बालविवाह र लागुऔषध नियन्त्रणमा धार्मिक तथा सामुदायिक अगुवाहरू सक्रिय हुने

बाँके ,२९ असोज  । 

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बालविवाह न्यूनीकरण तथा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि धार्मिक तथा सामुदायिक अगुवाहरूले समुदायस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत धार्मिक गुरु, अगुवा, बरघर तथा गुरुवाहरूको सञ्जालसँग आयोजित बैठक तथा छलफलमा बालविवाह र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि सामूहिक पहल गर्ने विषयमा छलफल भएको हो।

छलफलका क्रममा सहभागीहरूले बालविवाहलाई हानिकारक सामाजिक अभ्यासका रूपमा उल्लेख गर्दै यसको अन्त्यका लागि समाजमा विद्यमान नकारात्मक मूल्य, मान्यता, परम्परा तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले धार्मिक तथा सामुदायिक अगुवाहरूको सक्रियताले समुदायमा जनचेतना अभिवृद्धि गर्न र बालविवाह रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गरेका थिए।

धार्मिक सञ्जालका अगुवाहरूले कानुनले तोकेको विवाहयोग्य उमेर पूरा नगरेका बालबालिकाको विवाहमा पुरोहितका रूपमा धार्मिक विधि तथा संस्कार सम्पन्न नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, बालविवाहलाई प्रोत्साहन गर्ने अभ्यासको अन्त्य गर्न, बालविवाहको जोखिम पहिचान गर्न तथा अभिभावक र समुदायका सदस्यलाई सचेत गराउन सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ।

बालविवाह रोकथामका लागि वडा कार्यालय, महिला तथा बालबालिका शाखा, विद्यालय, शिक्षक, बाल क्लब, प्रहरी, बाल अधिकार समिति तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल गरिएको थियो। बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्दै उनीहरूको अधिकार र सुरक्षित भविष्यका लागि सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

बैठकमा बालबालिका तथा किशोरकिशोरीमा बढ्दो लागुऔषध प्रयोग तथा दुरुपयोगका नकारात्मक असर न्यूनीकरण गर्ने विषयले समेत प्राथमिकता पाएको थियो। धार्मिक सभा, प्रवचन, सामुदायिक भेला, विद्यालय तथा युवा समूहहरूमार्फत लागुऔषधका स्वास्थ्य, सामाजिक, पारिवारिक र शैक्षिक असरबारे जनचेतना फैलाउने विषयमा छलफल भएको थियो।

अभिभावकलाई आफ्ना बालबालिका तथा किशोरकिशोरीसँग नियमित संवाद गर्न प्रेरित गर्ने र युवालाई खेलकुद, सांस्कृतिक कार्यक्रम, सीप विकास तथा सकारात्मक सामाजिक गतिविधिमा सहभागी गराउने विषयमा पनि जोड दिइएको थियो। लागुऔषधको जोखिममा रहेका बालबालिका तथा युवालाई दोषारोपण वा भेदभाव नगरी आवश्यक परामर्श, स्वास्थ्य सेवा र पुनःस्थापनामा पहुँच पुर्‍याउन सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले ठाकुरबाबा नगरपालिकामा बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि किशोरकिशोरी, अभिभावक र समुदायका सदस्यलाई लक्षित गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो।

उहाँले धार्मिक गुरु, बरघर, बुद्धिजीवी तथा अन्य सामाजिक अगुवाहरूलाई परिचालन गरी सबै सरोकारवालाबीच एकता, समन्वय र सहकार्य कायम गर्नुपर्नेमा जोड दिनुभयो। बालविवाह रोकथामका लागि उमेर नपुगी हुने विवाहमा धार्मिक विधि सम्पन्न नगर्ने प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै समुदायमा रहेका हानिकारक सामाजिक अभ्यास परिवर्तन गर्न धार्मिक अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

ठाकुरबाबा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले बालविवाह न्यूनीकरणका लागि धार्मिक सञ्जालसँग समन्वय र सहकार्य गर्दै आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले धार्मिक अगुवाहरूलाई समुदायमा जनचेतना फैलाउन, अभिभावकलाई सचेत गराउन र बालविवाह रोकथामका अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो।

स्थानीय सरकारले बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण तथा मानव बेचबिखन रोकथामजस्ता विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले बालबालिकासँग सम्बन्धित घटना तथा जोखिम व्यवस्थापनका लागि स्थानीय सरकार, बाल अधिकार समिति, प्रहरी, युवा समूह र सहयोगी संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले समुदायमा विद्यमान नकारात्मक सामाजिक अभ्यास न्यूनीकरण गर्न अभिभावक तथा समुदायका सदस्य स्वयं जिम्मेवार र सक्रिय हुनुपर्ने बताउनुभयो। बालविवाह रोकथाम संस्थागत प्रयासबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै उहाँले परिवार, अभिभावक, धार्मिक अगुवा र समुदायका सबै सदस्यले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

क्लबका तालिम सहजकर्ता विनय दिल लामाले समुदायमा बालविवाहका विभिन्न अप्रत्यक्ष स्वरूप देखापर्ने गरेको बताउनुभयो। कतिपय अवस्थामा काममा सहयोग गर्ने बहानामा केटा वा केटी एकअर्काको घरपरिवारमा जाने र दुवै परिवारको सहमतिमा उमेर नपुगी विवाह हुने अवस्था सिर्जना हुने गरेको उहाँले उल्लेख गर्नुभयो।

यस्ता अभ्यासलाई सामान्य सामाजिक व्यवहारका रूपमा स्वीकार गर्ने प्रवृत्तिले बालविवाह रोकथाममा चुनौती थप्ने भएकाले समुदायका अगुवा, अभिभावक र धार्मिक सञ्जालले जोखिम पहिचान गरी समयमै रोकथामका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो। बालविवाहसम्बन्धी सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउन निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

बालविवाह न्यूनीकरण र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि धार्मिक तथा सामुदायिक अगुवाहरूको नेतृत्वमा सञ्चालन गरिने अभियानले समुदायमा सकारात्मक सामाजिक परिवर्तन ल्याउन, बालबालिकाको अधिकार संरक्षण गर्न तथा किशोरकिशोरीको सुरक्षित भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बालविवाह र लागुऔषध नियन्त्रणमा धार्मिक तथा सामुदायिक अगुवाहरू सक्रिय हुने

घुयँत्राे:अरूलाई ऐन देखाउनेको आफ्नै घरमा रडाको, रास्वपालाई

बालविवाह र लागुऔषध नियन्त्रणमा धार्मिक तथा सामुदायिक अगुवाहरू सक्रिय हुने

बालविवाह र लागुऔषध नियन्त्रणमा धार्मिक तथा सामुदायिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!