्णाली राजमार्ग बनेपछि बजारीकरण सहज भयो । सोही वर्ष ‘एक घर, एक स्याउ बगैँचा’ कार्यक्रम सुरु गरियो भने २०७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ सुपरजोन लागू छ ।यद्यपि कर्णालीमा स्याउको एकीकृत भण्डारण, ग्रेडिङ र बिक्री व्यवस्थापन अझै कमजोर छ । यही समस्यालाई समाधान गर्न प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी गरिरहेको छ । उत्पादन घटे पनि सम्भावना भने अझै ठूलो रहेको कृषक र विज्ञहरूको बुझाइ छ ।






