मुस्लिम समुदायमा दाइजो र बालविवाह अन्त्यका लागि धर्मगुरु सक्रिय

बाँके २ भदौ।
मुस्लिम समुदायमा बढ्दै गएको दाइजो प्रथा र बालविवाह अन्त्य गर्न धर्मगुरुहरू सशक्त अभियानमा उत्रिने भएका छन्। नेपालगञ्जमा उलेमा काउन्सिल नेपालले आयोजना गरेको जिल्ला अधिवेशन तथा दाइजो उन्मूलन कार्यक्रममा सहभागी धर्मगुरुहरूले सामाजिक कुप्रथा अन्त्यका लागि दृढ प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले दाइजोका कारण छोरीहरू शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसाको सिकार हुने र विवाह टारिनुपर्ने अवस्था सिर्जना भएको बताए। उनले धर्मगुरुहरूको अभियानले मुस्लिम समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उलेमा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ति कैफुलवरा खानले दाइजो प्रथा छोरीको शिक्षा र विवाहमा ठूलो अवरोध बनेको भन्दै ‘छोरी पढाऔं, विवाहमा सहयोग गरौं’ अभियान सुरु गर्ने घोषणा गरे। उनका अनुसार दाइजो प्रथा बढ्दै जाँदा बालविवाह पनि बढ्ने भएकाले दुवै अन्त्यका लागि धार्मिक नेतृत्व एकजुट भएर लाग्नेछ।
लुम्बिनी प्रदेशका प्रतिनिधि कारी कमरुद्दीनले महिला हिंसाको जरो दाइजो प्रथामै रहेको उल्लेख गर्दै यसलाई अन्त्य गर्न धार्मिक नेतृत्व निर्णायक रूपमा अघि बढ्ने बताए।
अधिवेशनले मौलाना नसीरुद्दीन अंसारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। कार्यक्रममा नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर, मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद हारुन हल्वाइसहित बाँके–बर्दियाका धर्मगुरु र सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।





