कृष्णबहादुर:स्टेरिङमै बित्यो १५ वर्ष

गाेल्डेन बुढा
जुम्ला,१० असार ।
“म स्कुले जीवनमा संगीतप्रेमी थिएँ। पढाइसँगै गीत गाउँथेँ। संगीतले मलाई भावुक बनाउँथ्यो, सुखदुःखलाई स्वीकार्न सिकायो। पढ्दापढ्दै जीवनमा केही रहरहरू उब्जिए, केही जिम्मेवारी पनि आइलागे। मैले सधैं एउटा प्रयास गरेँ, आएका जिम्मेवारीलाई बोझ होइन, रहरमा बदल्ने।”यो भनाइ हो जुम्लाको पातारासी गाउँपालिका–६ घोडासिन गाउँका ४२ वर्षीय कृष्णबहादुर कठायतको। विगत १५ वर्षदेखि ड्राइभिङ पेसामा सक्रिय उनी आज पनि स्टेरिङ समातेर सडकसँगै जीवन दौडाइरहेका छन्।“ड्राइभिङ पेसामा लागेको १५ वर्ष पुग्न लाग्यो। यो पेसा मेरो रोजाइ मात्र होइन, जीवनको बाटो नै बनेको छ,”उनी भन्छन्।आज उनी बोलेरो जिप चलाउँछन्। धेरैले उनलाई अहिले पनि ‘बिरामी बाेक्ने ड्राइभर’ भनेर चिन्छन्। समय फेरिएको छ, गाडी फेरिएको छ, तर स्टेरिङ समातेको हात र यात्रु बोक्ने जिम्मेवारी उस्तै छ।कृष्णबहादुरले पाँच कक्षासम्म मात्र अध्ययन गर्न पाए। पढाइ जारी राख्ने इच्छा हुँदाहुँदै पनि परिस्थितिले उनलाई विद्यालयबाट बाहिरिन बाध्य बनायो।
जीवनको अर्को पाठ भने सडकले सिकायो।ड्राइभिङ यात्राको सुरुवात उनले रेडक्रस कार्यालयको एम्बुलेन्स चलाएर गरेका थिए। लगातार तीन वर्ष एम्बुलेन्स चलाएपछि उनको मन यात्रुवाहक सवारीतर्फ मोडियो।“पहिला तीन वर्ष रेडक्रस अफिसको एम्बुलेन्स चलाएँ। त्यसपछि बिस्तारै यात्रुवाहक सवारीतिर मन गयो,” उनी सम्झन्छन्।त्यही क्रममा उनले ३९ लाख रुपैयाँ लगानी गरेर बोलेरो जिप खरिद गरे। किस्ता तिर्न सजिलो थिएन। तर अनेक संघर्षबीच उनले ऋण चुक्ता गरे।“जेनतेन किस्ता तिरेर सकाएँ,” उनी भन्छन्।त्यसबेला जुम्लाका ग्रामीण क्षेत्रमा यस्ता सवारी साधन निकै कम थिए। उनका अनुसार फाट्टफुट्ट मात्र बोलेरो जिप सञ्चालनमा थिए।र तीमध्ये एउटा उनको पनि थियो। नयाँ गाडी देखेर यात्रुहरू उत्साहित हुन्थे। कठिन सडक भए पनि गाडीको यात्रा तुलनात्मक रूपमा सहज भएकाले यात्रुहरू सन्तुष्ट देखिन्थे।अहिलेसम्म उनी त्यही जिप चलाइरहेका छन्। जुम्लामात्र होइन, कालिकोट, मुगु, डोल्पा र जिल्लाभित्रका धेरै गाउँबस्तीमा उनले यात्रु बोकिसकेका छन्। त्यही गाडीले उनलाई चिनायो, परिवार चलाउने आधार बनायो।तर समयसँगै चुनौती पनि थपिँदै गए। पार्टपुर्जा पाउन कठिन हुन थाल्यो। मर्मत खर्च बढ्दै गयो। एकपटक त लाखौं रुपैयाँ खर्च गरेर पार्टपुर्जा फेर्नुपर्ने अवस्था आयो।अहिले उनको दैनिकी जिल्लाभित्रकै रुटमा केन्द्रित छ। बिहान घरबाट निस्किने, सदरमुकाम खलंगाबजारसम्म यात्रु पुर्याउने र साँझ फेरि यात्रु बोकेर घर फर्किने उनको नियमित तालिका बनेको छ।“सकेसम्म साँझ घरमै बस्ने गर्छु। परिवारसँग बसेर खाना खाने समय मेरा लागि अमूल्य हुन्छ,” उनी भन्छन्।