मध्यवर्ती क्षेत्रका महिलाले पञ्चेबाजाबाट फेरे जीवनको लय

बाँके ,११ पुस ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका महिलाहरूले परम्परागत पञ्चेबाजाको संरक्षण र प्रवद्र्धनमार्फत आयआर्जनको नयाँ बाटो खोलेका छन् । वन्यजन्तु र वन संरक्षणसँगै महिलाको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले सुरु गरिएको यो प्रयास अहिले प्रभावकारी मात्र होइन, प्रेरणादायी बन्दै गएको छ ।

नेपाली सांस्कृतिक पहिचानको महत्वपूर्ण अङ्ग मानिने पञ्चेबाजा आधुनिक संगीत र प्रविधिको प्रभावसँगै ओझेल पर्दै गएको सन्दर्भमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का महिलाहरूले यसलाई संरक्षण गर्दै आम्दानीको बलियो स्रोत बनाएका छन् । पहिले घरधन्दा र जंगलमा निर्भर दैनिकीमा सीमित महिलाहरू अहिले पञ्चेबाजाको तालमा आत्मनिर्भर जीवनतर्फ अघि बढिरहेका छन् ।
पञ्चेबाजा टिमकी दिया बस्नेतका अनुसार, “हामी पहिले जंगलबाट स्याउला–सोत्तर ल्याएर गुजारा चलाउँथ्यौं । अहिले बाजा बजाएर आम्दानी गर्न पाउँदा आत्मसम्मान बढेको छ ।” तराई भूपरिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत महिलाहरूलाई बाजा बजाउने तालिम, आवश्यक सामग्री र समूह व्यवस्थापनमा सहयोग गरिएको थियो । यही सहयोगले महिलाहरूको सीप विकास मात्र होइन, पहिचान पनि फेरिएको छ ।
!
पञ्चेबाजा टिमकी मैसरा खत्री भन्छिन्, “पहिले हामीलाई कसैले चिन्दैनथ्यो, अहिले विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा बोलाइन्छ ।” पञ्चेबाजा लिएर उनीहरू बर्दिया, सुर्खेत, दाङ र सल्यान लगायतका जिल्लाहरूमा जाने गरेका छन् । एक कार्यक्रममा पञ्चेबाजा बजाएबापत ३० हजारदेखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्, जसले महिलाहरूको आर्थिक अवस्था उल्लेख्य रूपमा सुधारिएको छ ।
समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन आएको पञ्चेबाजा समूहकी धनमाया बिष्ट बताउँछिन् । “पहिले घरभित्र सीमित हामी अहिले बाहिर गएर काम गर्छौं, कमाउँछौं। समाजले सम्मान गर्न थालेको छ,” उनले भनिन् । आम्दानीसँगै आत्मविश्वास बढेपछि महिलाहरू सामूहिक निर्णय र सामाजिक गतिविधिमा पनि सक्रिय हुन थालेका छन् ।
पञ्चेबाजा संरक्षण समूहकी अध्यक्ष भिमा बिष्टका अनुसार, संरक्षण र आयआर्जनलाई सँगै जोड्ने यो पहलले महिलालाई थप हौसला दिएको छ । “संस्कृति जोगाउँदै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हामीले देखाएका छौं,” उनले बताइन् । पञ्चेबाजाको अभ्याससँगै उनीहरू सांस्कृतिक सचेतना फैलाउने र पर्या–पर्यटन प्रवद्र्धनमा समेत जुटिरहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती उपभोक्ता समूहअन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का महिला समूहहरू पछिल्लो समय पञ्चेबाजालाई दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्दै लगेका छन् । संरक्षण र जीविकोपार्जनलाई एकसाथ जोड्ने तराई भूपरिधि तथा संरक्षण कार्यक्रमको यो पहलले पञ्चेबाजा केवल बाजा मात्र नभई महिलाको सशक्तीकरण र समृद्धिको लय बनेको छ ।






