कर्णाली उडान व्यवस्थापनमा समस्या

गाेल्डेन बुढा
जुम्ला,७ पुस।
नेपाल एयरलाइन्सले कर्णाली क्षेत्रमा सञ्चालन गर्ने जहाजका लागि आवश्यक प्राविधिक दरबन्दी स्थानीय रूपमा कायम नगर्दा यात्रु, कर्मचारी र संस्थालाई नै दोहोरो मार परेको पाइएको छ। जहाजमा तेल भर्ने तथा प्राविधिक परीक्षण गर्ने कर्मचारीहरू काठमाडौंबाट जहाजमै आउजाउ गर्न बाध्य हुँदा एकातिर यात्रुका लागि उपलब्ध सिट घट्दै गएका छन् ।
भने अर्कोतिर संस्थाको खर्चसमेत अनावश्यक रूपमा बढिरहेको छ।स्रोतका अनुसार काठमाडौंबाट जहाजसँगै आउने दुई जना कर्मचारी (एक जना इन्जिनियर र एक जना प्राविधिक) ले जहाजमै यात्रा गर्नुपर्ने बाध्यताका कारण कर्णालीका जिल्लामा उडान गर्दा १९ सिट क्षमताको जहाजमा १६–१७ सिट मात्र यात्रुलाई उपलब्ध हुने गरेको छ। सुर्खेत र नेपालगञ्जमा स्थायी दरबन्दी नहुँदा ती कर्मचारी दिनभर जहाजमै घुमिरहने, जहाजबाटै सुर्खेत, नेपालगञ्ज र अन्य जिल्लामा पुगेर सेवा दिने गरेका छन्।नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार ती कर्मचारीको दरबन्दी नहुँदा जहाजसँगै आउने र काम सकेपछि पुनः काठमाडौंबाटै फर्किने व्यवस्था गरिएको छ।नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख यमराज सिंहका अनुसार सुर्खेतमा फ्युलिङका लागि कम्तीमा एक जना प्राविधिक र नेपालगञ्जमा उडानपूर्व परीक्षणका लागि एक जना इन्जिनियर आवश्यक हुन्छ। “यो दरबन्दी यहीँ कायम गर्न माग गरिएको छ,” उनले भने, “तर अहिलेसम्म निर्णय भएको छैन।”दरबन्दी नहुँदा नागरिकले पाउने सिट कटौती हुनुका साथै कर्मचारीको भाडा, बसोबास र अन्य खर्च पनि बढिरहेको छ। नेपाल एयरलाइन्स जुम्लाका प्रमुख उमाकान्त अधिकारीका अनुसार यात्रुको संख्या जहाजमा कति तेल आवश्यक पर्छ? भन्ने आधारमा तय हुने भएकाले कर्मचारी सँगै आउँदा यात्रु घटाउनुपर्ने अवस्था आएको हो।हाल नेपाल एयरलाइन्सको ट्विनअटर जहाज काठमाडौंबाट रुकुम हुँदै नेपालगञ्ज आइपुग्ने र त्यसपछि कर्णालीका विभिन्न जिल्लामा सेवा दिने गरेको छ। यस क्रममा एक जना इन्जिनियर काठमाडौंबाटै आउँछन्, एक जना नेपालगञ्जमै बस्छन् भने अर्को प्राविधिक जहाजमै नेपालगञ्ज–जुम्ला–सुर्खेत हुँदै पुनः नेपालगञ्ज फर्किन्छन्। यही प्रक्रिया कर्णालीभर निरन्तर दोहोरिने गरेको छ।नेपाल एयरलाइन्सकी सहप्रवक्ता कल्पना काफ्लेले यस विषयमा विस्तृत रूपमा बुझेर जानकारी दिने बताइन्।यसैबीच, कर्णाली र सुदूरपश्चिममा सञ्चालन हुने नेपाल एयरलाइन्सको ट्विनअटर जहाज काठमाडौँमै बास बस्दा यात्रुले थप सास्ती भोग्नुपरेको छ। काठमाडौंबाट समयमै जहाज नआउँदा जुम्ला, हुम्ला, मुगुजस्ता जिल्लाका उडान पटक–पटक रद्द हुने गरेका छन्।सेवाग्राहीका अनुसार दिउँसो मौसमी कारण देखाएर उडान रद्द हुनु सामान्य भए पनि बिहानै १० बज्नुअघि नै काठमाडौंबाट नआएको भन्दै उडान रद्द गर्नु अन्यायपूर्ण हो। आइतबार काठमाडौंबाट रुकुम हुँदै नेपालगञ्ज आउने जहाज यस साता काठमाडौँमै रोकिँदा कर्णालीका जिल्लामा उडान रद्द भएको छ।राष्ट्रिय मानव अधिकार आयोगका नायब सुब्बा राजकुमार विश्वकर्माले आइतबार जुम्लाबाट सुर्खेत जान टिकट काटे पनि जहाज काठमाडौँमै रोकिँदा यात्रा रद्द भएर दुःख पाएको बताए। “जहाज समयमै नेपालगञ्ज आइपुगेको भए दिउँसो पनि उडान सम्भव हुन्थ्यो,” उनले भने।नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख सिंहले आइतबार मौसमी प्रतिकूलताका कारण जहाज काठमाडौंबाट आउन नसकेको बताए। तर नेपालगञ्जमा जहाज बास बस्ने विषय नीतिगत भएकाले आफ्नो तहबाट निर्णय गर्न नसकिने उनको भनाइ छ।नेपाल एयरलाइन्स जुम्लाका प्रमुख अधिकारीका अनुसार टिकट काटिसकेका यात्रुलाई उडान रद्दको सूचना दिनु नै ठूलो चुनौती बनेको छ।
नेपाल नागरिक उड्डयन कार्यालय जुम्लाले हिउँदमा नेपालगञ्जमा कुहिरो लाग्ने कारण देखाए पनि सेवाग्राहीले “जहाज नै काठमाडौँमा हुँदा कुहिरोको बहाना” गरिएको गुनासो गरेका छन्।हाल जुम्ला–सुर्खेत उडान पुनः सञ्चालनमा आएपछि केही सहजता आएको भए पनि स्थायी दरबन्दी र जहाजको स्थानीय बासको व्यवस्था नगरेसम्म कर्णालीका यात्रुको समस्या समाधान नहुने सेवाग्राहीको निष्कर्ष छ।






