सात वर्षमा १६ लाख पर्यटकले घुमे कर्णाली

ओम शाही
सुर्खेत, २८ असोज ।
कर्णाली प्रदेशमा सात वर्षको अवधिमा १६ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् । कर्णाली प्रदेश स्थापना भएयताका सात वर्षमा १६ लाख ३९ हजार आठ सय ४३ आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको सरकारी तथ्यांकले देखाउँछ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार सात सय चार पर्यटक कर्णाली भित्रिएकोमा गत आर्थिक वर्ष २०८२/०८३ सम्म आइपुग्दा त्यो संख्या बढेर पाँच लाख ४० हजार सात सय २८ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा १० हजार ३६ पर्यटक पुग्दा अर्को प्रमुख पर्यटकीय गन्तव्य डोल्पाको शे–फोक्सुण्डोमा एक हजार ६ सय ६८ पर्यटक पुगेको तथ्यांकले देखाउँछ ।
स्वर्गकी अप्सराको उपमा पाएको रारा तालमा सात वर्षको अवधिमा एक लाख पाँच हजार एक सय ८४ बाह्य तथा आन्तरिक पर्यटक पुगेका छन् । गत आर्थिक वर्षमा मात्रै रारामा २४ हजार नौ सय ३१ पर्यटक पुगेका छन् । त्यस्तै, शे–फोक्सुण्डोमा यही अवधिमा २६ हजार पाँच सय ८५ पर्यटक पुगेको तथ्यांक छ ।
मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३४ हजार ६९, आर्थिक वर्ष २०७८/०७९ मा एक लाख २७ हजार २९, आर्थिक वर्ष २०७९/०८० मा एक लाख ९८ हजार एक सय ३४, आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख १० हजार पाँच सय ९०, आर्थिक वर्ष २०८१/०८२ मा पाँच लाख ४१ हजार आठ सय ८९ र गत आर्थिक वर्ष २०८२/०८३ मा पाँच लाख ४० हजार सात सय २८ बाह्य तथा आन्तरिक पर्यटकले विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
यो मुगुको रारा ताल, सुर्खेतको गोठीकाँडा, सुर्खेतको प्रादेशिक सहिद पार्क, बुलबुले ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, सुर्खेतको काँक्रविहार, सल्यानको कुपिण्डे तालमा पुगेका पर्यटकको तथ्यांक हो । गत वर्ष मात्रै हवाई मार्ग प्रयोग गरी हुम्लाको मानसोवर लगायतका पर्यटकीय क्षेत्र पुग्ने पर्यटकको संख्या चार हजार पाँच सय ८९ रहेको मन्त्रालयका वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखाका वरिष्ठ डिभिजनल जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयको यो तथ्यांकले कर्णालीमा संघीयता कार्यान्वयनपछि पर्यटन पूर्वाधारमा गरिएको लगानीले विस्तारै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएको देखिन्छ । विशेषगरी यहाँको पर्यटन प्रवद्र्धन र विकासमा प्रदेश र स्थानीय सरकारहरुले लगानी बढाइरहेका छन् । यद्यपी, कर्णालीको पर्यटन सम्भावनाका दृष्टिले हेर्दा सन्तोष मान्नु पर्ने अवस्था भने छैन ।
प्रदेश सरकार स्थापना भएयता कर्णालीको पर्यटन क्षेत्रमा ठुलो लगानी गरिरहेको दावी गरेपनि प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्ने पहुँचमार्ग गतिलो नहुँदा प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न सकेको छैन । अर्कोतर्फ कर्णालीको पर्यटन सम्भावनालाई विश्वमाझ पुर्याउन नसक्दा यहाँको पर्यटन ओझेलमा परिरहेको छ ।
पर्यटन प्रवद्र्धनमा के गर्दैछ प्रदेश सरकार ?
