कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

बाँके, २६ पुस ।
कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको हिउँदे अधिवेशन औपचारिक रूपमा अन्त्य गरेको छ । शुक्रबार सम्पन्न उन्नाइसौँ नगरसभासँगै नगरप्रमुख पूर्णप्रसाद आचार्यले हिउँदे अधिवेशन समाप्त भएको घोषणा गरेका छन् । नगरसभाले नीति, कानुन, बजेट र विकास निर्माणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै अधिवेशन समापन गरेको छ ।
उन्नाइसौँ नगरसभामा नगरपालिकाको आर्थिक अनुशासन, वित्तीय पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्ने उद्देश्यसहित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ सर्वसम्मत रूपमा पारित गरिएको छ । यो ऐन कार्यान्वयनसँगै नगरपालिकाको आम्दानी–खर्च व्यवस्थापन थप व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ । स्थानीय तहको वित्तीय सुशासन मजबुत बनाउन यो ऐनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
नगरसभाले अर्को महत्वपूर्ण निर्णयका रूपमा घरनक्सा पास अभिलेखीकरण प्रक्रिया असार मसान्तसम्म खुला गर्ने निर्णय गरेको छ । यसअघि आर्थिक वर्ष २०८२ साउनदेखि घरनक्सा पास अभिलेखीकरण बन्द गरिएको थियो ।
अभिलेखीकरण बन्द हुँदा नगरवासीलाई सेवा लिन कठिनाइ भएको गुनासो बढ्दै गएपछि नगरसभाले पुनः प्रक्रिया खुला गर्ने निर्णय गरेको हो । यसले अव्यवस्थित रूपमा बनेका संरचनालाई कानुनी दायरामा ल्याउन र नगरको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
त्यसैगरी, नगरसभाले कोहलपुर नगरपालिकाको कर्मचारी सङ्गठन संरचना संशोधनसहित पारित गरेको छ । कर्मचारी संरचनामा गरिएको संशोधनले कार्यसम्पादनलाई प्रभावकारी बनाउने, सेवा प्रवाह छरितो बनाउने र जनशक्ति व्यवस्थापनलाई सन्तुलित गर्ने उद्देश्य लिएको नगरपालिकाले जनाएको छ । संरचना संशोधनसँगै नगरपालिकाका शाखा, उपशाखा र कर्मचारीको जिम्मेवारी स्पष्ट हुने अपेक्षा गरिएको छ ।
उन्नाइसौँ नगरसभामा नगर उपप्रमुख सङ्गीता सुवेदीले प्रस्तुत गरेको प्रगति समीक्षा तथा संशोधित बजेट पनि नगरसभाबाट पारित भएको छ । प्रमुख प्रशासकीय अधिकृत तथा नगरसभा सदस्यसचिव मानबहादुर गिरीका अनुसार प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, खर्च विवरण, राजस्व संकलन र योजनाको प्रगति समेटिएको छ ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेट १ अर्ब १७ करोड ४५ लाख ५ हजार रुपैयाँ मध्ये हालसम्म ३३ करोड ५० लाख १ हजार ८४ रुपैयाँ १४ पैसा खर्च भएको छ । यसअनुसार कुल बजेटको २८.४९ प्रतिशत मात्र खर्च हुन सकेको छ । खर्च संरचनातर्फ हेर्दा चालु खर्चतर्फ ३५.११ प्रतिशत र पुँजीगत खर्चतर्फ १७.६१ प्रतिशत मात्र खर्च भएको देखिन्छ । पुँजीगत खर्च न्यून रहनु विकास निर्माणका काम अपेक्षाअनुसार अघि नबढेको संकेतका रूपमा हेरिएको छ ।
विषयगत क्षेत्रमा भएको खर्च विवरणअनुसार आर्थिक विकासतर्फ विनियोजित बजेटको १४.२ प्रतिशत, सामाजिक विकासतर्फ ३२.५१ प्रतिशत, पूर्वाधार विकासतर्फ ६.८९ प्रतिशत, सुशासन क्षेत्रतर्फ १५.०१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ४७.५८ प्रतिशत खर्च भएको नगर उपप्रमुख सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । प्रशासनिक खर्चको हिस्सा तुलनात्मक रूपमा बढी देखिए पनि विकासमुखी खर्चलाई आगामी दिनमा तीव्रता दिने प्रतिबद्धता नगर नेतृत्वले जनाएको छ ।
राजस्वतर्फ हेर्दा चालु आर्थिक वर्षका लागि १३ करोड ३८ लाख २१ हजार १ सय ९३ रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरिएको थियो । तर हालसम्म ४ करोड ४९ लाख ८२ हजार ५ सय ६२ रुपैयाँ ९६ पैसा मात्र संकलन भएको छ । यसअनुसार कुल प्रक्षेपित राजस्वको ३३.६१ प्रतिशत मात्र संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ । नगरपालिकाले राजस्व संकलन प्रणाली सुधार, करको दायरा विस्तार र चुहावट नियन्त्रणमार्फत लक्ष्य हासिल गर्ने रणनीति अघि बढाउने जनाएको छ ।
योजना कार्यान्वयनको अवस्थाबारे जानकारी दिँदै नगरपालिकाले हालसम्म उपभोक्ता समितिमार्फत सम्झौता भई कार्यान्वयनमा रहेका ४८ वटा योजना रहेको जनाएको छ ।
त्यस्तै, शिलबन्दी दरभाउ पत्रअन्तर्गत ५ वटा योजना तथा राष्ट्रिय बोलपत्रमार्फत २८ वटा योजना विद्युतीय ठेक्का प्रणालीबाट खुला गरिएका छन् । तीमध्ये १४ वटा योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिए ।
हिउँदे अधिवेशन समापनसँगै नगरपालिकाले आगामी दिनमा बजेट कार्यान्वयनलाई तीव्र बनाउने, पुँजीगत खर्च बढाउने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नगरसभाबाट पारित निर्णयहरूले कोहलपुर नगरपालिकाको प्रशासनिक, वित्तीय र विकास प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।





