तिजको बदलिँदो स्वरूप

गाेल्डेन बुढा
जुम्ला,१० भदौ।
कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक शुरू हुन्थ्यो। दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, बेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे। दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो। ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन् । मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे। जुम्लाको चन्दननाथ नगरपालिका -२ की ६६ वर्षीया रमादेवी उपाध्याय ती पुराना दिन सम्झिन्छिन् । उनी भन्छिन्, ‘गाउँमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो ।

अब त ती सबै हराउँदै गए। ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई यसरी गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन् ।’चन्दननाथ नगरपालिका -४ की ६३ वर्षीया तिलाकन्या चाैलागाईकाे सम्झनामा पनि उस्तै छ। उनी भन्छिन्, ‘पहिले तीजमा महिलाले आफ्ना पीडा पोख्थे। गीत गाउने माध्यम आफ्नै आवाज थियो। अहिलेका गीत त भड्किला हुँदै गए, मनको बोझ बिसाउने ठाउँ हराए।’विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू आमाजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव छ । ‘आजभोलि त हामीले मनाउने तिज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ’, उनले भनिन् । ‘तिजका नाममा छाडा गीतहरू निस्किएका छन् ।

कर्मघरमा सासुले दुखदिएका पीडा, माइत जान नपाएका गुनासा, घर गरिखान दुःख भएको बिलौना समेटिने तिज गीतमा अचेल यो स्वाद भेटिँदैन। सुनिनसक्नु छ अचेलका तिज गीत’ उनी भन्छिन् ।समय फेरियो। मादलको स्थान ‘साउण्ड सिस्टम’ र आधुनिक सङ्गीतले लियो। मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराएको बताउँछिन्। पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, विवाहपछि घरपरिवार र समाजबाट भोगेका पीडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु थिए। स्थानीय ५८ वर्षीया काली सुनारले विगत सम्झँदै भन्छिन्, ‘माइत जान पनि तीज नै कुर्नुपथ्र्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो। परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो। अब त मादलको भाका सुनिनै मुस्किल पर्छ।’पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठूलो परिवर्तन आएको छ।उनले भनिन्, ‘मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त देखिन छाडियो।’ पछिल्लो समय आधुुनियकतासँगै भाउजूनन्दका खप्की, सासू–बुहारीका कलह, आमा-छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तिजमा गाइने पुराना लयका गीत आजभोलि गाउँ–घरमा सुनिँदैनन् ।मौलिकता हराउँदै जाँदा सबैभन्दा ठूलो असर परेको छ।

यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छ।तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास हुनुपर्ने बुढापाका बताउँछन् ।आजकालको तिजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रियता हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तिजका गीतमा मौलिकता हराउन थालेको छ ।समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव देखिएको छ । पछिल्ला वर्षहरुमा खाने तिजको दरमा फरकपन देखिएको छ । तिजको दर भन्न बितिकै घिउँ,तेलमा पकाएको खाजा, खिर,कचाैरा भरी दुध, घिउ, दही, अचार, आलु, सिमीको तरकारी सम्झना आउथ्यो । माइतिको आगनमा जम्मा भएर दर खाने चलन थियो, तर अहिले त दर भन्न बित्तिकै मासु भातमा सिमित हुन थालेको छ ।धेरै ठाउँमा दर खाने कार्यक्रमहरु आयोजना हुन्छन । प्राय ठाउँमा दिदि बैनिहरु जम्मा हुने ठूूला ठूूला होटलहरुमा दर खाने कार्यक्रमको आयोजना गर्ने, मासु भात खाने अनि स्पिकर बजाएर नाच्ने चलनले कतै तिज पर्वको महत्व नै विस्तारै हराउँदै जाने त हैन भन्ने चिन्ता बढ्न थालेको छ ।

अझ दरको नाउमा मैना दिन अघि देखी ठूूलो धनरासी खर्च गरेर होटलहरुमा कार्यक्रम गर्ने महङ्गा महङ्गा गहना कपडाहरु लगाएर प्रदर्शन गर्ने गरेर यो पर्वलाई बिस्तारै भड्किलो गरी मनाउने चलन बढेर गएको छ ।
क्याप्सन: तिज मनाएको तस्बिर गाेल्डेन बुढा जुम्ला !






