कपिलवस्तुमा बालिका शिक्षा तथा साक्षरता कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न
१३, साउन २०८२
कपिलवस्तु । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र पिस नेपालको आयोजनामा सञ्चालित बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रम र साक्षरता कार्यक्रमको अर्धवार्षिक समीक्षा कार्यक्रम सोमबार कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ। कार्यक्रममा हालसम्मका गतिविधि, सिकाइ, चुनौती र उपलब्धिहरूको समग्र समीक्षा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सुरुवातमा पिस नेपालका कार्यक्रम प्रबन्धक योगेन्द्र बुढाले कार्यक्रमको लक्ष्य, उद्देश्य र प्रभावकारिता बारे प्रस्ट पार्नुभयो। उहाँका अनुसार बालिका शिक्षा कार्यक्रमले किशोरीहरूलाई माध्यमिक तहसम्म निरन्तर पढ्न प्रेरित गर्नुका साथै आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। त्यस्तै, लैङ्गिक समानताको प्रवर्द्धनसहित किशोरीहरूका अधिकार, अवसर र क्षमता विस्तारमा सहयोग पु¥याइरहेको छ। साक्षरता कार्यक्रमको सन्दर्भमा उहाँले भन्नुभयो, “यो कार्यक्रम विशेष गरी प्रारम्भिक कक्षाका बालबालिकालाई आधारभूत पढाइ लेखाइमा दक्ष बनाउने, सिकाइको वातावरण निर्माण गर्ने र शिक्षक अभिमुखीकरणमार्फत शिक्षण पद्धति सुधार गर्ने हेतुले सञ्चालन गरिएको हो।”

बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत भोजसिंङ खड्काले कार्यक्रम लागू भएदेखि हालसम्मका गतिविधिहरूको विस्तृत रुपमा प्रस्तुतिकरण गर्नुभयो। उहाँले छात्राहरूको विद्यालयमा उपस्थिति दरमा उल्लेखनीय सुधार आउने जीवन उपयोगी सिप शिक्षाले उनीहरूमा आत्मविश्वास बढाउने र सामुदायिक स्तरमा लैङ्गिक समानताको चेतना फैलिने उल्लेख गर्नुभयो। उहाँले विद्यालयसँगको सहकार्य, अभिभावकहरूको सहभागिता र समुदायको साथले कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो।

साक्षरता कार्यक्रमका कार्यक्रम अधिकृत देव बहादुर ढेङ्गा मगरले कार्यक्रम सुरु भएदेखी अहिले सम्म आउदा गरेका असल अभ्यास चुनौती समाधान र सिकाईसङ्गै कार्यक्रमलाई आगामी दिनमा अझै राम्रो कसरी बनाउन सकिन्छ भन्ने योजनाको प्रस्तुतीकरण दिनुभएको थियो। साथै उहाँले सुरुमा विद्यालयको सिकाइ अवस्था कमजोर रहेको तर अहिले विद्यार्थीको पढ्ने, लेख्ने र बुझ्ने क्षमतामा स्पष्ट सुधार आएको बताउनुभयो। उहाँले शिक्षक तालिम, कक्षा कोठा व्यवस्थापन र सिकाइ सामग्रीको सृजनात्मक प्रयोगले सिकाइ वातावरणमा गुणात्मक सुधार आएको धारणा राख्नुभयो। “बालबालिकाको उपस्थितिमा बढोत्तरी, सिकाइमा रमाइलो वातावरणको सिर्जना र शिक्षकको सक्रिय भूमिकाले कार्यक्रम सकारात्मक दिशातर्फ अगाडि बढेको छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा सामाजिक परिचालकहरूले विद्यालयदेखि बालबालिकाको घरदैलोसम्म पुगेर गरेका काम, असल अभ्यास, चुनौती, समस्या समाधानका उपाय र सिकाइका विषयमा सामूहिक प्रस्तुति गरेका थिए। साक्षरता कार्यक्रमका सहजकर्ताहरूले पनि फोटो ग्यालरीमार्फत आफूले सञ्चालन गरेका गतिविधिको प्रगति र प्रभाव देखाएका थिए।

पिस नेपालकी लेखा तथा प्रशासन अधिकृत सिमा रानाले संस्थाको आर्थिक प्रगति तथा कार्य सम्पादनका क्रममा भोगिएका अनुभव, चुनौती र सिकाइ प्रस्तुत गर्नुभयो। उहाँले पारदर्शिता, जवाफदेहिता र स्रोत व्यवस्थापनमा अपनाइएको विधिबारे जानकारी दिँदै संस्थागत अभ्यासलाई थप मजबुत बनाउने सन्देश दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले रुम टु रिडले कपिलवस्तुको दशवटा पालिकामा प्रारम्भिक कक्षाका शिक्षकहरूको पेशागत विकास सहायता कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो। उहाँले बालिका शिक्षा तथा साक्षरता कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै भन्नुभयो, “हाम्रो कार्यक्रमले बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै उनीहरूलाई दीगो विकासका आधार तयार पार्ने लक्ष्य राखेको छ। यसले शिक्षालाई मात्र होइन, समग्र सामाजिक परिवर्तनलाई पनि गति दिन्छ।”

कार्यक्रमको समापन गर्दै पिस नेपालका सचिव शुभाकान्त भुषालले फिल्डमा कार्यरत कर्मचारीलाई उत्साहित गर्दै भन्नुभयो, “हामीले सामना गरिरहेका चुनौतीहरूबाट नडराई, सामूहिक रूपमा समाधान खोज्ने बाटो अवलम्बन गर्नुपर्छ। साक्षरता र बालिका शिक्षा कार्यक्रमले स्कुलका बालबालिकाको व्यवहार, सोचाइ र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याएको देखिन्छ।”

कार्यक्रममा रुम टु रिडका लेखा तथा प्रशासन अधिकृत शिवराज आचार्य, साक्षरता कार्यक्रमका कार्यक्रम अधिकृत दिल धामी, बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत निरोज कोइराला, पिस नेपालका बोर्ड सदस्य शिवकुमार लगायत फिल्डमा कार्यरत कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।भने कार्यक्रमको सन्चालन चन्द्रा बुढाले गर्नुभएको थियो।

यो कार्यक्रमले कपिलवस्तु जिल्लामा शिक्षा क्षेत्रमा प्रभावकारी हस्तक्षेप गर्दै बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बढाउँदै गएको छ।
रुमटु रिडको आर्थिक तथा प्राबिधिक सहयोग र पिस नेपालको सहकार्यमा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका , बुद्दभुमी नगरपालिका र कपिलवस्तु नगरपालिकाका १५ वटा स्कुलमा बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रम सन्चालन भएको छ भने साक्षरता कार्यक्रम ४८ वटा स्कुलमा सन्चालन भैइरहेको छ।














