जुम्लाको स्याउले बदलिँदैछ कर्णालीको परिचय

ओम शाही
सुर्खेत, ३१ असोज ।
जुम्लाको स्याउ अब स्थानीय बारीमा मात्र सीमित छैन, कर्णालीको पहिचानसँगै देशका प्रमुख बजारसम्म पुग्ने कृषि उत्पादन बनेको छ । जुम्लाको स्वाद बोकेको स्याउ अहिले पाहुनालाई सत्कार गर्नेदेखि आफन्तलाई माया र आत्मीयताको चिनोस्वरुप दिने लोकप्रिय कोशेलीको पहिचान बनाएको छ ।
कुनै समय स्थानीयस्तरमै खपत हुन नसकी कुहिएर जाने जुम्ली स्याउले यतिबेला नेपालका प्रमुख सहर–बजारका उपभोक्ताको मन जितेको छ । पछिल्ला वर्षमा स्याउ खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल निरन्तर बढ्दै जाँदा जुम्लामा स्याउ उत्पादनले व्यावसायिक रूप लिँदै गएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन हजार आठ सय २५ हेक्टरमा सीमित स्याउ खेती गत आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा चार हजार चार सय ४५ हेक्टर पुगेको छ । अर्थात् जुम्लाले स्याउ फलाउन सिकेको छ । किसानको संख्या बढेको छ । सडकले बजारसम्म पुग्ने बाटो पनि खोलेको छ ।
किसानले बारीमै प्रतिकेजी ६५ रुपैयाँ हाराहारीमा बिक्री गर्ने जुम्ली स्याउ सुर्खेत, नेपालगञ्ज हुँदै उपभोक्ताको हातमा पुग्दा एक सय ५० देखि दुई सय रुपैयाँसम्म मूल्य पाउने गरेको छ । यसले जुम्ली स्याउको उत्पादन मात्र होइन, बारीदेखि बजारसम्म जोडिएको मूल्य शृंखलामा थप मूल्य सिर्जना हुने सम्भावनालाई पनि देखाउँछ ।
हिमा गाउँपालिका–३, मोफ्लाका गोपाल रोकाया विगत नौ वर्षदेखि स्याउ खेतीमा छन् । उनको बारीमा उच्च घनत्वमा लगाइएका गाला र फुजी जातका एक हजार एक सय ५० बोटले उत्पादन दिन्छन् । स्थानीय जातका थप पाँच सय बोटबाट पनि उनी आम्दानी लिइरहेका छन् । गत वर्ष उनले बोटबाटै प्रतिकिलो ८० रुपैयाँमा स्याउ बिक्री गरेर तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरे । यस वर्ष स्याउ तथा ओखरको नर्सरी बिक्रीबाट झण्डै १५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य उनको छ । एक करोड ३० लाख रुपैयाँ लागत रहेको उनको स्याउ बगैँचाले अबको पाँच वर्षभित्र वार्षिक ३० देखि ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
‘मैले सुरु गर्दा सडक पुगेको थिएन, मान्छेहरुलाई स्याउबाट पनि पैसा आउँछ र भन्ने थियो,’ रोकाया भन्छन्, ‘तर, अहिले अधिकांशले स्याउ लगाएका छन् । पहिलेको तुलनामा कृषकहरुमा स्याउ खेती सम्बन्धी ज्ञान बढेको छ, तर त्यो पर्याप्त भने छैन ।’ रोकायाको बगैँचा अहिले स्याउमा मात्र सीमित छैन । दुई सय बोट ओखरका साथै सिमी, जौ, लसुन, केराउ र मसुरो अन्तरबालीका रूपमा लगाइएको छ । उत्पादन लागत घटाउन उनले फार्ममै गाई, बाख्रा र कुखुरा पनि पालेका छन् ।

किसान र उत्पादन क्षेत्रमा वृद्धि
जुम्लामा स्याउ खेती गर्ने किसानको संख्या अहिले १८ हजार तीन सय १५ पुगेको छ । दुई वर्षअघिको तुलनामा किसानको संख्या २६.३१ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८२/८३ मा जुम्लामा १८ हजार दुई सय ४५ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।
चालु आर्थिक वर्षमा उत्पादन १९ हजार पाँच सय मेट्रिक टन पुग्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपक सिंह धामी बताउँछन् । खेतीको क्षेत्रफल पनि बढिरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार आठ सय २५ हेक्टर रहेको स्याउ खेतीको क्षेत्रफल गत आर्थिक वर्षसम्म चार हजार चार सय ४५ हेक्टर पुगेको छ । चालु आर्थिक वर्षमा यो क्षेत्रफल चार हजार ६ सय चार हेक्टर पुग्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा १३ हजार सात सय मेट्रिक टन रहेको उत्पादन २०८०/८१ मा २१ हजार मेट्रिक टनसम्म पुगेको थियो । त्यसपछि उत्पादन घट्दै २०८१/८२ मा १९ हजार आठ सय ४० र २०८२/८३ मा १८ हजार दुई सय ४५ मेट्रिक टनमा झरेको छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी धामीका अनुसार बगैँचामा उत्पादन गर्ने किसान बढेका छन् । तर, उत्पादन अघि बगँैचाको व्यवस्थापन र उत्पादनपछि स्याउलाई सुरक्षित राख्ने, गुणस्तरअनुसार छुट्याउने, प्रशोधन गर्ने र बजारमा उचित मूल्यमा पुर्याउने पूर्वाधार भने सोही अनुपातमा विस्तार हुन सकेको छैन ।
उनी भन्छन्, ‘जलवायु परिवर्तनका कारण स्याउमा विभिन्न रोग र किराहरूको संक्रमण बढ्दै गएको छ । विशेषगरी टेन्ट केटरपिलर र पाउडरी मिल्ड्यू जस्ता समस्याहरू स्याउमा देखिन थालेका छन्, जसले क्षेत्रफल बढेपनि उत्पादकत्वमा चुनौती थपेको छ ।’ स्याउका रूखहरूमा झ्याउ लाग्ने समस्या पनि बढिरहेको छ । अनिश्चित वर्षा र मौसमी चक्रमा परिवर्तन हुँदा समयमा पानी नपर्ने तर बेमौसममा धेरै पानी पर्ने समस्याले स्याउ खेतीलाई निकै असर गरिरहेको छ ।
त्यस्तै, स्याउको फूल फुल्ने संवेदनशील समयमा तुसारो पर्ने, असिना आउने वा धेरै पानी पर्ने हुनाले उत्पादनमा प्रत्यक्ष नकारात्मक असर परिरहेको किसानको गुनासो छ । जिल्ला कृषि विकास कार्यालयले उन्नत जातका बोटमा अनुदान, आधुनिक कृषि औजार, जलवायु अनुकुलन खेती प्रणाली, प्याकेजिङ्ग र ढुवानीमा अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जुम्लामा स्याउ उत्पादन बढ्दै गएसँगै यसको सुरक्षित भण्डारण र वर्षभरि बजारमा पुर्याउने सम्भावनासमेत विस्तार हुँदै गएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले एक हजार पाँच सय मेट्रिक टन क्षमताको एउटा र साना क्षमताका ५१ वटा प्रिफ्याब कोल्ड स्टोर (चिस्यान केन्द्र) सञ्चालनमा छन् । यी संरचनाले जुम्लाको स्याउलाई उत्पादनको मौसममै बिक्री गर्नुपर्ने बाध्यताबाट क्रमशः बाहिर निकाल्दै वर्षभरि बजारमा पुर्याउने आधार तयार गरिरहेका छन् ।