उनको परिवारमा श्रीमती, एक छोरा, दुई छोरी, बुबा र उनी स्वयं गरी छ जना छन्। परिवारको शिक्षा, स्वास्थ्य उपचार, लत्ताकपडा र दैनिक खर्च सबै यही गाडीको कमाइबाट चलेको छ।“धनी कहिल्यै भएनौं, तर अभावले थिच्न पनि दिएनौं,” उनी भन्छन्।घरमा खानका लागि सागपात लगाइन्छ। केही तरकारी आफ्नै बारीमा फल्छ। आवश्यक सामग्री भने साँझ बजारबाट किनेर लैजान्छन्। नुन, तेल, साबुन, चामलजस्ता आधारभूत सामग्री नियमित रूपमा घर पुग्छ।दैनिक खानपान पनि सामान्य छ। बिहान घरमै नास्ता, दिउँसो बजारमा सामान्य खाना र बेलुका परिवारसँगै दाल–भात–तरकारी।“बेलुका परिवारसँगै बसेर दाल–भात–तरकारी खान पाउँदा थकान सबै बिर्सिन्छु,” उनी भन्छन्, “यही साधारण जीवनमै सन्तोष खोज्ने प्रयास गरेको छु।”यात्रुसँगको व्यवहारले पनि उनलाई फरक बनाएको छ। उनी भाडाका विषयमा कहिल्यै जबर्जस्ती गर्दैनन्।
कसैसँग तत्काल भाडा नभए पनि गन्तव्यसम्म पुर्याइदिन्छन्।“जीवनले मलाई सिकाएको कुरा यही हो, आज म दिन सक्छु, भोलि म नै कसैको सहारामा पर्न सक्छु,” उनी भन्छन्।जिल्लाभित्र यात्रुसँग प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ भाडा लिने गरेका छन्। रिजर्भ सेवाका लागि भने ३० हजार रुपैयाँसम्म शुल्क लिन्छन्। वार्षिक नगद आम्दानी करिब नौ लाख रुपैयाँ रहेको उनी बताउँछन्। सामान्यतया मासिक ४५ देखि ५० हजार रुपैयाँसम्म कमाइ हुन्छ। यात्रु धेरै भएको बेला आम्दानीको आकार पनि बढ्ने गर्छ।“केही समय अगाडि ६ दिन मुगु र ६ दिन डोल्पा पुगेको थिएँ,” उनले भने, “१२ दिनमै साढे तीन लाख रुपैयाँभन्दा बढी कारोबार भयो।”तर पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यात्रु संख्या घट्दै जानुले व्यवसायमा चुनौती थपिएको छ।“अहिले पेट्रोल प्रतिलिटर २ सय ६० रुपैयाँ पुगेको छ,” उनी भन्छन्।यद्यपि आगामी दसैं–तिहार र पर्यटन सिजनप्रति उनी आशावादी छन्।“अब दसैं–तिहारको सिजन नजिकै आयो भने राम्रो चल्छ,” उनले भने, “रारा घुम्न जाने बाह्य तथा आन्तरिक पर्यटक बढ्छन्। त्यसबेला आम्दानी हुन्छ।”अझै १०–१२ वर्ष गाडी चलाउने सोच बनाएका कृष्णबहादुर त्यसपछि भने स्टेरिङबाट विश्राम लिने योजनामा छन्।“बुढेसकालमा धेरै ठूलो सपना छैन,” उनी भन्छन्, “सामान्य कृषिकर्म गर्ने, आफ्नै खेतबारीमा समय बिताउने, नाति–नातिनासँग रमाउने। सायद त्यही नै जीवनको अर्को यात्रा हुनेछ।”डेढ दशक लामो ड्राइभिङ यात्राले उनलाई धैर्य, इमानदारी र मानिस चिन्ने दृष्टि दिएको छ। त्यसैले उनी आज पनि गर्वका साथ आफ्नो परिचय दिन्छन्।“म ड्राइभर हुँ,” उनी भन्छन्, “कुनै समय एम्बुलेन्स हाँक्ने ड्राइभर, आज बोलेरो चलाउने ड्राइभर। गाडी फेरिए, समय फेरियो, तर मेरो जीवनको बाटो अझै सडकसँगै दौडिरहेको छ।”






