अन्तर्राष्ट्रिय आप्रवासन दिवस बिद्यार्थीसंग अन्तरक्रिया गरि मनाईयाे

हस्त चाैलागाँई
कालिकोट ,३ पुस।
देशभर जस्तै कालिकाेटमा पनि स्थानीय तहले प्रत्येक वर्ष डिसेम्बर १८ तारिखमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउछन् । खाँडाचक्र नगरपालिका राेजगार सेवा केन्द्रकाे आयाेजना तथा जिल्ला प्रशासन कार्यालय कालिकाेटकाे समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस बिद्यार्थीसंग अन्तरक्रिया गरि मनाएकाे छ । कालिकोटको खाँडाचक्र नगरपालिका–५ स्थित श्री चुलिमालिका माध्यमिक विद्यालयमा बिद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

सुरक्षित, व्यवस्थित र सम्मानजनक आप्रवासनको महत्वबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे आप्रवासी स्राेत केन्द्र परामर्श कर्ता राज कुमारी शाहीले जानकारी दिएकी छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिप बहादुर शाहीले अतिथिहरुलाई शुभकामना ब्यक्त गर्दै “आप्रवासन बाध्यता होइन, सही जानकारी, सीप र तयारीसहितको सचेत निर्णय हुनुपर्ने बताउदै सुरक्षित बाटो रोजे भविष्य सुरक्षित हुन्छ भन्नेमा जाेड दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख हेम बहादुर खत्रीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत गराउँदै, “आप्रवासनका क्रममा गलत सूचनामा परेर धेरै युवाहरू ठगिने गरेकाे बताएका छन् । कुनै पनि प्रलोभनमा नपरी आधिकारिक निकायमार्फत मात्र प्रक्रिया अगाडि बढाउन उचित हुने बताएका छन् ।
कार्यक्रममा वैदेशिक रोजगारीका अवसर र चुनौती, आप्रवासनका कानुनी प्रक्रिया, सुरक्षित आप्रवासन, मानव तस्करी तथा ठगीबाट जोगिने उपायलगायत बिषयमा छलफल गरिएकाे खाँडाचक्र नगरपालिका राेजगार संयाेजक बल बहादुर शाहीले बताए । बिद्यार्थीलाई आप्रवासनसम्बन्धी सही ज्ञान, जोखिम न्यूनीकरण र उज्ज्वल भविष्य निर्माणतर्फ प्रेरित गर्ने कार्यक्रमकाे लक्ष रहेकाे शाहीले बताए ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुयँलले बिद्यार्थीहरुलाई देशमै सीप सिकेर केही गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी सुयँलले बिद्यार्थीहरूलाई यदि वैदेशिक राेजगारमा जानै परे सही सूचना र कानुनी प्रक्रिया पूरा गरेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दै, जोखिमपूर्ण र अवैध बाटोबाट हुने आप्रवासनले गम्भीर समस्या सिर्जना गर्ने बताए। युवाले सीप विकास र जानकारीमा आधारित निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

खाँडाचक्र नगरपालिका ५ का वडा अध्यक्ष देउराम कामी बिकले आप्रवासनसम्बन्धी सचेतना कार्यक्रम बिद्यार्थी तहबाटै आवश्यक रहेको बताउँदै, यस्ता कार्यक्रमले भविष्यमा सुरक्षित र जिम्मेवार नागरिक तयार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।
अन्तरक्रियाका क्रममा बिद्यार्थीहरूले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक कागजात, सीप परीक्षण, स्वास्थ्य परीक्षण, श्रम सम्झौता, बीमा तथा सरकारी सेवासुविधाबारे जिज्ञासा राखेका थिए। वक्ताहरूले ती जिज्ञासाको व्यवहारिक उत्तर दिँदै सुरक्षित आप्रवासनका उपायबारे जानकारी गराएका हुन ।
कार्यक्रममा खाँडाचक्र नगरपालिका–५ का वडा अध्यक्ष देउराम कामी बिकको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको प्रमुख आतिथ्यता ,प्रहरी प्रमुख हेम बहादुर खत्री,बिद्यालयका प्रधानाध्यापक दिप बहादुर शाहीकाे विशेष आथित्यामा कार्यक्रम गरिएकाे हाे ।
अन्तरक्रिया कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द चाैलागाँई,शिक्षक,बिद्यार्थीहरु सहित सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।