चिस्यान केन्द्रमा प्रदेश सरकारको ३० प्रतिशतभन्दा बढी लगानी छ । चन्दननाथ नगरपालिकामा रहेको कैलाश चिस्यान केन्द्रमा प्रदेश सरकारले ९२ लाख रुपैयाँ लगानी गरेको छ । चिस्यान केन्द्र निर्माण तथा सञ्चालनमा जुम्लाका स्थानीय तह र विकास साझेदारले समेत ठूलो लगानी गरेका छन् ।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार कुल उत्पादन २० हजार मेट्रिक टनभन्दा बढी हुने जिल्लामा हाल भण्डारण क्षमता भने निकै कम रहेको स्वीकार गर्छन् । उत्पादन र भण्डारण क्षमताबीचको यो अन्तरले जुम्लामा स्याउको शीत भण्डारण पूर्वाधार विस्तारका लागि ठूलो सम्भावना देखाउँछ ।
पर्याप्त चिस्यान केन्द्र थपिएमा किसानले सिजनमै सबै स्याउ बिक्री गर्नुपर्ने अवस्था अन्त्य हुँदै जानेछ । पर्याप्त कोल्ड स्टोर निर्माण गर्न सके तीन महिनाको मौसमी उत्पादनलाई वर्षभरि क्रमिक रूपमा बजारमा पुर्याउन सकिने सम्भावना रहेको अधिकारीको भनाई छ ।
उत्पादन बढेसँगै स्याउको आकार, रङ र गुणस्तरअनुसार वर्गीकरण अर्थात् ग्रेडिङ गर्ने अभ्यास विस्तार गर्न सके बजारमा यसको मूल्य र पहिचान दुवै बढाउन सकिने अवस्था छ । हाल जुम्लामा ग्रेडिङ गर्ने अभ्यास अत्यन्त न्यून छ । अधिकांश किसानले सबैखाले स्याउ एउटै मूल्यमा बिक्री गर्दै आएका छन् । कम गुणस्तरका स्याउ बिक्री नहुने डरले किसानले ग्रेडिङ गर्न नचाहने अवस्था पनि छ । यसको असर राम्रो गुणस्तरका स्याउमा समेत पर्ने गरेको छ ।
बजारमा एकरूप गुणस्तरको आपूर्ति हुन सके जुम्ली स्याउले प्रिमियम ब्रान्डको पहिचान बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ । उत्पादन, शीत भण्डारण, ग्रेडिङ र प्याकेजिङलाई एउटै प्रणालीमा जोड्न सके जुम्लाको स्याउले मौसमी कृषि उपजबाट वर्षभरि बजारमा उपलब्ध हुने उच्च मूल्यको व्यावसायिक उत्पादनको रूप लिन सक्छ ।
कश्मीरदेखि भित्रियो, जहाजले सहरसम्म पुर्यायो
स्थानीयका अनुसार महतगाउँका किसान स्वर्गीय पदमबहादुर महतलाई जुम्लामा स्याउ भित्र्याउने पहिलो किसानका रुपमा मानिन्छ । उनले भारतको कश्मीरबाट स्याउका विरुवा ल्याएर जुम्लामा रोपेका थिए । यो विसं २००७ सालतिरको कुरा हो । त्यतिबेला भारतको उत्तराखण्ड, सिम्ला क्षेत्रमा रोजगारी जाने जुम्लीहरुले त्यहाँबाट बेर्ना ल्याई परीक्षण गरिसकेका थिए ।
स्याउ खेतीलाई व्यवस्थित र संस्थागत रुपमा विस्तार गर्ने उद्देश्यले सरकारले भने विसं २०२४ सालमा जुम्लामा बागबानी फार्म स्थापना गरेको थियो । विसं २०३० को दशकमा सरकारी फार्मले विरुवा उत्पादन गरी एक घर एक बगैंचा कार्यक्रम अन्तर्गत किसानलाई वितरण थालेपछि जुम्लामा स्याउ खेती विस्तार हुँदै गएको पाइन्छ ।
जुम्लाको स्याउ बजारको इतिहास सम्झिँदा कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही २०४५ सालमा फर्किन्छन् । त्यतिबेला जुम्लाबाट २० क्विन्टल स्याउ बिक्री गर्न उनले जहाज चार्टर गरेर नेपालगञ्ज झरेका थिए । माथिल्लो कर्णालीमा सडक पूर्वाधारको रेखासमेत कोरिएको थिएन । बुवाले विस्तार गरेको स्थानीय जातको स्याउ बगैँचामा लटरम्मै फलेपछि शाही आफैँ स्याउ बेच्न नेपालगञ्ज पुगेका थिए । छरछिमेकी पनि उनीसँगै जहाजबाट स्याउ बेच्न नेपालगञ्ज झरे । नेपालगञ्जमा अरूले प्रतिकिलो १५ रुपैयाँमा स्याउ बेचे । शाहीलाई भने काठमाडौंमा बढी मूल्य पाइन्छ भन्ने सुनियो । उनी स्याउ बोकेर काठमाडौं पुगे ।
‘नेपालगञ्जमा १५ रुपैयाँ केजीमा अरु साथीहरूले स्याउ बिक्री गर्नुभयो । मलाई भने काठमाडौं लैजाने सुर चढ्यो । उतिबेला अहिलेको जस्तो व्यवस्थित कार्टुन हुँदैनथे । पुरानो बसपार्कमा पुर्याएपछि कार्टुन फुटेर स्याउ त लहरदर भए । कतै बिक्री नभएपछि अटोमा हालेर कालीमाटी पुर्याइयो । त्यहाँ पनि होलसेल बिक्री नभएपछि काँटा बोकेर फुटकरमा बेचेको अहिले पनि सम्झना आउँछ,’ शाही सम्झन्छन् ।
त्यो समय र अहिलेको अवस्थामा ठूलो परिवर्तन आएको छ । कर्णाली राजमार्ग बनेपछि जुम्लाको स्याउ हवाईजहाजबाट ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ । सडक सञ्जालमार्फत स्याउ देशका विभिन्न बजारमा पुग्छ । शाही आफैँ अहिले आठ सय बोट फुजी जातको स्याउबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।
जुम्लामा स्याउ ढुवानीमा सहज होस् भन्ने हेतुले कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा कृषि सडकको अवधारणा अघि सारेको थियो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीका अनुसार तत्कालिन सबै गाविसमा चार देखि पाँच सय किलोमिटर जति सडक निर्माण गरिएका थिए । पछि संघीय सरकार र स्थानीय तहले पनि थप सडक विस्तार गरेपछि अहिले स्याउ ढुवानीमा सहजता भएको अधिकारीको दावी छ ।

ब्रान्ड बन्यो ‘अर्गानिक’ पहिचान
वि.सं. २०६६/०६७ मा जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएको थियो । यही कारण जुम्ली स्याउ उपभोक्तामाझ रसायनरहित र स्वादिलो उत्पादनका रूपमा परिचित छ । यसको क्रिस्पी स्वाद र पोषणयुक्त गुणले राम्रो छवि बनाएको छ । तर अर्गानिक पहिचानलाई उच्च मूल्यको ब्रान्डमा रूपान्तरण गर्न भने सकिएको छैन ।
समृद्ध कर्णालीका लागि नीतिगत बहस र पैरवी गर्दै आएको ऋति फाउण्डेशनले जुम्लाको स्याउ मूल्य शृंखलामा रहेका प्रणालीगत बाधाबारे गरेको अध्ययनले पनि उत्पादनपछि हुने व्यवस्थापन, भण्डारण, प्रशोधन, ब्रान्डिङ र बजार प्रणालीमा सुधारको आवश्यकता औँल्याएको छ ।
अध्ययनले पाँच मुख्य उपाय सुझाएको थियो । स्थानीय तह वा सहकारीमार्फत संकलन केन्द्र स्थापना गरी ग्रेडिङ अनिवार्य बनाउने, प्रशोधन उद्योग विस्तार गर्ने, अर्गानिक पहिचानमा आधारित छुट्टै लोगो र ब्रान्ड विकास गर्ने, गुणस्तरीय प्याकेजिङ तथा ढुवानी पूर्वाधार सुधार गर्ने र कर्णाली प्रदेशमा अधिकारसम्पन्न स्याउ विकास बोर्ड स्थापना गर्ने अध्ययनको सुझाव छ । प्रस्तावित बोर्डले किसान, व्यापारी र उद्योगबीच समन्वय गर्ने, गुणस्तर मापदण्ड लागू गर्ने, प्राविधिक सेवा विस्तार गर्ने र बजार व्यवस्थापनको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
