सम्पादकीय : नफस्टाएको कर्णालीको पर्यटन

कर्णालीमा पर्यटकको संख्या बढ्दै गएको छ । तर, पर्यटकको आगमन बढ्नु र पर्यटनबाट प्रदेशको अर्थतन्त्र बलियो हुनु एउटै कुरा होइन । सात वर्षमा १६ लाख ३९ हजार आठ सय ४३ आन्तरिक तथा बाह्य पर्यटकले कर्णालीका विभिन्न गन्तव्य अवलोकन गरेको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार सात सय चार रहेको पर्यटकको संख्या २०८२/०८३ मा पाँच लाख ४० हजार सात सय २८ पुगेको छ । यो वृद्धि उत्साहजनक भए पनि कर्णालीको पर्यटन सम्भावनाअनुसार उपलब्धि हासिल हुन सकेको छैन । रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेविहार, बुलबुले र सिंजाजस्ता प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले कर्णालीलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाउने क्षमता राख्छन् । तर, सम्भावना भएर मात्रै पर्यटन विकास हुँदैन । गन्तव्यसम्म पुग्ने सहज सडक, भरपर्दो हवाई सेवा, स्तरीय आवास, स्वच्छ खानेपानी, सुरक्षा र प्रभावकारी प्रचारप्रसार आवश्यक पर्छ । कर्णालीको पर्यटन विकासमा यिनै आधारभूत पक्ष कमजोर छन् । पर्यटक गन्तव्यसम्म पुग्नै सास्ती खेप्नुपर्ने र पुगेपछि आवश्यक सेवा नपाउने अवस्था रहेसम्म पर्यटकको बसाइ लम्बिँदैन, स्थानीय अर्थतन्त्रमा पर्यटनको योगदान पनि बढ्दैन ।
प्रदेश सरकारले पर्यटन विकासका लागि बजेट बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा २३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएकोमा चालु आर्थिक वर्ष २०८३/०८४ मा ५३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । सरकारले कर्णाली पर्यटन दशक सुरु गर्ने तयारीसमेत गरेको छ । प्रमुख गन्तव्यको संरक्षण, पूर्वाधार निर्माण, पहुँच विस्तार, प्रचारप्रसार र पर्यटन सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य सकारात्मक छन् । तर, बजेट विनियोजन र कार्यक्रम घोषणा हुनु मात्रै उपलब्धि होइन । त्यसबाट कति पूर्वाधार बने, कति गन्तव्यमा पहुँच सहज भयो, कति रोजगारी सिर्जना भए र स्थानीय नागरिकको आम्दानी कति बढ्यो भन्ने आधारमा लगानीको प्रतिफल मापन हुनुपर्छ । पर्यटन दशकलाई अर्को औपचारिक घोषणा र बजेट खर्च गर्ने कार्यक्रमका रूपमा सीमित गरिनु हुँदैन । विगतमा अघि सारिएका पर्यटन सर्किटको अवधारणा र विभिन्न गन्तव्यका गुरुयोजनाको कार्यान्वयनको अवस्था पनि मूल्यांकन गर्न आवश्यक छ । रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे र काँक्रेविहारजस्ता गन्तव्यलाई सडक, हवाई सेवा, पदमार्ग र आवश्यक पर्यटकीय सेवामार्फत जोड्न सके पर्यटकको यात्रा सहज बन्न सक्छ । गन्तव्यमा पुग्ने पर्यटकलाई थप दिन बस्ने वातावरण बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
पर्यटन विकासको प्रत्यक्ष लाभ स्थानीय समुदायले पाउनुपर्छ । होमस्टे, स्थानीय परिकार, रैथाने उत्पादन, हस्तकला र पर्यटक पथप्रदर्शकसम्बन्धी सीप विकासलाई प्रभावकारी बनाउन सके पर्यटन रोजगारी र आम्दानीको आधार बन्न सक्छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई बेवास्ता गरेर गरिने पूर्वाधार निर्माणले दीर्घकालीन पर्यटनलाई नै कमजोर बनाउँछ । कर्णालीसँग पर्यटक आकर्षित गर्ने सम्पदाको कमी छैन । कमी छ त तिनलाई सहज पहुँच, गुणस्तरीय सेवा र दिगो आम्दानीसँग जोड्ने प्रभावकारी कार्यान्वयनको । पर्यटकको संख्या बढेको तथ्यांकमा रमाउनेभन्दा उनीहरूको बसाइ, खर्च, स्थानीय रोजगारी र समुदायको आम्दानी बढाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ । पर्यटन दशकको सफलता घोषणामा होइन, कर्णालीका नागरिकको जीवन र अर्थतन्त्रमा देखिने परिवर्तनमा मापन हुनेछ ।






