मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

ह्युस्टन, ३१ असोज (रासस/एएफपी) । 

विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन् । उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन ।

टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्‍याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो । प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक हुन्‌’ भने ।

उनले कारको सफलता सुनिश्चित नभए पनि यसले काम गर्ने सम्भावना रहेको बताए । मस्कका अनुसार कारमा हावाको दबाबबाट गाडीलाई माथि धकेल्न सक्ने अत्यधिक उच्च चापयुक्त हावाको ट्याङ्की जडान गरिएको छ ।

टेस्ला र स्पेसएक्सको संयुक्त क्षमताको चर्चा गर्दै मस्कले विश्वको उत्कृष्ट कार निर्माता र रकेट कम्पनीबीच सहकार्य हुँदा यस्तो प्रविधिको विकास सम्भव भएको बताए । उनले उक्त कार सन् २०२८ मा उत्पादनमा जाने जानकारी पनि दिए ।

प्राविधिक जटिलता र नियामक चुनौतीका कारण उड्ने कारको अवधारणाले लामो समयदेखि व्यावहारिक रूप लिन सकेको छैन । यद्यपि, विद्युतीय मोटर र उच्च क्षमताका ब्याट्रीमा भएको प्रगतिले पछिल्ला वर्षमा यस्ता गाडीको विकासप्रति चासो बढाएको छ ।

अमेरिकी उड्डयन क्षेत्रका अग्रणी ग्लेन कर्टिसले सन् १९१७ मै उड्ने कारको पहिलो नमूना प्रस्तुत गरेका थिए । त्यसयता यस क्षेत्रमा विभिन्न प्रयास भए पनि व्यावसायिक रूपमा सफल उड्ने कारको विकास चुनौतीपूर्ण रहँदै आएको छ ।

स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौं : रिलायन्स

भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप एलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ ।

रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ ।

प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध गरेको आरोप लगाएका थिए । उनले सामाजिक सञ्जाल एक्समा स्टारलिङ्कलाई भारतमा ‘अवरुद्ध’ गरिएको दाबी गर्दै त्यसलाई भारतीय जनताविरुद्धको अपराधको संज्ञा दिएका थिए । मस्कले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई व्यङ्ग्यात्मक रूपमा ‘प्रधानमन्त्री’ भन्दै टिप्पणीसमेत गरेका थिए ।

स्टारलिङ्कले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिकको कक्षमा घुम्ने उपग्रहको माध्यमबाट दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने योजना बनाएको छ । यसको सम्भावित प्रवेशले भारतमा सेवा शुल्क र रेडियो स्पेक्ट्रम बाँडफाँटबारे बहस चर्किएको छ । मस्कको आरोपपछि भारतको सञ्चार मन्त्रालयले सबै दूरसञ्चार सेवाप्रदायकलाई निष्पक्ष र भेदभावरहित अनुमति प्रणाली लागू गरिएको जनाएको थियो ।

रिलायन्सको डिजिटल शाखा जियो प्लेटफर्मले सन् २०२५ मार्चमा स्टारलिङ्कको सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको थियो । तर, जियोको स्याटेलाइट इन्टरनेट सेवाले नियामक स्वीकृति पाउन बाँकी छ भने स्टारलिङ्कले पनि भारतमा सेवा सुरु गरेको छैन । रिलायन्सले जियोसहित सबै सेवाप्रदायकले भारतीय कानून र नीतिको पालना गर्नुपर्ने जनाएको छ ।

यसैबीच, जियोले प्रस्तावित सेयर निष्कासनमार्फत तीन अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना बनाएको छ । यो निष्कासन भारतकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बन्ने अपेक्षा गरिएको छ ।

एयरबसलाई ७५ विमानको अर्डर

युरोपेली विमान निर्माता कम्पनी एयरबसले विमान भाडामा उपलब्ध गराउने कम्पनी एभिएसन क्यापिटल ग्रुप (एसीजी) बाट ७५ वटा ए ३२० नियो विमान निर्माणको अर्डर प्राप्त गरेको छ । इन्धन कम खपत गर्ने विमानको माग बढिरहेका बेला एसीजीले आफ्नो विमान सङ्ख्या विस्तार गर्न यो अर्डर दिएको हो ।

एयरबसका अनुसार यो अर्डरसँगै एसीजीको एयरबस विमान संख्या १९० पुग्नेछ । एसीजीले यसअघि यसै वर्ष ५० वटा बोइङ ७३७ म्याक्स विमानको अर्डर दिएको थियो । एसीजीका प्रमुख कार्यकारी थोमस बेकरले कम्पनीको करिब ४० वर्षको इतिहासमै सबैभन्दा ठूलो अर्डर दिनु हवाई यात्राको दीर्घकालीन भविष्यप्रतिको विश्वासको सङ्केत भएको बताएका छन् ।

एसीजीको मूल कम्पनी जापानी विमान भाडा कम्पनी टोकियो सेन्चुरीका अनुसार ७५ वटा विमानको सूची मूल्य करिब १२ अर्ब अमेरिकी डलर छ । यद्यपि, विमान निर्माता कम्पनीहरूले ठूलो संख्यामा अर्डर गर्दा सामान्यतया छुट दिने भएकाले वास्तविक खरिद मूल्य सूची मूल्यभन्दा कम हुन सक्छ ।

एयरबसको ए ३२० नियो विमान अघिल्लो ए३२० मोडलको तुलनामा २० प्रतिशत बढी इन्धन किफायती छ । एकल गल्ली भएको यो विमान विश्वका लोकप्रिय यात्रुवाहक विमानमध्ये एक हो । विश्वव्यापी यात्रु आवागमन बढ्दै गएको र वायुसेवा कम्पनीहरूले पुराना विमानलाई नयाँ पुस्ताका विमानले प्रतिस्थापन गर्ने क्रम तीव्र बनाएको अवस्थामा विमान भाडामा लिने माग पनि बढ्ने अपेक्षा गरिएको टोकियो सेन्चुरीले जनाएको छ ।

मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न गन्तव्य पहिचान र

मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

जुम्लाको स्याउले  बदलिँदैछ कर्णालीको परिचय 

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!