सुदूरपश्चिमको विकासलाई छुट्टै रुपमा हेर्छौंः मन्त्री घिसिङ

महेन्द्रनगर, २ पुस ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुदूरपश्चिमको विकासलाई छुट्टै रुपमा हेरेर वर्तमान सरकार अघि बढ्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यहाँको जलस्रोत, व्यापारिक नाका विस्तार, पर्यटन र विद्युतीय क्षेत्रको विकासका लागि काम भइरहेको बताए ।
“महाकाली नदीमा चार लेनको पुलको तटबन्ध बनाउने विषयमा केही समस्या रहेछ, तत्काल केही निर्णय गरेर अगाडि बढ्छौँ”, उनले भने, “देशका लागि करिडोरहरू महत्पवूर्ण छन् । राज्यले विशेष रुपमा हेर्नुपर्छ ।”
उनले यहाँको विद्युत् क्षेत्रको सुधार र विस्तारका लागि आफू काम गरिरहेको बताउनुभयो । “छोटो समयका लागि सरकारमा आएको छौँ सके जति गर्छौं”, उनले भने, “आगामी सरकारपछि पनि हामी आएपछि सुदूरपश्चिमको सम्भावनालाई गति दिन्छौँ ।” उनले सुदूरपश्चिमबाट विकासका धेरै काम अघि बढिरहेको जानकारीसमेत जानकारी दिए ।
मन्त्री घिसिङले राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरबाट पानी भित्र्याउन भारतसित समन्वय भइरहेको बताउँछन । लगानीको प्रतिफल भएन भन्ने छ”, उनले भने, “महाकाली नदीको पानी मूल नहरबाट भर्ने विषय हो, यस विषयमा भारतीय पक्षसित पत्राचार पनि भएको छ ।”
महाकाली सन्धिअनुसार टनकपुर ब्यारेकमा हेडरेगुलेटर र नेपाली सिमानासम्म एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । तर भारतले पानी परीक्षणका क्रममा यहाँ पानी छाडिए पनि नियमित भने दिएको छैन ।
त्यसैगरी स्वागत कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले महाकाली करिडोर निर्माणका तिव्रता दिन आग्रह गरे । “करिडोरको काम समयमा नहुँदा हामी व्यवसायले मार खेप्नुपरेको छ”, उनले भने, “करिडोर बने यहाँका नागरिकहरूलाई सुविधा पनि पुग्नेछ ।” करिडोरलाई त्रिदेशीय नाका र सुक्खा बन्दरगाह निर्माणको काममा सहजता प्रदान गरिदिन ध्यानाकर्षण गराए ।