नेपालको कुल स्याउ उत्पादनमध्ये करिब ४१.२ प्रतिशत हिस्सा कर्णालीका जुम्ला, मुगु, कालीकोट, हुम्ला र डोल्पाले ओगट्छन् । तीमध्ये जुम्लाको स्याउ अर्गानिक पहिचान, स्वाद र किफायती मूल्यका कारण छुट्टै परिचित छ । तर, पहिचान मात्र पर्याप्त छैन । जुम्लाका किसानले स्याउ फलाउन सिकिसकेका छन् । खेतीको क्षेत्रफल बढेको छ । किसानको संख्या बढेको छ । उत्पादन पनि हजारौँ मेट्रिक टनमा पुगेको छ ।
गत वर्ष जुम्लाको स्याउलाई राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यसहित सांसद ज्ञानेन्द्र शाहीले ‘जुम्लाको स्याउ ब्रान्डिङ अभियान’ सञ्चालन गरेका थिए । अभियानले जुम्लामा उत्पादन हुने स्याउलाई सामान्य कृषि उपजका रूपमा मात्र नभई जुम्लाको मौलिक पहिचान र सम्भावनायुक्त ब्रान्डका रूपमा स्थापित गर्ने प्रयास गरेको थियो । जुम्ली स्याउलाई काठमाडौंलगायत ठूला बजारसम्म पुर्याउने, उपभोक्तामाझ यसको पहिचान बढाउने र ‘जुम्ली स्याउ’को छुट्टै ब्रान्ड मूल्य स्थापित गर्न सांसद शाहीले अभियान चलाएका थिए ।
व्यवसायीकरणमा प्रदेश सरकारको साथ
जुम्लामा स्याउ खेतीको सम्भावना साकार पार्न कर्णाली प्रदेश सरकारले पछिल्ला आफ्ना नीति तथा कार्यक्रममा प्राथमिकता दिन थालेको छ । कृषि विकास कार्यालय प्रमुख अधिकारीले जुम्लाको स्याउ उत्पादनलाई आधुनिकीकरण र बजारीकरण गर्न प्रदेश र स्थानीय तहले विभिन्न कार्यक्रममार्फत किसानलाई सहयोग गरिदै आएको बताउँछन् ।
उनी भन्छन्, ‘प्रदेश र स्थानीय सरकारले नर्सरी स्थापना, बगैँचा व्यवस्थापन र आवश्यक कृषि औजारहरूमा ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएका छन् । यसका साथै, स्याउ ढुवानीलाई सहज बनाउन कृषि सडकहरूको निर्माण र किसानहरूका लागि विभिन्न तालिमका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।’ उनका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा स्याउ र सुन्तला खेति विस्तार र प्रवद्र्धनमा प्रदेश सरकारले १४ करोड बजेट विनियोजन गरेको थियो ।
प्रदेश सरकारले जुम्लाको स्याउलाई बारिदेखि बजारसम्म पुर्याउन व्यवस्थित संयत्रको निर्माण गर्न नीतिगत व्यवस्था गर्ने तयारी गरेको छ । स्याउको ग्रेडिङ, प्रशोधन उद्योग स्थापना, अर्गानिक पहिचानमा आधारित छुट्टै लोगो र ब्रान्डको विकास, गुणस्तरीय प्याकेजिङ तथा ढुवानी पूर्वाधार सुधार गर्ने लगायतका प्राविधिक पक्षलाई व्यवस्थित बनाउन सरकारले अधिकारसम्पन्न स्याउ विकास बोर्ड स्थापनाको काम गरिरहेको छ ।
जसका लागि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेर सैद्धान्तिक सहमतिका लागि आर्थिक मामिला तथा योजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । मन्त्रालयको योजना महाशाखाका वरिष्ठ कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले विधेयकले सैद्धान्तिक सहमति पाएपछि स्याउ विकास बोड स्थापनाको बाटो खुल्ने बताउँछन ।
‘कर्णालीमा स्याउ बढी उत्पादन हुने क्षेत्रलाई उत्पादनदेखि बजारीकरण र उद्योगसम्म जोड्नका लागि छट्टै काम गर्न बोर्डको परिकल्पना गरिएको हो । ड्राफ्ट तयार भएर सैद्धान्तिक सहमतिका लागि पठाएका छौं । अर्थ र मुख्यमन्त्री कार्यालयले स्वीकृति प्रदान गरे लगत्तै बोर्ड स्थापनाको प्रक्रिया सुरु हुन्छ ।’
कर्णालीको आर्थिक रुपान्तरणको आधार
सरकारी तथ्यांकलाई केलाउने हो भने जुम्लाको स्याउलाई बारीदेखि उपभोक्ताको हातसम्म पुर्याउने व्यवस्थित र वैज्ञानिक खेती प्रणालीसँगै आपूर्ति शृंखला व्यवस्थित गर्न सके यसले समग्र कर्णालीको आर्थिक रूपान्तरणको आधार बन्न सक्ने विज्ञहरू बताउँछन् । स्याउ उत्पादनमा भइरहेको विस्तार, किसानको बढ्दो आकर्षण र बजारमा देखिएको मागलाई व्यवस्थित गर्न सके जुम्लाको स्याउले किसानको आम्दानी मात्र बढाउने नभई कर्णालीको आर्थिक गतिविधिलाई नै नयाँ गति दिन सक्ने उनीहरूको भनाई छ ।
विगतका वर्षमा बजार र उचित मूल्य नपाएर निराश हुने जुम्लाका किसानहरू विस्तारै उत्पादन र बजार मूल्य दुवैबाट उत्साहित देखिन थालेको पूर्वसंघीयमन्त्री एवं अध्येता माधव चौलागाईं बताउँछन् । हालसम्म व्यक्तिका निजी जग्गामा मात्रै स्याउ लगाइएको भएपनि खाली रहेका वन क्षेत्रलाई समेत उपयुक्त नीतिमार्फत सदुपयोग गर्न सके भविष्यमा यहाँको स्याउ उत्पादन अझ धेरै गुणाले बढाउन सकिने उनी बताउँछन् ।
जुम्लाको स्याउ खेती कर्णालीको गरिबी निवारण र आर्थिक समृद्धिको मेरुदण्ड बन्न सक्ने चौलागाईंको बुझाई छ । उनका अनुसार स्याउबाट हुने आम्दानी किसानको घरसम्म सीमित नराखी उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन र बजारीकरणसँग जोड्न सके यसले रोजगारी र स्थानीय व्यवसाय विस्तारमा समेत योगदान पुर्याउन सक्छ । तर उनी यसका लागि साना किसान समूहहरूको व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको बताउँछन् ।
सरकार तथा सरोकारवाला निकायले प्रविधि, पूर्वाधार (बाटो र बिजुली), ज्ञान, तालिम र बजार सुनिश्चित गर्ने एकिकृत संयन्त्र निर्माण गरिदिन आवश्यक छ । ‘यो भर्खरै ठूलो उत्पादनको सुरुवात हो,’ चौलागाईं भन्छन्, ‘अबका वर्षमा अहिले लगाइएका बिरुवा उत्पादन दिने अवस्थामा पुग्दै जाँदा उत्पादन अझै विस्तार हुने सम्भावना छ ।’पानी पुर्याउन कठिन ठाउँमा लिफ्ट सिँचाइको व्यवस्था, माटोको स्वास्थ्य तथा उर्वराशक्ति परीक्षण र त्यसअनुसार मलखाद प्रयोग गर्ने प्रणाली विस्तार गर्नुपर्ने उनको सुझाव छ ।
जुम्लाको स्याउका लागि सडक सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो । वर्षायाममा सडक अवरुद्ध हुँदा उत्पादन बजारसम्म पुर्याउन समस्या हुने गरेको छ । यस्तै, स्याउको गुणस्तर कायम राख्न कोल्ड चेन आवश्यक छ । भारतबाट समेत जुम्लाको स्याउ खरिद गर्न चासो देखिएको र चिस्यान कायम राख्ने ट्रकमार्फत स्याउ लैजाने प्रस्ताव आएको छ । तर सडकको कमजोर अवस्थाका कारण त्यस्तो बजार विस्तार गर्न कठिन भइरहेको छ ।
