लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछ : सांसद थारु

बाँके ,२९ असोज ।

प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले कानुन निर्माणको प्रक्रिया अघि बढाएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले बुधबार नेपालगञ्जमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु देखिएको उल्लेख गर्दै यसको व्यवस्थापनका लागि कानुनको मस्यौदा तयार भइरहेको जानकारी दिएका हुन् ।

बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष समेत रहेका थारुले सञ्चारमन्त्रीसँगको भेटमा आफूले लोककल्याणकारी विज्ञापनको विषयलाई प्राथमिकताका साथ उठाएको बताए । सञ्चारमन्त्री यस विषयमा सकारात्मक र प्रतिबद्ध देखिएको उल्लेख गर्दै उनले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

थारुले पत्रकारिताको गरिमा र विश्वसनीयता जोगाउन आवश्यक रहेकोमा जोड दिँदै पत्रकारिता, सञ्चार माध्यम र व्यक्तिगत सामाजिक सञ्जालका सामग्रीबीचको भिन्नता बुझ्नुपर्ने बताए । पत्रकारिताको जिम्मेवारी र मर्यादालाई सामाजिक सञ्जालमा व्यक्त गरिने व्यक्तिगत विचारसँग जोडेर हेर्न नहुने उनको भनाई थियो । आफूले नेतृत्व गरेको संस्थाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै उनले महासंघको संस्थागत विकासका लागि गरिने यस्ता प्रयासको प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिताको व्यावसायिकता, मर्यादा र विश्वसनीयता कायम राख्न पत्रकारहरू स्वयं जिम्मेवार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रप्रति जनविश्वास अभिवृद्धि गर्न सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण, आचारसंहिताको पालना र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । उनले पत्रकारहरूको हकहित संरक्षणसँगै उनीहरूको क्षमता विकास र संस्थागत सुदृढीकरणमा महासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले महासंघको कार्यसमितिमा रहेर संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व पदाधिकारी तथा अग्रजहरूलाई सम्मान गर्ने संस्कारको सुरुवात गरिएको बताए । यसलाई थप बृहत् बनाउँदै आगामी दिनमा सम्मानको शृङ्खलालाई निरन्तरता दिइने उनले उल्लेख गरे । पत्रकारिता क्षेत्रलाई स्वच्छ, मर्यादित र जिम्मेवार बनाउन सबै पत्रकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै गिरीले पत्रकारहरूको क्षमता विकास, संस्थागत सुदृढीकरण र पत्रकारिताको गरिमा अभिवृद्धिका लागि शाखा क्रियाशील रहेको बताए ।

कार्यक्रममा विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । सोही अवसरमा महासंघको संस्थागत विकासमा योगदान पुर्‍याएका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, पूर्व सदस्य तथा पूर्व सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद थारु, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष चौलागाईं र शाखा अध्यक्ष गिरीले सम्मान गरेका थिए । शाखाका पूर्व अध्यक्ष थारु र प्रदेश अध्यक्ष चौलागाईंलाई पनि अध्यक्ष गिरीले सम्मान गरेका थिए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू निरजकुमार गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरी, अग्रज पत्रकार अछरी पोखरेल तथा महासंघका पूर्व उपाध्यक्ष सिराज खान लगायतले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए । महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रेजिना मल्लले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछ : सांसद थारु

वीरेन्द्रनगरको प्रशासनिक  भवनमा पहुँच परीक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!