गुठिचौरको सार्वजनिक सुनुवाइ सम्पन्न, शुसासन र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति

जुम्ला ,१७ कार्तिक ।

जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार विकासदेखि सुशासनसम्म उल्लेखनीय प्रगति गरेको जनाएको छ। उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाले नागरिकका आवश्यकता र भौगोलिक चुनौतीलाई ध्यानमा राखी विकासका योजनालाई प्राथमिकता दिएको हो।
आईतबार सम्पन्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार, गुठिचौर गाउँपालिकाले एक वर्षमा ५ वटै वडाका सबै बस्तीमा गरी कुल १६५ वटा योजना निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाले जानकारी दिइन्।
उनका अनुसार, एक लाखभन्दा कम लागतका १५ वटा, एक देखि तीन लाखका ७१ वटा, तीनदेखि पाँच लाखका २६ वटा, पाँचदेखि दस लाखका १८ वटा, दसदेखि पच्चिस लाखका १५ वटा र पच्चिस लाखभन्दा माथिका २० वटा योजना सम्पन्न भएका छन्।
गत वर्ष गाउँपालिकाले कुल ४१ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा, चालु तर्फ २४ करोड ३५ लाख ८६ हजारमध्ये २१ करोड ४६ लाख ७९ हजार खर्च गरिएको थियो। त्यस्तै, पुँजीगत तर्फ १७ करोड ४६ लाख १८ हजार विनियोजित बजेटमध्ये १५ करोड ६१ लाख ८ हजार रुपैयाँ खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख छ। करिब २ करोड रुपैयाँ जति बजेट खर्च हुन नसकी फिर्ता गएको पनि बताइएको छ।

प्राविधिक शाखा प्रमुख दिपेन्द्र भण्डारीका अनुसार, गाउँपालिकाले पुँजीगत बजेटबाट सार्वजनिक शौचालय ५ वटा, विद्यालय भवन १, मन्दिर तथा थान २० वटा, प्रतिक्षालय ५ वटा, सामुदायिक, स्वास्थ्य तथा वडा कार्यालय भवन ९ वटा, साथै गाउँपालिकाको तला थप र जलविद्युत मर्मतका ४ वटा परियोजना सम्पन्न गरेको छ। उनले सीमित जनशक्ति र भौगोलिक कठिनाइबीच पनि काम निरन्तर भइरहेको बताए।

गुठिचौर गाउँपालिकाले विभिन्न शीर्षकबाट गत वर्ष ३३ लाख ३९ हजार ४९० रुपैयाँ राजस्व संकलन गरेको छ।
वडागत रूपमा वडा नं. १ बाट ८२ हजार ७३०, वडा नं. २ बाट १ लाख १२ हजार ६०५, वडा नं. ३ बाट १ लाख ५३ हजार ६८५, वडा नं. ४ बाट २ लाख ६८ हजार ७६२ र वडा नं. ५ बाट २ लाख ५८ हजार ५३१ रुपैयाँ संकलन भएको छ।
त्यसैगरी, मालपोत कार्यालयबाट रजिस्ट्रेशन बापत ३ लाख १३ हजार ९८१, प्याराग्लाइडिङ महोत्सवबाट ८ लाख ४४ हजार, डोजर प्रयोगबाट ५ लाख ५९ हजार ५ सय, एम्बुलेन्स सेवा मार्फत ८१ हजार ३ सय, र पशु शाखाबाट ७ लाख ८४ हजार ८६१ रुपैयाँ राजस्व उठाइएको हो। चालु आर्थिक वर्षको कार्तिक १४ गतेसम्म ९ लाख ९७ हजार ७३३ रुपैयाँ संकलन भइसकेको प्रतिवेदनमा उल्लेख छ।

गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले सिमित स्रोत र भौगोलिक कठिनाइबीच पनि पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको बताए।
उनका अनुसार, गाउँपालिकाले जिल्लाकै पहिलो पटक “सुशासन अभियान” र “सुरक्षित पालिका अभियान” सञ्चालन गरेको छ।
“हामीले पर्यटन प्रवर्द्धन, १० लाखभन्दा माथिका योजना E bid मार्फत कार्यान्वयन, वास प्लान निर्माण, र प्रशासनिक भवनलाई पूर्णता दिने लक्ष्य राखेका छौं,” अध्यक्ष बुढाले भने। उनका अनुसार प्याराग्लाइडिङ महोत्सव, पर्यटन प्रवर्द्धन र सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गाउँपालिकाका उल्लेखनीय उपलब्धि हुन।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरूले जेष्ठ नागरिकको बजेट घटेको, विकास निर्माणमा ढिलाइ भएको र सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताएका छन । उनीहरूले टुक्रे योजना अन्त्य गर्न, वडा स्तरमै सार्वजनिक सुनुवाइ गर्न र “असारे विकास” बन्द गर्न सुझाव दिएका छन ।
यो कार्यक्रम गुठिचौर गाउँपालिकाको आयोजना, रेडियो कर्णाली र दुवो खबरको समन्वय तथा साझेदारीमा, र ठाकुरज्यू मिडिया प्रा. लि.को सहजीकरणमा सम्पन्न भएको हो।

गुठिचौरको सार्वजनिक सुनुवाइ सम्पन्न, शुसासन र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति

एशियाली विकास बैंक ( एडीबी ) को

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds