रातामाटे गाउँ सडक सञ्जालमा जोडिँदा स्थानीयमा खुशीयाली

सुर्खेत ,१२ पुस।
चाैकुने गाउँपालिका वडा नं. ६ स्थित रातामाटे गाउँ चाैकुने गाउँपालिका र स्थानीय बासिन्दाको सहकार्यमा सडक सञ्जालमा जोडिएको छ। करिब १० लाख रुपैयाँको लागतमा करिब २ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि रातामाटे गाउँमा आवतजावत सहज भएको हो।
सडक निर्माण भएसँगै निर्माण सामग्री ढुवानी, खाद्यान्न ओसारपसार तथा विद्यालय र स्वास्थ्य सेवासम्म पुग्न स्थानीय बासिन्दालाई ठूलो सहजता भएको छ। लामो समयदेखि सडक पहुँचको अभाव झेल्दै आएका स्थानीयले अब दैनिक जीवनयापन सहज बनेको भन्दै खुशी व्यक्त गरेका छन्।
नव निर्माण गरिएको सडकको स्थलगत अनुगमन चाैकुने गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकसहितको अनुगमन टोलीले गरेको थियो। अनुगमनका क्रममा टोलीले सडक पहुँच विस्तार भएसँगै रातामाटे क्षेत्रमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेको छ।
अनुगमन टोलीले सडक पहुँच पुगेपछि रातामाटेमा उत्पादन हुने अम्बा, सुन्तला, केरा, तोरीलगायत फलफूल तथा खाद्यान्न बालीले सहजै बजार पहुँच पाउने भएकाले स्थानीय बासिन्दालाई व्यावसायिक तथा सम्भावनायुक्त फलफूल र खाद्यान्न खेतीमा जोड दिन सुझाव दिएको छ।
सडक निर्माणले गाउँको समग्र विकासमा टेवा पुग्ने र स्थानीयको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ।