पछिल्ला पाँच आर्थिक वर्षका वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई केलाउने हो भने प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र विकासमा लगानी बढाउँदै लगेको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा २३ करोड १५ लाख, २०७९/०८० मा ३४ करोड ५७ लाख, २०८०/०८१ मा ४१ करोड ९९ लाख, २०८१/०८२ मा ४० करोड ५१ लाख, २०८२/०८३ मा ५० करोड ४० लाख र चालु आर्थिक वर्ष २०८३/०८४ मा ५३ करोड ८६ लाख बराबरको बजेट पर्यटन क्षेत्रका लागि विनियोजन भएको देखिन्छ ।
त्यस्तै, प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ मा कर्णालीको पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटन दशक घोषणा गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा प्रदेश सरकारले पर्यटनलाई आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र स्थानीय समृद्धिको प्रमुख आधारका रुपमा विकास गर्दै कर्णालीको विशिष्ट पहिचानलाई विश्वसामु स्थापित गराउन कर्णाली पर्यटन दशक सुरुवात गर्ने घोषणा गरेको छ ।
दशक अभियानअन्तर्गत प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार निर्माण, पहुँच विस्तार, प्रचारप्रसार तथा पर्यटन सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिने, पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक रुपान्तरण र स्थानीय रोजगारीको आधार बनाउने सरकारको लक्ष्य छ । हिमाल, ताल, नदी, वन, संस्कृति र सभ्यताको अनुपम संगम कर्णाली पर्यटनको अथाह सम्भावना बोकेका प्रदेश हो ।
पर्यटन पूर्वाधार, सेवा गुणस्तर र गन्तव्य व्यवस्थापनमा सुधार गर्दै कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा विशिष्ट गन्तव्यका रुपमा स्थापित गराउने नीति प्रदेश सरकारको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले प्रदेश सरकारको पर्यटन दशकको नीतिलाई कार्यान्वयनमा लैजान आवश्यक नीतिगत तयारी थाल्न लागिएको बताइन ।
‘१० वर्षको योजना भएकाले व्यापक नीतिगत तयारी गर्नुपर्ने हुन्छ, बजेट पनि धेरै छ,’ उनले भने, ‘कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।’ पर्यटन दशक घोषणा गर्ने योजनानुसार सरकारले चालु आर्थिक वर्षमा मुगुको रारा ताल, सुर्खेतको काँक्रेबिहार, बुलबुले उद्यान तथा चौगान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण र विकासमा हाल कार्यान्वयनमा रहेका गुरुयोजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नति लगायतका आवश्यक कार्य गर्न पाँच करोड विनियोजन भएको मन्त्रालयले जनाएको छ । सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाका विमानस्थलमा नियमित हवाई उडानका लागि संघ सरकारसँगको समन्वयमा सहुलियत कार्यक्रम प्रदान गर्ने योजना पनि प्रदेश सरकारसँग छ ।
सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरणको संरक्षण तथा पर्यापर्यटनको दिगो विकासमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा अन्य प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण एवम् स्तरोन्नति लगायतका कार्यका लागि ३९ करोड ९६ लाख रुपैयाँ विनियोजन भएको छ । यी कार्यक्रम पनि पर्यटन दशक अन्तर्गत नै हुन् ।
सरकारले चालु आर्थिक वर्षमा पर्यापर्यटन, ग्रामीण पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्न नागरिकलाई पर्यटनसम्बद्ध रोजगारी, हस्पिटालिटी, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला, रैथाने बालीबाट उत्पादित परिकारसम्बन्धी सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । मन्त्रालयका सूचना अधिकारी नेपालीका अनुसार पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न चालु आर्थिक वर्षमा ५३ करोड ८६ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ ।
यद्यपि, सरकारको लगानीको आकार बढे पनि प्रतिफलमा भने निकै चुनौती छ । कर्णालीका पर्यटकीय गन्तव्यमा विगतदेखि नै पूर्वाधार अभाव, कमजोर सडक पहुँच, होटल तथा खानेपानीको कमी र प्रचारप्रसारको अभाव मुख्य समस्याका रुपमा रहँदै आएका छन् । कर्णालीको पर्यटन सम्भावनासँग रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेबिहार, पञ्चकोशी, सिंजा, लिमी उपत्यकालगायत असंख्य प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा जोडिएका छन् ।
यसअघि प्रदेश सरकारले रारा, शे–फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, काँक्रेबिहार, पञ्चकोशीलगायत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई एउटै पर्यटन सञ्जालमा जोड्ने गरी पर्यटन सर्किट विकासको अवधारणासमेत अघि सारेको थियो । अहिले भने सरकारको जोड पर्यटकलाई गन्तव्यसम्म पुऱ्याउने मात्र नभई त्यहाँको बसााइ लम्ब्याउने वातावरण निर्माणमा छ । पर्यटन सूचना तथा अभिलेख केन्द्र, पर्यटकसम्बन्धी सूचना सामग्री, गाइडबुक, सुरक्षा तथा आपतकालीन सहयोग संयन्त्र विकासका कार्यक्रमसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ ।



