कर्णालीका यी पूर्वाधार जो चुनावी नारामा कहिल्यै छुट्दैनन्, पुरा पनि हुँदैनन्

ओम शाही
सुर्खेत, २१ माघ ।
आसन्न २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । मतदानको मिति नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारहरुले विकास र समृद्धिका आश्वासन बाँडेर मतदता फकाउनमा आफुलाई केन्द्रित गराएका छन् । यस पटक पनि उम्मेदवारहरुले कर्णालीमा सधैं चुनावी नारा बन्ने तर पुरा नहुने दर्जनबढी पूर्वाधारलाई अघि सारेका छन् । हरेक निर्वाचनका चुनावी नारा बन्ने कर्णाली समृद्धिको मेरूदण्ड मानिएका सडक, विद्युत्, विमानस्थललगायतका पूर्वाधार वर्षौंदेखि अलपत्र छन् ।
त्यसमध्येको एउटा उदाहरण हो, कालीकोटको नरहरिनाथ गाउँपालिका–१, कोटबाडास्थित सुनथराली विमानस्थल । यो विमानस्थल पञ्चायतकालदेखि निरन्तर चुनावी नारामा समेटिएको भएपनि पुरा भएको छैन । २०४२ सालदेखि निर्माण थालिएको यो विमानस्थल हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन् । विमानस्थलमा २९ माघ २०७३ मा परीक्षण उडान गरिएको थियो । त्यसयता दुई पटक परीक्षण उडान भएका छन् ।
जहाज बस्ने पूर्वाधार तयार भएपनि त्यसयता सुनथराली विमानस्थल अलपत्र छ । जहाज नचल्ने विमानस्थललाई कालोपत्रसमेत गरिएको छ । विमानस्थल नियमित सञ्चालनमा ल्याउन सदरमुकाम मान्मदेखि कोटबाडासम्म केबुलकार जडानको योजना चर्चामा रहेपनि अलपत्र छ । केबुलकार निर्माणका लागि स्रोतको खोजी भइरहेको नरहरिनाथ गाउँपालिका पूर्वअध्यक्ष धीरबहादुर बिष्ट बताउँछन् ।
‘विमानस्थल त पूरा भएको छ । नियमित सञ्चालनका लागि केबलकार बनाउने पर्यटकीय क्षेत्रको विकास गरेर मात्र सञ्चालन हुने अवस्थामा छ,’ उनले भने, ‘नियमित सञ्चालन गर्न त्यहाँ पुग्ने बाटोसहित रामारोसन, त्रिवेणी पाटन र बडिमालिका पर्यटकीयस्थलसम्म जोड्न केबुलकार चाहिने हो । त्यसका लागि पहल पनि थालियो । सरकारी तवरबाट सहयोग नहुँदा समस्या भएको छ ।’
केबुलकार निर्माणको लागि एक अर्ब १४ करोड लागतको डीपीआर बने पनि स्रोत नहुँदा समस्या भएको विष्टले बताए । ‘सुरुमा कर्णाली प्रदेश र स्थानीय तहको ५० प्रतिशत तथा अन्य निकायबाट ५० प्रतिशत रकम जुटाउने योजना बनाइएका थियौं,’ उनले भने, ‘अहिले त्यो काम पनि चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।’ यो विमानस्थल निर्माणका क्रममा स्थानीय सात जनासहित धादिङ, काभ्रे, सिन्धुली र रामेछापबाट आएका ३५ जनाको तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।
कर्णालीको अर्को चुनावी नारा हुम्ला जिल्लामा सडक पुर्याउने हो । त्रिदेशीय सडकका रुपमा रहेको यो सडकले अहिले पनि पूर्णता पाउन सकेको छैन् । कालीकोटको खुलालुदेखि हुम्लाको हिल्सासम्म तीन सय ४७ किलोमिटर कर्णाली कोरिडोर पर्दछ । जमुनाहदेखि चीनको हिल्सासम्म पाँच सय आठ किलोमिटर दूरी पर्छ । भारत–चीन जोड्ने यो सडक सधैं चुनावी नारा बन्ने गरेको छ । चट्टान, बजेट अभाव र निकासमा हुने ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना भनिए पनि ट्र्याक खुल्न डेढ दशक लागेको छ ।
हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यसहित साविक जिल्ला विकास समिति हुम्लाले २०५७ मा सुरु गरेको सडक निर्माणको योजना अझै अलपत्र छ । यस्तै, कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गलाई दुई लेनको बनाउने भन्दै सुर्खेत, दैलेख, कालीकोट, मुगु र जुम्लाका उम्मेदवारले २०६४ सालयताका चुनावमा मत मागिरहेका छन् ।
राजमार्ग भने बर्षेनी जीर्ण बन्दै गएको छ । भेरी करिडोर (नेपालगन्ज–छिन्चु–जाजरकोट, डोल्पा–धो मोरिम्ला–तिब्बत र सुर्खेत–जुम्ला–सिन्जा– मुगु–नाग्चेनाग्ला–तिब्बत सडक) को काम लामो समयदेखि धीमा गतिमा अघि बढिरहेको छ । भेरी करिडोरअन्तर्गत दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माणको काम कडा चट्टान र भौगोलिक विकटताका कारण जटिल छ भने मुगु–नाग्चेनाग्ला सडकमा बर्सेनि न्यून बजेट विनियोजन हुँदा सडक निर्माणको काम सुस्त बनेको हो ।
कर्णालीमा हाल सुस्त गतिमा कार्यान्वयन भइरहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको चर्चा २०३४ बाट सुरु भएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रारम्भिक अध्ययन गरेको थियो । पछि जापानी सहयोग नियोग (जाइका) ले २०४९ सालमा आयोजनाको गुरुयोजना बनाएको थियो । जाइकाबाटै २०५५ सालमा सम्भाव्यता अध्ययन भएको यो आयोजना आर्थिक वर्ष २०६५/०६६ सालबाट तत्कालीन सिँचाइ विभागबाट कार्यान्वयनमा ल्याइएको हो । तर, आयोजनामा अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । तोकिएको समय अगावै आयोेजनाको सुरुङ निर्माण भएर चर्चा कमाएको आयोजना अहिले आएर सुस्ताएको छ ।
भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झन्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित काम जारी छ । आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । यो आयोजनाले अझै पूर्णता पाउन सकेको छैन् ।
त्यस्तै, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी–७, मा रहेको मसिनेचौर विमानस्थल पनि सधै चुनावी नारा बन्ने गरेको छ । विमानस्थल निर्माण गर्न २९ वर्ष लागेको छ । लामो समयपछि निर्माण सम्पन्न भएको विमानस्थल पाँच वर्षयता सञ्चालनमा नआइ अलपत्र अवस्थमा छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने नसके पदबाटै राजिनामा दिने गत मंगलबार त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै घोषणा गरेका छन् ।
तेस्रो पटक निर्वाचनमा भाग लिन लागेका बुढा २०७४ सालमा नेकपा(एमाले), २०७९ सालमा एकीकृत समाजवादीबाट विजयी भएका थिए । हाल उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । नेताहरुले हरेक निर्वाचनमा चुनाव जित्न अस्त्र बनाउने उल्लेखित ठुला प्रकृतिका आयोजनाहरु पुरा भएको खण्डमा कर्णालीले समृद्धिको लय समाउने निश्चित छ । तर, नेताका भाषण कामकाजी नहुँदा कर्णालीले यो अवसर गुमाइरहेको छ ।






