सम्पादकीय : ट्राफिक नियममा कडाइ गर !

सुर्खेतमा पछिल्लो समय ट्राफिक उल्लघंनका घटनमा वृद्धि हुँदै गएका छन् । दिन प्रतिदिन सवारी चाप बढेसँगै ट्राफिक नियमको बेवास्ता गर्नेहरु पनि बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउछ । प्रहरीले सवारी कारवाहीबाट वर्षेनी संकलन गर्ने राजश्वले सडकमा ट्राफिक नियमको उल्लंघन बढ्दै गएको देखिन्छ । यसले सर्वसाधारणको जीवन मात्र होइन, सामाजिक र आर्थिक क्षेत्रमा पनि गम्भीर असर पारिरहेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूर अनुसार पाँच सय रूपैयाँदेखि ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने व्यवस्था छ । तर पनि ट्राफिक नियमको उल्लघंनमा कमि आउन सकेको छैन । सुर्खेतमा पछिल्लो समय सवारी साधन कारवाहीबाट राजश्व संकलनमा वृद्धि भएको छ ।
सुर्खेतमा तीन वर्षको अवधिमा ६२ हजार बढी सवारीले ट्राफिक नियम उल्लंघन गरी जरिवानामा परेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा मात्र १२ हजार पाँच सय १५ सवारी कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार आठ सय ४२ वटा सवारी साधन साधन कारवाहीमा परेका छन् ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १९ हजार ६ सय ३१ सवारी कारवाहीमा पर्दा आर्थिक वर्ष २०७८/०७९ मा १४ हजार सात सय दुई सवारी साधनले ट्राफिक नियम उल्लघंन गरेको आरोपमा जरिवाना तिरेका छन् । यसबाट राजश्व संकलनमा वृद्धि भएको छ । तर नियम उल्लघंन गर्नेबाट उठाइएको रकमले सरकारको आयस्रोत त बढ्ला तर सडक सुरक्षाको विषय भने पेचिलो बन्दै गएको छ । ट्राफिक नियम उल्लंघनमा मालवाहक, निजी र यात्रुवाहक सवारी साधन लगायतका साना र ठूला सवारी साधन छन् ।
सडकमा लापरवाही तरिकाले सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीलाई ट्राफिक प्रहरीले कारवाही गर्ने गरेको छ । ट्राफिक नियम उल्लघंन गर्नेहरुमा धेरै कागजपत्र नभएका सवारी कारवाहीमा पर्ने गरेका छन् ।
योसँगै मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकाले सवारी हाक्ने प्रवृत्ति बढ्दो छ ।
नम्बर प्लेट नभएका, हेल्मेट नलगाएका र कागजात नविकरण नगरेका व्यक्तिले ट्राफिक व्यवस्थापनलाई निकै चुनौती थपेका छन् । ट्राफिक नियमको जानकारी हुँदाहुँदै पनि त्यसलाई नियतवश पालना नगर्नेहरुबाट सवारी दुर्घटनाको उच्च जोखिम बढेको छ ।
अटेरी सवारी चालकका कारण ट्राफिक व्यवस्थापनमा प्रहरीलाई निकै चुनौती झल्नुपर्ने अवस्था छ । सडक सुरक्षाको जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै होइन । यसमा स्वयम चालक तथा पैदल यात्रु पनि जिम्मेवार बन्न आवश्यक छ ।
आम नागरिकले ट्राफिक नियमको पालन गरे मात्र पनि सवारी दुर्घटना, सवारी कारवाहीलाई कम गर्न सकिन्छ । जनचेतनामा वृद्धि, सडक संरचनाको सुधार, अपाङ्गमैत्री सडक, जेब्रा क्रसिङको प्रयोग लगायतका ट्राफिक नियम पालन गर्न सके सवारी दुर्घनामा कमि आउछ । सडकमा सुरक्षित यात्रा सुनिश्चित गर्न सवारी चालक, पैदल यात्री र ट्राफिक प्रहरी सबैको भूमिकामा सुधार आवश्यक छ ।
अर्को महत्वपूर्ण विषय कानुन बनाएर मात्र होइन, त्यसको कडाईका साथ कार्यान्वयन हुन जरुरी छ । ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि उचित कारबाही, डिजिटल प्रणालीको प्रयोगद्वारा निगरानी तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र विद्यालयतहदेखि नै ट्राफिक शिक्षालाई समावेश गर्न सके दीर्घकालीन समाधानको आधार बन्न सक्छ ।






