कर्णालीले सुरु गर्‍यो एमएस शल्य चिकित्सा तयारी

गाेल्डेन बुढा 

जुम्ला ,२७ मंसिर ।
लामो समयदेखि स्वास्थ्य सेवा र शिक्षामा संरचनात्मक अभाव भोग्दै आएको कर्णालीमा शल्य चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले एमएस (शल्य चिकित्सा) विषयको पाठ्यक्रम विकास गोष्ठी प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न गरेको छ।

गोष्ठीलाई कर्णालीमा उच्चस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनतर्फको निर्णायक कदमका रूपमा हेरिएको छ।गोष्ठीका सभाध्यक्ष तथा प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाले कर्णालीमा स्वास्थ्य शिक्षा अब केवल पहुँचको मुद्दा नभई गुणस्तरको चरणमा प्रवेश गरिसकेको बताए। ‘आज कर्णालीमा एमएसजस्तो विशिष्टीकृत कार्यक्रमको पाठ्यक्रम तयार हुँदैछ, यो आफैंमा ऐतिहासिक उपलब्धि हो,’ उनले भने। कर्णाली र सुर्खेतका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबीच संस्थागत सहकार्य सुदृढ नगरेसम्म सेवा प्रभावकारी नहुने उनको भनाइ थियो।प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीले पाठ्यक्रमले शल्य चिकित्सामा आवश्यक सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, अनुसन्धान क्षमता र पेशागत आचरणलाई समान महत्व दिएको बताए। कर्णालीको भौगोलिक विकटता, सीमित पूर्वाधार र सेवाको चुनौतीलाई ध्यानमा राखेर पाठ्यक्रम डिजाइन गरिएको उनको स्पष्टोक्ति थियो। ‘सेवा–अध्ययन, अनुसन्धान, नीतिशास्त्र र पेशागत इमानदारीलाई पाठ्यक्रमको मेरुदण्ड बनाइएको छ,’ उनले भने।प्रतिष्ठानले स्थापना कालदेखि नै राजधानी केन्द्रित स्वास्थ्य शिक्षाको प्रवृत्तिलाई चुनौती दिँदै दुर्गम क्षेत्रमै गुणस्तरीय शिक्षा र सेवा पुर्‍याउने लक्ष्य लिएको शिक्षाध्यक्ष धामीले बताए। हाल प्रतिष्ठानअन्तर्गत चारवटा महाविद्यालय सञ्चालनमा छन् भने सयभन्दा बढी प्राध्यापक र पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्नातक, स्नातकोत्तर तथा एमडी/एमएस कार्यक्रम विस्तार हुँदै गएको छ।

उपकुलपति डा. रोकायाका अनुसार प्रतिष्ठानले कर्णालीका १३ वटै जिल्लामा स्वास्थ्य सेवा विस्तार गर्दै प्रदेशकै स्वास्थ्य सेवाको केन्द्रीय संस्था बन्ने आधार तयार गरिसकेको छ। ‘कर्णालीका बिरामीले उपचारका लागि अब बाहिर जानु नपरोस् भन्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,’ उनले भने।गोष्ठीमा देशका विभिन्न प्रतिष्ठानबाट आएका वरिष्ठ शल्य चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्रा. डा. शैलेश अधिकारी, नेपालगञ्ज मेडिकल कलेजका डा. विनोद कुमार कर्ण, वीर अस्पतालका एमचि सर्जन डा. निरज बनेपाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुर्यमान मन्याङ्बोले पाठ्यक्रमको शैक्षिक संरचना, मूल्याङ्कन प्रणाली र व्यावहारिक पक्षमा सुझाव दिएका थिए।कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका सचिव धोलक राज ढकालले वरिष्ठ चिकित्सकहरूको सामूहिक योगदानमा तयार भएको एमएस शल्य चिकित्सा पाठ्यक्रमलाई कर्णालीमा स्वास्थ्य शिक्षा विकासको महत्वपूर्ण माइलस्टोनको संज्ञा दिए। ‘यसले कर्णालीमै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने बाटो खोल्नेछ,’ उनले भने।गोष्ठीमा विशेष अतिथिका रूपमा प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापा सहभागी थिए।

प्रदेशभरिका अस्पताल, स्वास्थ्य कार्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।स्वास्थ्य शिक्षा र सेवामा केन्द्र–परिधिको विभाजन चिर्दै कर्णालीले अघि बढाएको यो प्रयासले न केवल प्रदेशभित्र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने अपेक्षा गरिएको छ, यसले समग्र राष्ट्रिय स्वास्थ्य प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।यसै सत्र बाट कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्लाले स्त्री रोग विषयमा एम डी अध्यापन गराउने थप अनुमति पाएको छ।हाल प्रतिष्ठानमा बाल रोग, हाडजोर्नी, जेनेरल प्राक्टिस,एनेस्थेसिआ, जेनेरल सर्जरी, स्त्रीरोग, जन स्वास्थ र फार्मेसी मा स्नातकोत्तर तहमा अध्यापन हुन्छ।

कर्णालीले सुरु गर्‍यो एमएस शल्य चिकित्सा तयारी

जुम्लाका नरबहादुर : ४२ वर्ष चुलो बनाउँदै

कर्णालीले सुरु गर्‍यो एमएस शल्य चिकित्सा तयारी

घुयँत्राे:“महाधिवेशन कि पारिवारिक भोज? बा अध्यक्ष, छोराको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds