राज्यका सम्पत्तिमा जेन्जिको नाममा तोडफोड र आगजनी गर्ने माथि कारबाहीको मागसहित भोलि ज्ञापनपत्र बुझाइने: एमाले नेता ढकाल

बाँके,३० कार्तिक ।
राज्यका विभिन्न कार्यालय र सार्वजनिक संरचनामाथि लगातार हुँदै आएको तोडफोड, आगजनी र विध्वंसका घटनाहरूमा संलग्न ‘जेन्जीका नाममा सक्रिय समूह’माथि छानबिन तथा कड़ा कारबाही गर्न माग बढ्दै गएको छ। यसै क्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य ढकालले भोलि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रमको जानकारी दिँदै सबै लोकतान्त्रिक शक्ति र सचेत नागरिकलाई सहभागिताका लागि आग्रह गरेका छन्।
ढकालका अनुसार सिडिओ कार्यालय, मालपोत, नापी, अदालत, भन्सार, आन्तरिक राजस्व कार्यालय, नगरपालिकाका भवनहरूदेखि लिएर पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह र सेतुबिकका सालिकहरू समेत लक्षित गरी गरिएका तोडफोड, आगजनी र लुटपाटका घटनाले कानून शासनमाथि प्रत्यक्ष आक्रमण भएको छ।
“हामीले बारम्बार प्रशासनलाई माग गरेका थियौँ कि राज्य संरचनामाथि आक्रमण गर्ने यी अपराधीहरूको तत्काल छानबिन होस्, दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही होस्,” ढकालले भने।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयले मागप्रति आवश्यक प्रक्रिया थालनी गरेको सूचना आएपछि भोलि बिहान ११ बजे ज्ञापनपत्र बुझाउने तयारी गरिएको हो।
उक्त कार्यक्रममा लोकतान्त्रिक मूल्य, कानुनी शासन र राज्य संरचनाको संरक्षणमा विश्वास गर्ने सबै नागरिक र राजनीतिक शक्ति सहभागी हुन अनुरोध गर्दै ढकालले भने, “राज्यका सम्पत्तिमाथि आगो लगाउने, सालिक भत्काउने, कार्यालय तोडफोड गर्ने जस्ता गतिविधि कुनै पनि रूपमा सह्य छैनन्। अपराधी जसले गरे पनि कारबाही हुनु अपरिहार्य छ।”
ज्ञापनपत्र बुझाउने कार्यक्रम भोलि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, बाँकेको गेट अगाडि हुनेछ। आयोजकहरूले शान्तिपूर्ण र मर्यादित उपस्थितिका लागि सबैमा आह्वान गरेका छन्।





