जुम्ला आलु: पहिचान बन्यो, किसान अझै घाटामा

गाेल्डेन बुढा
जुम्ला ,१९ चैत।
जुम्लाको हिमाली भेगमा उत्पादन हुने अर्गानिक आलु गुणस्तर, स्वाद र पोषणको हिसाबले देशभर चर्चित छ। तर उत्पादनको यो सम्भावना किसानका लागि अपेक्षित आम्दानीमा रूपान्तरण हुन सकेको छैन। दुर्गम भौगोलिक अवस्था, कमजोर पूर्वाधार, ढुवानीको कठिनाई र बजारसम्मको सीमित पहुँचले किसानलाई अझै पनि न्यून मूल्यमा उत्पादन बेच्न बाध्य बनाइरहेको छ।
गुठीचौर गाउँपालिका–१ का गोरबहादुर बस्नेत वर्षमा ५० क्विन्टल आलु उत्पादन गर्छन्। केही आफ्नो, केही छिमेकीको आलु संकलन गरेर बजारसम्म लैजान्छन्। तर कहिले मौसमले बाटो बिगार्छ, कहिले मूल्य घट्दा व्यापारिक मनसाय कमजोर हुन्छ। आठ जना परिवारको खर्च धान्ने स्रोतका रूपमा आलु खेती गर्ने बस्नेत भन्छन्, “दुर्गममा आलु धेरै उत्पादन हुन्छ, तर नजिकै बजार छैन। गाउँको आलु कौडीको भाउमा बेच्न बाध्य छौं।”गाउँमा किसानले अधिकतम १५–२० रुपैयाँ प्रतिकेजीमा आलु बेच्दै आएका छन्। तर खलंगासम्म आइपुग्दा मूल्य ३० रुपैयाँ प्रतिकेजी पुग्छ। बस्नेतको अनुभव अनुसार, “घरमा हरेक वर्ष ५० क्विन्टल हाराहारीमा आलु उत्पादन हुन्छ, यसबाट कम्तीमा डेढ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा छ। तर मेहनत अनुसारको मूल्य पाउँदैनौं। केही नपाउने भन्दा, थोरै भए पनि आम्दानीको स्रोत बनिरहेको छ।”यस्तै पातारासी गाउँपालिका–६ की रूपा खड्का हरेक दिन आलु बेच्न सदरमुकाम खलंगा आइपुग्छिन्। सात रोपनीमा आलु खेती गरेर वर्षमा एक सय क्विन्टलसम्म उत्पादन गर्ने उनको परिवारको जीवन यस्तै आलु बेचेर चल्छ। रूपा भन्छिन्, “आलु उत्पादन धेरै हुन्छ तर नजिकै बजार नहुँदा महंगो मूल्य पाउन सकिँदैन। यदि संकलन केन्द्र र व्यवस्थित बजार प्रणाली भए, किसानको जीवन बदलिन सक्थ्यो।”पहिले खाडलमा भण्डारण भएको आलु प्रायः कुहिन्थ्यो। अहिले केही भए पनि बजारसम्म पुगिरहेको छ। तर ढुवानी, भण्डारण र मूल्य निर्धारणको अभावले किसान अझै पनि उचित लाभ पाउन सकेका छैनन्।पातारासी गाउँपालिकाको तथ्यांक अनुसार, हरेक वर्ष ५ हजार ७ सय ५८ मेट्रिक टन आलु जिल्लाबाहिर जान्छ।
यहाँबाट कालीकोट, मुगु, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्जलगायतका सहरमा आलु वितरण हुन्छ।यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार, गत वर्ष २ हजार २ सय ९२ हेक्टर क्षेत्रफलमा आलु खेती भएको थियो, जसबाट ३९ हजार ७ सय १५ मेट्रिक टन आलु उत्पादन भयो। यसले तीन करोड रुपैयाँको कारोबार जुम्लामा भित्र्याएको छ।जुम्ली लोकल, महत, खुमल सेतो, खुमल रातो, डेजिरे, जनकदेव र कुफ्रिज्योति नामका जातका आलु उत्पादन हुन्छन्। विशेष गरी दुई सिजनमा (३ महिनाको छोटो र ६ महिनाको लामो) फल्ने आलु लोकप्रिय छन्।
यहाँको आलु विषादी रहित भएकाले अर्गानिक मानिन्छ, र स्वादिलो तथा पोषिलो हुने भएकाले माग उच्च छ।तर माग र मूल्यबीचको खाडल अझै पनि किसानको जीवनमा चुनौती बनेको छ। उत्पादनको पहिचान भए पनि आर्थिक फाइदा सीमित छ। कृषि विज्ञका अनुसार, “उत्पादनको मूल्य श्रृंखला बलियो बनाउने, भण्डारण सुविधा उपलब्ध गराउने, र बजारसँग किसानलाई जोड्ने काम गर्नुपर्छ। यही बाटो हो, जसले जुम्लाको आलुलाई पहिचान मात्र नभई समृद्धिको आधार पनि बनाउँछ।”






