बर्दियामा वन्यजन्तुको आक्रमण बढ्दो : ११ महिनामै ११ जनाको ज्यान गयो त्रासमा बाँच्न बाध्य स्थानीय

बर्दिया,२९ जेठ ।
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको छ। वन्यजन्तुको आक्रमणका घटना बढ्दै जाँदा स्थानीयवासी डर, त्रास र असुरक्षाबीच दैनिक जीवनयापन गर्न बाध्य भएका छन्। विशेषगरी चितुवा, पाटे बाघ, हात्ती र गैंडाको गतिविधि मानव बस्ती नजिक बढ्न थालेपछि ग्रामीण बस्तीका बासिन्दा सधैं सतर्क रहनुपर्ने अवस्था सिर्जना भएको छ।
डिभिजन वन कार्यालय बर्दियाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन्। कार्यालयका तथ्यांकअनुसार चितुवाको आक्रमणबाट ८ जना, पाटे बाघको आक्रमणबाट २ जना र जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ।
त्यसैगरी, चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट १७ जना र पाटे बाघको आक्रमणबाट १ जना गरी १८ जना घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले जानकारी दिनुभयो। गत आर्थिक वर्ष २०८१/०८२ मा पनि चितुवाको आक्रमणबाट ४ जना, गैंडाको आक्रमणबाट १ जना र हात्तीको आक्रमणबाट १ जनाले ज्यान गुमाएका थिए।
मानव बस्तीमा प्रवेश गरेर जोखिम बढाउने वन्यजन्तुलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टोलीले चालु वर्षमा ६ वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ। तर, वन्यजन्तुको त्रास भने अझै कम हुन सकेको छैन।
विशेषगरी गुलरिया, राजापुर, मधुवन र बारबर्दिया नगरपालिकाका विभिन्न बस्तीमा बेला–बेलामा चितुवा प्रवेश गर्ने घटनाले स्थानीयवासीलाई निरन्तर त्रसित बनाइरहेको छ। साँझपख र बिहानको समयमा बालबालिका, वृद्धवृद्धा तथा खेतबारीमा काम गर्ने किसानहरू सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्। चितुवा तथा अन्य वन्यजन्तु बस्ती नजिक देखिन थालेपछि अभिभावकहरू बालबालिकालाई एक्लै बाहिर पठाउन डराउन थालेका छन् भने किसानहरू पनि खेतबारीमा काम गर्न जाँदा असुरक्षित महसुस गर्ने गरेका छन्।
स्थानीयवासीहरूका अनुसार वन्यजन्तुको बढ्दो जोखिमले दैनिक जनजीवन प्रभावित भएको छ। घरबाहिर निस्कँदा, विद्यालय आउजाउ गर्दा र खेतबारीमा काम गर्दा समेत आक्रमणको डरले सताउने गरेको उनीहरूको गुनासो छ। कतिपय बस्तीमा रातको समयमा वन्यजन्तु प्रवेश गर्ने सम्भावना रहेकाले स्थानीयहरू रातभर जाग्राम बस्नुपर्ने अवस्था समेत देखिएको छ।
वन्यजन्तुको आक्रमणका घटना बढ्दै जाँदा स्थानीयवासीले प्रभावकारी सुरक्षा व्यवस्था, जोखिम न्यूनीकरणका कार्यक्रम, नियमित सचेतना अभियान तथा वन्यजन्तु व्यवस्थापनका दीर्घकालीन उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
डिभिजन वन कार्यालयले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। तर, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न सम्बन्धित निकायबीच थप समन्वय, प्रभावकारी व्यवस्थापन र दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम राख्दै स्थानीयको जिउधनको सुरक्षा सुनिश्चित गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ।

बर्दियामा वन्यजन्तुको आक्रमण बढ्दो : ११ महिनामै ११ जनाको ज्यान गयो त्रासमा बाँच्न बाध्य स्थानीय

विभेदकारी विज्ञापन नीति खारेजीको माग गर्दै बाँकेमा

बर्दियामा वन्यजन्तुको आक्रमण बढ्दो : ११ महिनामै ११ जनाको ज्यान गयो त्रासमा बाँच्न बाध्य स्थानीय

शिक्षाका लागि दैनिक जोखिमपूर्ण यात्रा, पढ्नैका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *