राजनीति नैतिकताको धरातलमा उभिनुपर्नेमा जोड

सुर्खेत ,१० पुस।
नागरिक समाजका अगुवा तथा टंकप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले राजनीति नैतिकताको धरातलमा उभिनुपर्नेमा दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक पूर्व आयुक्त समेत रहेका प्याकुरेलले राजनीतिक दल समयानुकूल हुन नसके प्रजा परिषदको हालतमा अहिलेका दल हुनसक्ने बताए । नेपालको सबैभन्दा पुरानो पार्टी समयानुकूल हुन नसक्दा १९९३ सालमा स्थापना भएको पुरानो पार्टी अहिले खोजेर नभेटिने बताए ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले पुस ९ गते वीरेन्द्रनगरमा आयाजित निर्वाचन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व आयुक्त प्याकुरेलले सरकारको अर्जुन दृष्टि चुनाव केन्द्रित हुनुपर्ने बताउदै सरकारले पुराना दललाई रुष्ट गराउन नहुने बताए । हामीहरु सिद्धान्त र नैतिकतामा उभिनु पर्छ भन्दै भदौ २३ र २४ गतेको घटनमा राज्य असफल भएको बताए । उक्त घटनाको जिम्मेवारी तत्कालीन सरकार प्रमुखले लिनुपर्ने प्याकुरेलको धारणा थियो ।
हामीसँग भएका संवैधानिक आयोगलाई बलियो बनाउनु पर्नेमा सरकार भएका आयोगलाई कमजोर बनाउँदै अन्य आयोग गठन गर्ने गरेको प्याकुरेलले बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुशील थापाले निर्वाचन लोकतन्त्रका लागि अपरिहार्य भएको बताए । विधिको शासन आवश्यक रहेको उल्लेख गर्दै एमाले चुनावबाट भाग्न नखोजेको स्पष्ट पारे ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिमाया शर्माले यस पटकको निर्वाचनमा पार्टीले २० प्रतिशत युवालाई उम्मेदवार सिफारिस गरिने बताइन । नेपाली कांग्रेसका उपसभापति टोपबहादुर रावतले कांग्रेसले निर्वाचनमा जाने निर्णय केन्द्रिय समितिबाट भइसकेको र पार्टी भित्र युवा पुस्ताको उल्लेखनीय सहभागिता रहेको बताए । राष्टिय स्वतन्त्र पार्टीका सह महामन्त्री तथा कर्णाली प्रदेशका प्रवक्ता हरि अधिकारीले जेन जेड उमेर समूहका पुस्तालाई डरलाग्दो होइन रहर लाग्दो हुनुपर्ने उल्लेख गर्दै यो निर्वाचनपछि पनि युवाले नेतृत्व गर्न नसेक जेन जेड आन्दोलनको औचित्य नहुने बताए ।
जेन जेड अगुवा तथा कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीले जेनजेडलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताइन् । निर्वाचन सफल बनाउन हरेक क्षेत्रले भूमिका खेल्नु पर्ने भन्दै न्यायका लागि अझै संघर्ष गर्नुपर्ने धारण राखिन । आगामी निर्वाचनमा राजनीतिक दलले युवालाई प्राथमिकतामा राखेर आगामी निर्वाचनमा उम्मेदार बनाउनु पर्नेमा उनले जोड दिइन । जेन जेड अभियान्ता प्रकाश खड्काले जेन जेडलाई आतंककारीको रुपमा चित्रण गर्नु गलत भएको बताए ।
राजनीतिक दलले जेन जेड प्रति आग्रह पूर्वाग्रह नराखी अभिभावकीय भूमिका निर्वाह गर्न युवाहरुले सुझाव दिनु भयो नेपाल जेन जेड फ्रन्टका आदर्श विक्रम सिंहले राजनीतिक दलको सिण्डीकेट अन्त्य हुनुपर्नेमा जोड दिए ।
इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचनका विषयमा सरोकारवाला निकायबीच साझा बुझाई बनाउदै एक आपसमा संवाद, विश्वास र सहकार्य निर्माणका लागि कार्यक्रमको आयोजना गरिएको बताए । गैसस महासंघका प्रदेश अध्यक्ष घनश्याम केसीले निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र हुनुपर्नेमा जोड दिए । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी जेड जेन आन्दोलनपछि कर्णालीमा २६ हजार नयाँ मतदाता थपिएको बताए ।






