बाँके –दाङ सीमाक्षेत्रको हुलाकी सडक निर्माण प्रक्रिया सुरु, करिब ५० किलोमिटर खण्ड अझै बाँकी

बाँके ,२७ पुस।

हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा निर्माण हुन बाँकी रहेको करिब ५० किलोमिटर सडकखण्ड निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ। लामो समयदेखि अधुरो अवस्थामा रहेको यस सडकखण्ड निर्माणले पश्चिम तराईका जिल्लामा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरदेखि दाङको राजपुर गाउँपालिकाको गौगदीसम्म फैलिएको करिब ५० किलोमिटर सडकखण्ड अझै निर्माण हुन बाँकी छ। हालसम्म अधिकांश स्थानमा ट्र्याक मात्रै खनिएको र पूर्णस्तरको सडक संरचना बन्न नसकेको जनाइएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पहिलो चरणमा दाङ खण्ड अन्तर्गत पर्ने करिब २५ किलोमिटर सडक निर्माणका लागि प्रक्रिया अघि बढाइएको हो। उहाँका अनुसार सडक निर्माणको स्रोत सुनिश्चित गर्न राष्ट्रिय योजना आयोगमा फाइल पेस गरिएको छ। “स्रोत सुनिश्चितताका लागि फाइल राष्ट्रिय योजना आयोगमा पुगेको छ, स्वीकृत भएपछि निर्माण कार्य औपचारिक रूपमा सुरु हुनेछ,” योजना प्रमुख भण्डारीले जानकारी दिनुभयो।

यो सडकखण्डको कुल लागत अनुमान करिब तीन अर्ब रुपैयाँ रहेको छ। दाङतर्फको गौगदीदेखि हाडबाससम्म र बाँके तर्फ दाङको सीमा हाडबासदेखि राप्तीसोनारी गाउँपालिकाको बैजापुरसम्म करिब २५–२५ किलोमिटर सडक निर्माण हुन बाँकी छ। योजना कार्यालयका अनुसार दाङ खण्डको स्वीकृति प्राप्त भएपछि बाँके खण्डको निर्माण प्रक्रिया पनि क्रमशः अघि बढाइनेछ।
योजना कार्यालयले दिएको जानकारी अनुसार बाँके खण्डको बाँकी भाग भौगोलिक दृष्टिले चुनौतीपूर्ण रहेको छ। चट्टानी भू–भाग र जोखिमयुक्त संरचनाका कारण यस क्षेत्रमा सडक निर्माण दाङ खण्डको तुलनामा जटिल र खर्चिलो हुने अनुमान गरिएको छ। यद्यपि, प्राविधिक तयारीसहित निर्माण अघि बढाइने कार्यालयले जनाएको छ।

हुलाकी राजमार्गको यो खण्ड निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा प्रयोग हुन सक्नेछ। यसले लामो दूरीको यातायात, स्थानीय आवागमन, व्यापार तथा सेवा प्रवाहलाई सहज बनाउने विश्वास लिइएको छ। साथै, सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

बाँके –दाङ सीमाक्षेत्रको हुलाकी सडक निर्माण प्रक्रिया सुरु, करिब ५० किलोमिटर खण्ड अझै बाँकी

हुम्लाका २५ वटा मतदानस्थल सडकको पहुँँचबाट टाढा

बाँके –दाङ सीमाक्षेत्रको हुलाकी सडक निर्माण प्रक्रिया सुरु, करिब ५० किलोमिटर खण्ड अझै बाँकी

सडकले हरायो ”खच्चड”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds