शिविर सञ्चालन गर्दै डा. केसी

कालिकोट, १० साउन ।
गत कात्तिकमा जिपको ठक्कर दिँदा खाडाचक्र–१०, चौकीगाउँकी ५० वर्षीया केलसरा शाहीको खुट्टा भाँचियो । नेपालगन्ज गएर खुट्टामा रड हाले पनि आर्थिक अवस्था कमजोर हुँदा फेरि परीक्षण गर्न जान सकेकी थिइनन् । तर जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले शिविर चलाएपछि उनले लामो समयपछि उपचार पाएकी छिन् ।

तीन महिनाअघि खुट्टा भाँचिए पचालझरना–९, तिखातीकी तीन वर्षीय रिजन शाहीले पनि शिविरकबाट उपचार पाएका छन् । भीरैभीर भएको कालीकोटमा वर्सेनि भीर र रुखबाट लडेर हातखुट्टा भाँचिने समस्या बढी छ । भीर र रुखबाट लडेर वर्सेनि करिब ६० जनाको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बाढी– पहिरोलगायत विपत्तिभन्दा भीरपाखाबाट लडेर मृत्यु हुने र अंगभगं हुनेको संख्या बढी रहेको बताए ।
कालीकोटमा हाडजोर्नी समस्या बढी भएको थाहा पाएर डा. केसी शिविर चलाउन मान्मा पुगेका हुन् । बाजुरा, अछाम हुँदै एक साताअघि कालीकोट पुगेका केसीले अहिलेसम्म २६ महिला र १८ पुरुष गरी ४४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिसकेका छन् । उनी आएको थाहा पाएपछि गाउँ–गाउँबाट उपचार गराउन आउने बिरामीको घुँइचो लागेको छ ।






