भेरी अस्पतालमा रेबिज खोप अभाव निःशुल्क सेवा ठप्प, बिरामी महँगो खोप किन्न बाध्य

बाँके, १० फागुन ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको ‘एन्टी–रेबिज भ्याक्सिन’ अभाव भएपछि निःशुल्क खोप सेवा पूर्ण रूपमा ठप्प भएको छ । अस्पतालमा मौज्दात रहेको खोप सकिएसँगै दैनिक रूपमा कुकुर तथा अन्य जनावरको टोकाइपछि उपचारका लागि आउने सेवाग्राहीहरू प्रभावित भएका छन् । अस्पताल प्रशासनले प्रदेश सरकारमार्फत खोप आपूर्ति हुने व्यवस्था रहे पनि आवश्यकता अनुसार डोज नआउँदा समस्या उत्पन्न भएको जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संकेत रिजालका अनुसार दैनिक दुई सयभन्दा बढी बिरामी रेबिज खोपका लागि अस्पताल पुग्ने गरेका छन् । तर, पछिल्लो समय प्राप्त हुने खोपको मात्रा अत्यन्त न्यून भएपछि सेवा निरन्तर सञ्चालन गर्न नसकिएको हो । “हामीले प्रदेश सरकारलाई पटक–पटक पत्राचार गरिसकेका छौ ँ। बिरामीको चाप अत्यधिक छ, तर उपलब्ध खोपले धान्न सकेन,” डा. रिजालले भने, “रेबिज जस्तो प्राणघातक रोगबाट जोगिन खोप अनिवार्य छ। त्यसैले तत्काल पर्याप्त मात्रामा आपूर्ति हुनु आवश्यक छ ।”

रेबिज खोप अभावको प्रत्यक्ष असर सर्वसाधारणमा परेको छ । अस्पतालमा निःशुल्क खोप नपाएपछि बिरामीहरू निजी मेडिकलबाट महँगो मूल्यमा खोप किन्न बाध्य भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो थप पीडादायी बनेको छ ।

कोहलपुर –१२ का यज्ञ  थापाले कुकुरले टोकेपछि आफ्ना १० वर्षीय छोरालाई खोप लगाउन अस्पताल ल्याएका थिए । तर, निःशुल्क सेवा बन्द भएको जानकारी पाएपछि उनी निराश भए । “सरकारी अस्पतालमा निःशुल्क पाइन्छ भनेर ल्याएँ। तर खोप नै छैन भनियो । निजी मेडिकलमा एउटा डोजको मूल्य धेरै रहेछ,” उनले गुनासो गरे । “रेबिज भनेको ज्यानै जाने रोग हो भन्छन् । पैसाकै कारण खोप नलगाउने अवस्था आउनु हुँदैन। सरकारले तुरुन्त व्यवस्था गर्नुपर्छ,” थापाले माग गरे ।

त्यस्तै, जानकी गाउँपालिका–४ की सावित्री यादव पनि रेबिज खोप लगाउन अस्पताल पुग्नुभएको थियो। उनलाई केही दिनअघि आवारा कुकुरले टोकेको थियो । “बिहानैदेखि लाइन बसेँ, पछि थाहा भयो खोप छैन रे । अब निजीमा किन्न जाँदा एक–एक डोजको मूल्य तिर्नै गाह्रो छ,” उनले भने । “हामीजस्ता गरिबलाई सरकारी अस्पताल नै भर पर्नुपर्ने हो। यस्तो बेला खोप नपाउँदा डर र चिन्ता झन् बढ्छ ।”

स्वास्थ्यकर्मीहरूका अनुसार रेबिज एक भाइरल संक्रमण हो, जुन संक्रमित जनावरको टोकाइपछि मानिसमा सर्छ। समयमै खोप नलगाएमा रोग लागेपछि उपचारको सम्भावना अत्यन्त न्यून हुने भएकाले रोकथाम नै मुख्य उपाय हो । त्यसैले जनावरको टोकाइपछि तुरुन्तै घाउ सफा गरी निर्धारित समयमा पूरा मात्रा खोप लगाउनुपर्ने हुन्छ ।

अस्पताल प्रशासनले केन्द्र र प्रदेश सरकारबाट खोप प्राप्त नभएसम्म निःशुल्क सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ । खोप अभाव लम्बिएमा बाँके जिल्लामा स्वास्थ्य संकट गहिरिन सक्ने स्थानीयको चिन्ता छ । विशेषगरी गर्मीयाम नजिकिँदै जाँदा आवारा कुकुरको सक्रियता बढ्ने भएकाले जोखिम झन् बढ्ने अनुमान गरिएको छ ।

स्थानीय सरोकारवालाहरूले रेबिज जस्तो ज्यानै जाने जोखिम भएको रोगको रोकथामका लागि आवश्यक खोप पर्याप्त मात्रामा उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन् । समयमै आपूर्ति सुनिश्चित नगरे सर्वसाधारणले अनावश्यक आर्थिक भार मात्र नभई ज्यानकै जोखिम मोल्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन् । अब सम्बन्धित निकायको तदारुकताबाट मात्रै सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ ।

भेरी अस्पतालमा रेबिज खोप अभाव  निःशुल्क सेवा ठप्प, बिरामी महँगो खोप किन्न बाध्य

कर्णालीका हिमाली जिल्लामा हेलिबाट उड्दै कर्मचारी र

भेरी अस्पतालमा रेबिज खोप अभाव  निःशुल्क सेवा ठप्प, बिरामी महँगो खोप किन्न बाध्य

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण 

Leave a comment

Your email address will not be published. Required fields are marked *