दिनप्रतिदिन महङ्गिदै भान्सा एक वर्षमै तरकारी–फलफूलको थोक मूल्य ३७ प्रतिशतले बढ्यो

ओम शाही
सुर्खेत, २८ असोज ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तरकारी तथा फलफूलमा अचाक्ली महंगी बढेको छ । दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर बढ्दा सर्वसाधारणको भान्साको बजेट अस्तव्यस्त बन्दै गएको छ । वीरेन्द्रनगरमा दसैँ पेरिफेरीका तीन आर्थिक वर्षका तीन महिनामा विक्रिवितरण भएका तरकारी तथा फलफूलको थोक मूल्य विश्लेषण गर्दा बजारमा ठूलो उतारचढाव देखिएको छ ।
वीरेन्द्रनगरस्थित बुलबुले कृषि हाट बजार व्यवस्थापना समितिले उपलब्ध गराएको तथ्यांक अनुसार तरकारी तथा फलफूलको औसत थोक मूल्य एक वर्षमै ३७.१० प्रतिशतले बढेको छ । व्यवस्थापन समितिको तीन वर्षको मूल्य विवरणअनुसार २०८२ असोजमा प्रतिकिलो औसत ८७ रुपैयाँ ४६ पैसा रहेको मूल्य २०८३ असोजमा बढेर एक सय १९ रुपैयाँ ९१ पैसा पुगेको देखिन्छ ।
त्यस्तै, एक वर्षमा औसत मूल्य ३२ रुपैयाँ ४५ पैसाले बढेको छ । २०८१ असोजमा एक सय आठ रुपैयाँ ६५ पैसा रहेको औसत मूल्य २०८२ मा घटेर ८७ रुपैयाँ ४६ पैसामा झरेको थियो । तर, एक वर्षमै मूल्यले पुरानो स्तर पार गर्दै तीन वर्षकै उच्च बिन्दु छोएको छ । अहिलेको औसत मूल्य २०८१ असोजको तुलनामा पनि १०.३६ प्रतिशत बढी छ । यसले अघिल्लो वर्ष सस्तिएको बजारमा पुनः मूल्यवृद्धिको दबाब बढेको देखाउँछ । २०८१ असोजको तुलनामा २०८२ मा तरकारीको थोक मूल्यमा केही गिरावट आए पनि २०८३ को असोजमा आइपुग्दा अधिकांश घरायसी उपभोगका तरकारी र आयातित फलफूलको मूल्यमा पुनः वृद्धि भएको छ ।
समितिले उपलब्ध गराएको तीन वर्षको (वि.सं. २०८१ असोज २९, २०८२ असोज २६ र २०८३ असोज २८ गतेको) थोक मूल्य विवरण अनुसार बजारमा मौसमी उत्पादन, ढुवानी खर्च र बाह्य आयातका आधारमा मूल्य समायोजन हुने गरेको छ । तथ्यांक अनुसार अनुसार २०८१ असोज २९ गते सूचीकृत ४६ वटा तरकारी तथा फलफूलको औसत थोक मूल्य प्रति किलो एक सय आठ रुपैयाँ ६५ पैसा थियो । सो समयमा न्यूनतम औसत मूल्य ३२ रुपैयाँ ५० पैसा (फर्सी) देखि अधिकतम तीन सय ५७ रुपैयाँ ५० पैसा (ड्रागन फ्रुट) सम्म दर्ता भएको थियो ।
त्यस्तै, २०८२ असोज २६ गते सूचीकृत ४३ वटा वस्तुको औसत थोक मूल्य घटेर ८७.४६ मा झरेको थियो । सो वर्ष न्यूनतम औसत मूल्य २७ रुपैयाँ ५० पैसा (इस्कुस) र अधिकतम तीन सय सात रुपैयाँ ५० पैसा (ड्रागन फ्रुट) थियो । तर, २०८३ असोज २८ गते आइपुग्दा ४२ वटा वस्तुको थोक मूल्य विश्लेषण गर्दा औसत मूल्य एक सय १९ रुपैयाँ ९१ पैसा पुगेको छ । यस वर्ष न्यूनतम औसत मूल्य २९ रुपैयाँ ६० पैसा (भारतीय आलु) देखि अधिकतम ६ सय ४५ रुपैयाँ (भारतीय किवी) सम्म कायम भएको छ ।
यी हुन् निरन्तर महङ्गिदैै गएका वस्तुहरू
तथ्याङ्क अनुसार केही स्थानीय तरकारीहरूको मूल्यमा तीन वर्षको अवधिमा निरन्तर वृद्धि भइरहेको छ । २०८१ असोजमा औसत ६२ रुपैयाँ ५० पैसा प्रति किलो रहेको सागको मूल्य २०८२ मा बढेर ८२ रुपैयाँ ५० पैसा र २०८३ असोजमा एक सय पाँच पुगेको छ । यस्तै, २०८१ मा प्रति किलो ८२ रुपैयाँ ५० पैसा रहेको सिमी २०८२ मा एक सय पाँच र २०८३ मा एक सय २४ रुपैयाँ पुगेको छ ।
२०८१ मा ३३ रुपैयाँ ७५ पैसा मूल्य रहेको लौका २०८२ मा ५७ रुपैयाँ ५० पैसा पुग्दा २०८३ मा बढेर ६७ रुपैयाँसम्म पुगेको छ । २०८१ मा ३४ रुपैयाँ ७५ पैसामा बिक्री भएको बन्दा २०८२ मा ४२ रुपैयाँ ५० पैसा पुगेको छ । यस २०८३ मा बन्दा बढेर ४७ रुपैयाँ पुगेको छ । यस्तै, भिण्डी र तिते करेलाको मूल्य पनि निरन्तर बढ्दोक्रममा छ । २०८१ मा प्रति किलो ४२ रुपैयाँ ५० पैसा रहेको भिण्डी २०८३ मा ७२ रुपैयाँ पुगेको छ भने तिते करेला ६७ रुपैयाँ ५० पैसाबाट बढेर एक सय १२ रुपैयाँसम्म पुगेको छ ।
भान्छामा दैनिक प्रयोग हुने गोलभेडा, प्याज र लसुन जस्ता वस्तुहरूको मूल्यमा भने तीव्र उतारचढाव देखिएको छ । २०८१ असोजमा ठूलो नेपाली गोलभेडाको थोक मूल्य एक सय २७ रुपैयाँ ५० पैसा र भारतीय गोलभेडाको मूल्य एक सय २३ रुपैयाँ ७५ पैसा रहेकोमा २०८२ मा भारी गिरावट आई क्रमशः ३७ रुपैयाँ ५० पैसा र ५१ रुपैयाँ ७५ पैसामा झरेको थियो । तर, २०८३ असोजमा पुनः बढेर नेपाली गोलभेडा ६७ र भारतीय गोलभेडा ६२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, २०८१ मा प्रति किलो एक सय २३ रुपैयाँ ७५ पैसा रहेको प्याज २०८२ मा घटेर ४७ रुपैयाँ ५० पैसामा झरेको थियो भने २०८३ मा पुनः बढेर ९२ रुपैयाँ पुगेको छ । २०८१ मा दुई सय ७० रुपैयाँ रहेको लसुन २०८२ मा घटेर एक सय ४५ रुपैयाँमा झरेको थियो । तर, २०८३ मा बढेर दुई सय ९४ रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।
सस्तिए अदुवा र आलु
तथ्यांक अनुसार केही वस्तुको मूल्यमा भने लगातार गिरावट आई उपभोक्तालाई राहत मिलेको छ । २०८१ असोजमा प्रति किलो एक सय २२ रुपैयाँ ५० पैसा रहेको अदुवा २०८२ मा ८३ रुपैयाँ ७५ पैसा र २०८३ असोजमा प्रतिकिलो ७७ रुपैयाँमा झरेको छ । यस्तै, २०८१ मा ७२ रुपैयाँ ५० पैसा रहेको रातो आलुको मूल्य २०८२ मा ६१ रुपैयाँ ७५ र २०८३ मा ५७ रुपैयाँसम्म सस्तिएको छ । २०८१ मा प्रतिकिलो ५७ रुपैयाँ मूल्य रहेको भारतीय आलु २०८२ मा ३३ रुपैयाँ ५० पैसा र २०८३ मा २९ रुपैयाँ ६० पैसा कायम भएको तथ्यांकले देखाउँछ ।
बुलबुले कृषि हाट बजारका व्यवस्थापक केशर रास्कोटीका अनुसार बजारमा हुने मूल्य उतारचढाव मुख्यतया मौसम, स्थानीय उत्पादनको परिमाण र बाह्य आपूर्तिमा निर्भर रहने गर्दछ । ‘स्थानीय स्तरमा सिजन अनुसार तरकारी उत्पादन बढी हुँदा मूल्य स्वतः घट्छ । २०८२ को असोजमा स्थानीय गोलभेडा र अन्य तरकारीको उत्पादन प्रशस्त भएकाले थोक मूल्य निकै तल झरेको थियो,’ व्यवस्थापक रास्कोटीले भने । साथै, बाह्य क्षेत्रबाट आउने तरकारी तथा फलफूलको आपूर्ति घट्दा २०८३ असोजमा सागपात, सिमी र आयातित फलफूलको मूल्य बढ्न पुगेको उनले बताए । उनका अनुसार कर्णालीको कठिन भुगोलका कारण ढुवानीमा समस्या, लोडअनलोड गर्ने जनशक्तिको अभाव लगायतका कारणले पनि तरकारी तथा फलफूलमा मूल्यवृद्धि भएको हो ।
उनले पछिल्लो समय तरकारीमा मात्रै होइन समर्ग क्षेत्रमा इजराय र इरान युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले असर पारेको बताए






