गाउँघरबाट हराउँदै दशैँको रौनक बढाउने पिङ संस्कृति

बाँके, ३१ असोज ।

दशैँ नजिकिएसँगै कुनै समय गाउँघरमा छुट्टै रौनक छाउँथ्यो । घरघरमा सरसफाइ, बाटोघाटोमा चहलपहल र नयाँ लुगाफाटोको तयारीसँगै गाउँका चौतारा, खेतका गराहरू वा खुला ठाउँमा बाँसको लिङ्गो गाडेर बाबियोको डोरीले पिङ हालिन्थ्यो । गाउँमा पिङ लागेपछि दशैँ भित्रिएको अनुभूति हुन्थ्यो । दशैँको टीका थाप्न परदेशबाट गाउँ फर्किएका आफन्त, इष्टमित्रदेखि बालबालिका र वृद्धवृद्धासम्म पिङ खेल्न जम्मा हुन्थे। पिङको मच्चाइसँगै गुञ्जिने हाँसो, ठट्टा र रमाइला कुराकानीले गाउँघरको वातावरण नै उल्लासमय बन्थ्यो ।

पिङ खेल्नु केवल मनोरञ्जनको माध्यम थिएन, यो आफन्त र छिमेकीबीच आत्मीयता साटासाट गर्ने, लामो समयपछि भेट भएका साथीभाइसँग रमाइलो गर्ने र पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिने अवसरसमेत थियो । दशैँ–तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने र खेल्ने चलन नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित थियो । तर, पछिल्ला वर्षमा गाउँघरमा पिङ हाल्ने र खेल्ने परम्परा विस्तारै हराउँदै जान थालेको छ । पहिले दशैँको उमङ्ग बढाउने पिङ अहिले धेरै ठाउँमा देखिन छाडेका छन् ।

पहिले गाउँमा पिङ हाल्ने तयारी दशैँ आउनुअघि नै सुरु हुन्थ्यो। बाँसको बलियो लिङ्गो गाड्ने, बाबियोको डोरी बाट्ने र पिङ खेल्न मिल्ने गरी सुरक्षित व्यवस्था गर्ने काममा गाउँलेहरू सामूहिक रूपमा जुट्थे । पिङ निर्माणमा बालबालिकादेखि युवासम्मको सक्रियता रहन्थ्यो । पिङ हालिसकेपछि गाउँका सबै उमेर समूहका मानिस भेला भएर पालैपालो खेल्ने गर्थे । दशैँको बिदामा घर फर्किएका परदेशी आफन्त तथा इष्टमित्रका लागि पनि पिङ खेल्नु गाउँको पुरानो सम्झना र चाडपर्वको रमाइलो अनुभवसँग जोडिएको हुन्थ्यो । तर, केही वर्षअघिसम्म गाउँघरको जमघटको प्रमुख माध्यम बनेको पिङ संस्कृति अहिले सुस्ताउँदै गएको छ ।

आधुनिक डिजिटल प्रविधिको बढ्दो प्रयोग, बदलिँदो जीवनशैली र विदेशी संस्कृतिप्रतिको आकर्षणका कारण गाउँघरको मौलिक पिङ संस्कृति ओझेलमा पर्दै गएको स्थानीयको भनाइ छ । दशैँ–तिहारसँग विशेष रूपमा जोडिएको पिङलाई लिङ्गेपिङ, काठे पिङ र रोटेपिङजस्ता विभिन्न स्वरूपमा चिनिन्छ । यस्ता परम्परागत खेलले मनोरञ्जन प्रदान गर्नुका साथै सामूहिकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न पनि भूमिका खेल्दै आएका थिए ।

नयाँ पुस्तामा विदेशी संस्कृति र आधुनिक जीवनशैलीको प्रभाव बढ्दै जाँदा परम्परागत पिङको आकर्षण घट्दै गएको कोहलपुरकी युवा अभियन्ता अञ्जना शर्माले बताए । उनका अनुसार चाडपर्व मनाउने शैलीमा आएको परिवर्तनसँगै पुराना संस्कार र परम्परालाई निरन्तरता दिने अभ्यास पनि कमजोर हुँदै गएको छ । गाउँघरको मौलिकता बोकेको पिङ संस्कृतिलाई जोगाउन पुरानो पुस्ताले नयाँ पुस्तालाई यसको महत्त्व बुझाउनुपर्ने उनको धारणा छ ।