विद्युत् आपूर्ति सहज बनाउँदै उत्पादन क्षेत्रमै कोल्ड स्टोर तथा अन्य शीत भण्डारण पूर्वाधार निर्माण गर्न सके स्याउलाई लामो समय सुरक्षित राखेर क्रमिक रूपमा बजारमा पठाउन सकिन्छ । यसले किसानलाई बाध्य भएर एकैपटक सस्तोमा स्याउ बेच्नुपर्ने अवस्थाबाट समेत मुक्त गर्न सक्छ ।
स्याउको बजारीकरणमा संस्थागत पहलको आवश्यकता पनि उत्तिकै देखिएको छ । विगतमा साना व्यापारी तथा बिचौलियामार्फत स्याउ बिक्री हुँदा किसानले वास्तविक मूल्य पाउन नसकेको अनुभव छ । तर पछिल्लो समय चन्दननाथ र पञ्चेश्वर सहकारीजस्ता संस्थाले किसानबाट प्रत्यक्ष खरिद गरी तौलका आधारमा भुक्तानी दिन थालेपछि किसानले उचित मूल्य पाउने अवस्था बनेको छ ।
पूर्वमन्त्री चौलागाईँ किसानलाई प्रविधि, कृषि सामग्री, ज्ञान तथा तालिम उपलब्ध गराउने, उत्पादनको गुणस्तर सुनिश्चित गर्ने, संकलन तथा भण्डारण केन्द्र निर्माण गर्ने र बजारसँग प्रत्यक्ष जोड्ने छुट्टै संयन्त्र आवश्यक रहेको बताउँछन् । ‘किसानले उत्पादन मात्रै गर्ने होइन, उत्पादनपछि बजारसम्म पुग्ने सुनिश्चितता पनि राज्यले गर्नुपर्छ,’ उनी भन्छन्, ‘उत्पादन, भण्डारण, ढुवानी, प्रशोधन र बजारलाई एउटै प्रणालीमा जोड्न सके जुम्लाको स्याउबाट कर्णालीले ठूलो आर्थिक लाभ लिन सक्छ ।’
जुम्लामा स्याउ उत्पादन विस्तार हुँदै जाँदा यसको लाभ किसानको आम्दानीमा मात्रै सीमित छैन् । स्याउमा आधारित जुस, जाम, साइडर, सुकुटीलगायत प्रशोधित वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न सके रोजगारी सिर्जना, स्थानीय व्यवसाय विस्तार र प्रदेशको समग्र अर्थतन्त्रमा योगदान बढाउन सकिने सम्भावना छ ।
यही सम्भावनाले जुम्लाको स्याउलाई एउटा कृषि उत्पादनभन्दा माथि उठाएर कर्णालीको आर्थिक परिचय बदल्ने आधारका रूपमा स्थापित गर्न सक्छ । लामो समयदेखि गरिबी, भौगोलिक विकटता र पछौटेपनसँग जोडिँदै आएको कर्णालीको परिचयलाई उत्पादन, उद्यमशीलता र कृषि समृद्धिसँग जोड्ने अवसर स्याउले दिएको छ ।
त्यसैले अहिलेको बढ्दो उत्पादनलाई अवसरका रूपमा उपयोग गर्दै सरकारले सडक, सिँचाइ, विद्युत्, कोल्ड चेन, संकलन केन्द्र, ग्रेडिङ तथा प्याकेजिङ, प्रशोधन उद्योग र बजार व्यवस्थापनमा लगानी बढाउनुपर्ने देखिन्छ । उत्पादन बढिरहेको अवस्थामा पूर्वाधार र बजार व्यवस्थापन कमजोर रहिरहे जुम्लाको स्याउले अपेक्षित आर्थिक लाभ दिन नसक्ने जोखिम पनि उत्तिकै रहेको छ ।
उत्पादनसँगै पूर्वाधार, प्रविधि र बजारलाई जोड्न सक्ने हो भने जुम्लाको स्याउ जुम्लाको मात्र होइन, सिंगो कर्णालीको नयाँ आर्थिक परिचय बन्न सक्ने सम्भावना बोकेको उत्पादनका रूपमा अघि बढ्न सक्छ ।






