निर्यात हुन लागेको काँचो स्याउ प्रहरीकाे नियन्त्रणमा : सिफारिसमै अनियमितता

गाेल्डेन बुढा
जुम्ला,१८ साउन ।
वर्षौंदेखि गुणस्तरको पहिचान बोकेको जुम्ली स्याउ फेरि एकपटक काँचै अवस्थामा जिल्ला बाहिर निकासी हुन थालेपछि प्रशासनले कडाइ सुरु गरेको छ। सुर्खेत र नेपालगञ्जका बजारतर्फ लैजाँदै गरिएको १ सय ८० कार्टुन स्याउ रारा प्रहरी चौकीले नियन्त्रणमा लिएपछि गरिएको प्राविधिक परीक्षणले सबै स्याउ एउटै गुणस्तरका नभएको देखाएको छ। परीक्षणमा अधिकांश स्याउ बजार पठाउन योग्य भए पनि केही कार्टुनमा न्यून गुलियोपना भेटिएपछि गुणस्तर नपुगेका स्याउ तत्काल निकासी नगर्ने निर्णय गरिएको छ।

जिल्लामा काँचो स्याउ बाहिर जान नदिने निर्णय कार्यान्वयन गर्दै रारा प्रहरी चौकीले स्याउ नियन्त्रणमा लिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीको नेतृत्वमा कृषि प्राविधिक टोली खटाइयो। कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका कृषि शाखा, तिला गाउँपालिका कृषि शाखा, प्रहरी प्रशासन, स्थानीय कृषक, व्यापारी तथा अन्य सरोकारवालाको रोहवरमा प्रत्येक कार्टुनको नमुना परीक्षण गरिएको थियो।कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार रिफ्र्याक्टोमिटरमार्फत् गरिएको परीक्षणमा १ सय ५० कार्टुन स्याउको गुलियोपना १२ प्रतिशतभन्दा माथि भेटियो। तर ९ कार्टुन स्याउ तथा केही स्थानीय जातका रेड डेलिसियस र रोयल डेलिसियस स्याउमा गुलियोपना ७ देखि ८ प्रतिशत मात्रै मापन भयो।सूचना अधिकारी धामीले भने, ‘स्याउ नपाक्दै निर्यात हुन थालेपछि प्रहरीले रोकेको हो।’ उनका अनुसार बजार निकासीका लागि कम्तीमा ११ प्रतिशत वा सोभन्दा माथि गुलियोपना भएको स्याउलाई मात्र उपयुक्त मानिन्छ। यही आधारमा मापदण्ड पूरा गरेका १ सय ५० कार्टुन स्याउ समन्वय गरेर बजार पठाउने र गुणस्तर नपुगेका स्याउ भण्डारणमा राख्ने निर्णय गरिएको हो।

जिल्लामा पटकपटक काँचो स्याउ बाहिरिएपछि जुम्ली स्याउको गुणस्तर, बजार छवि र उपभोक्ताको विश्वासमाथि प्रश्न उठ्दै आएको छ। पाकेको स्याउ मात्र निकासी गर्न पटकपटक आग्रह गरिए पनि किसान र व्यापारीले नपाकेको स्याउ बजार पठाउन खोजेपछि यस वर्ष प्रशासनले निगरानी अझ कडा बनाएको हो।मापदण्डअनुसार गुलियोपना नभएको स्याउ प्रहरी प्रशासन, कृषि प्राविधिक, व्यापारी र स्थानीय किसानको रोहवरमा सवारीसाधनबाट उतारेर भण्डारण गरिने भएको छ। धामीका अनुसार आवश्यक परिपक्वता र गुणस्तर प्राप्त नगरेसम्म ती स्याउ बजार पठाइने छैनन्।प्रहरीले कार्टुन खोलेर हेर्दा स्याउ काँचो देखिएपछि जिल्लाको पूर्वनिर्णयअनुसार निकासी रोकिएको थियो। प्राविधिक टोलीले प्रत्येक कार्टुनको स्याउ परीक्षण गर्दा तीमध्ये केही स्याउ चन्दननाथ नगरपालिका–८ र ९ बाट ल्याइएको खुलेको छ।घटनाले अर्को गम्भीर पक्ष पनि उजागर गरेको छ। अब कृषि प्राविधिकको सिफारिसबिना स्याउ निर्यात गर्न नपाइने गरी निर्णय प्रक्रिया अघि बढाइएको छ। स्थानीय तहबाट हुने मनोमानी सिफारिसकै कारण हरेक वर्ष काँचो स्याउ बजार पुग्ने गरेको कृषि विकास कार्यालयको निष्कर्ष छ।सूचना अधिकारी धामीले भने, ‘स्याउको निर्यात सिफारिसमा स्याउको मात्रा लुकाउने गरेको देखियो। जसले यहाँको उत्पादनको मात्रा निकाल्न पनि समस्या भयो।’प्रहरीले नियन्त्रणमा लिएको काँचो स्याउसँगै रहेका कागजातले पनि अनियमितताको संकेत गरेका छन्। एउटै खेपका लागि दुईवटा फरक सिफारिस भेटिएका थिए। एउटा सिफारिसमा ६० कार्टुन र अर्कोमा ४० कार्टुन उल्लेख थियो। तर वास्तविक रूपमा १ सय ८० कार्टुन स्याउ निकासी भइरहेको भेटिएको थियो। यसपछि कृषि विकास कार्यालयले स्थानीय सरकार र जनप्रतिनिधिलाई जिम्मेवार ढंगले सिफारिस जारी गर्न आग्रह गर्दै स्याउ निकासी प्रक्रियालाई थप पारदर्शी र मापदण्डमा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।