त्यस्तै, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि पिङ खेल्ने चलनमा प्रभाव पारेको स्थानीय अगुवा अर्जुन भण्डारी बताउनुहुन्छ। फेसबुक, भाइबर, एक्स (ट्विटर) र इमोजस्ता सामाजिक सञ्जालमार्फत देश–विदेशमा रहेका आफन्तजनसँग सजिलै सम्पर्क गर्न र चाडपर्वका शुभकामना आदानप्रदान गर्न सकिने भएपछि प्रत्यक्ष भेटघाट र सामूहिक जमघटको अभ्यास घट्दै गएको उहाँको भनाइ छ । पहिले पिङ खेल्ने ठाउँमा घण्टौँ बिताउने बालबालिका र युवाहरू अहिले मोबाइल तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन् ।

यद्यपि, पिङ संस्कृति हराउँदै जानुमा डिजिटल प्रविधि मात्रै कारण नभई गाउँघरको बदलिँदो सामाजिक संरचना, रोजगारीका लागि युवाहरूको विदेश तथा सहर पलायन, सामूहिक रूपमा पिङ निर्माण गर्ने परम्परामा आएको कमी र सुरक्षित पिङ निर्माणका लागि आवश्यक सामग्री तथा स्थानको अभावजस्ता पक्षले पनि भूमिका खेलेको देखिन्छ। पहिले गाउँमा सामूहिक रूपमा गरिने काम अहिले व्यक्तिगत व्यस्तता र बदलिँदो जीवनशैलीका कारण कम हुँदै गएका छन् । यसले चाडपर्वमा हुने सामूहिक भेटघाट र आपसी आत्मीयतामा समेत प्रभाव पारिरहेको छ ।

प्रविधिको विकास आफैँमा नराम्रो नभए पनि त्यसको प्रयोगसँगै मौलिक संस्कार र संस्कृतिलाई बिर्सन नहुने सरोकारवालाको भनाई छ । नयाँ पुस्ताले आधुनिक प्रविधिसँगै आफ्ना मौलिक परम्परा, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानको महत्व बुझ्न आवश्यक छ । पिङ खेल्ने परम्परा केवल विगतको सम्झना मात्र नभई परिवार, आफन्त र समुदायलाई एकै ठाउँमा जोड्ने सांस्कृतिक अभ्यास पनि हो ।

गाउँघरमा पिङ हाल्ने परम्परालाई पुनर्जीवित गर्न स्थानीय तह, युवा क्लब, टोल विकास संस्था र समुदायले चाडपर्वको अवसरमा सामूहिक पहल गर्न सक्छन् । दशैँ–तिहारका बेला खुला तथा सुरक्षित स्थानमा परम्परागत पिङ निर्माण गर्ने, बालबालिका र युवालाई सहभागी गराउने तथा अग्रज पुस्ताबाट यससँग जोडिएका कथा, अनुभव र महत्त्वबारे जानकारी दिने गतिविधि सञ्चालन गर्न सकिन्छ । पिङ निर्माण गर्दा आवश्यक सुरक्षा मापदण्ड अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

पिङको संरक्षण गर्नु भनेको एउटा खेललाई निरन्तरता दिनु मात्र होइन, गाउँघरको सांस्कृतिक पहिचान, सामूहिक जीवनशैली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई जोगाउनु पनि हो । चाडपर्वको वास्तविक रौनक नयाँ लुगाफाटो र खानपानमा मात्र सीमित हुँदैन; आफन्तसँगको भेटघाट, छिमेकीबीचको सद्भाव र समुदायको सामूहिक खुसीमा पनि यसको विशेष महत्त्व हुन्छ ।

त्यसैले, दशैँको आगमनसँगै गाउँघरमा पिङ हाल्ने पुरानो चलनलाई फेरि जीवन्त बनाउन सबै पक्षको पहल आवश्यक देखिन्छ । आधुनिकतासँगै मौलिक संस्कृतिको संरक्षण गर्न सके मात्रै नयाँ पुस्ताले पनि दशैँ–तिहारसँग जोडिएका पुराना सम्झना र परम्पराको महत्व बुझ्न पाउनेछन् । गाउँको चौतारोमा पिङ मच्चिँदा गुञ्जिने हाँसो र भेटघाटको आत्मीयता फेरि फर्काउन सके दशैँको रौनकसँगै नेपाली समाजको सांस्कृतिक पहिचान पनि जीवन्त रहन सक्छ ।

गाउँघरबाट हराउँदै दशैँको रौनक बढाउने पिङ संस्कृति

जुम्लाको स्याउले  बदलिँदैछ कर्णालीको परिचय 

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!