चन्दननाथ नगरपालिकामा दमकल थन्कियो, जनप्रतिनिधि चढ्ने गाडी चले

गाेल्डेन बुढा
जुम्ला,२ पुस।
आगलागी नियन्त्रणका लागि प्रयोग हुने दमकल तीन महिनादेखि मर्मत नहुनु चन्दननाथ नगरपालिकाको प्रशासनिक क्षमतामाथि मात्र होइन, जनप्रतिनिधिको प्राथमिकतामाथि समेत गम्भीर प्रश्न उठ्ने अवस्था बनेको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड भएको नगरपालिकाको दमकल अझै सञ्चालनमा आउन सकेको छैन, जबकि जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारीसाधन भने पहिल्यै मर्मत भई सडकमा गुडिरहेका छन् ।
आन्दोलनका क्रममा दमकल, एम्बुलेन्स, शववाहन, डोजर, जीप, हाइलेक्स र स्कारपियोसहित ११ वटा मोटरसाइकल र स्कुटरमा तोडफोड गरिएको थियो । साथै कार्यालयभित्र रहेका कम्प्युटर, एलसीडी, डिजिटल नागरिक वडापत्र, टोकन मेसिन, प्रिन्टर, फर्निचर र नगर प्रहरीका सामग्रीसमेत नष्ट भएका थिए । नगरपालिकाको आन्तरिक विवरणअनुसार ९८ लाख ७३ हजार तीन सय ८३ रुपैयाँभन्दा बढी क्षति भएको छ, जसमा सबैभन्दा बढी ७९ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ बराबरको क्षति सवारीसाधनमै छ ।तर क्षतिको परिमाणभन्दा गम्भीर प्रश्न क्षति मर्मतको प्राथमिकतामा देखिएको फरक व्यवहार हो । एम्बुलेन्स र शववाहन मर्मत भई सञ्चालनमा आइसकेका छन् । जनप्रतिनिधि र कर्मचारी चढ्ने गाडी पनि चाँडै बनाइयो । तर आगलागी नियन्त्रणजस्तो अति संवेदनशील सेवामा प्रयोग हुने दमकल भने तीन महिनासम्म थन्किएको छ ।यता चन्दननाथ नगरपालिका –६ स्थित रावल वर्कसपमा एक हप्तादेखि दमकल राखिएको छ ।

वर्कसप सञ्चालक विन्दास रावलका अनुसार अगाडिको सिसा जडान भइसकेको छ, केही पार्टपुर्जा आउन बाँकी भएकाले मर्मत ढिलिएको हो । “अब एक हप्तामा काम सकिन्छ,” उनको भनाइ छ ।तर स्थानीयवासी यो ढिलाइलाई प्राविधिक कारण मात्र मान्न तयार छैनन् । स्थानीय हर्कबहादुर रोकायाले जनप्रतिनिधिले सार्वजनिक सरोकारका साधनभन्दा आफू चढ्ने सवारीलाई प्राथमिकता दिएको आरोप लगाए । “दमकल नहुँदा आगो लागे कसले निभाउने ?,” उनले भने, “यो त नागरिकको सुरक्षामाथि खेलबाड हो ।”चन्दननाथ नगरपालिका –६ का धनबहादुर थापाका अनुसार दमकल नबन्नु केवल प्रशासनिक कमजोरी होइन, संवेदनशीलताको अभाव हो । “आगोले केही मिनेटमै बस्ती सखाप पार्न सक्छ,” उनले भने, “तर तीन महिनासम्म दमकल नबन्नु दुर्भाग्यपूर्ण छ ।”चन्दननाथ–१० का राजबहादुर खत्रीले नगर नेतृत्वको भूमिकामाथि प्रश्न उठाए । “आफू चढ्ने गाडी छिटो बनाउने तर नागरिकको जीवन र सम्पत्ति जोगाउने दमकल छाड्नु कस्तो शासनशैली हो ?,” उनले प्रश्न गरे ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भने दमकल मर्मत प्रक्रियामै रहेको दाबी गरे । “अन्य सवारीका पार्टपुर्जा नेपालमै पाइन्छन्, दमकलका केही सामान भारतको दिल्लीबाट मगाउनुपर्ने भएकाले ढिलाइ भएको हो,” उनले भने । तर उनले तीन महिनासम्म प्रक्रिया किन अघि बढेन भन्ने प्रश्नको स्पष्ट जवाफ दिएनन् ।महिला अधिकारकर्मी दिलमाया शाहीका अनुसार दमकलजस्तो अत्यावश्यक साधन मर्मतमा ढिलाइ हुनु प्रशासनिक कमजोरी मात्र होइन, नागरिकको जीउज्यान र सम्पत्तिप्रति देखाइएको असंवेदनशीलता हो ।
“स्थानीय सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा हो,” उनले भनिन्, “यहाँ त्यो दायित्व गौण बनाइएको देखिन्छ ।”जुम्लाजस्तो हिमाली जिल्लामा आगलागी नियन्त्रणका वैकल्पिक साधन सीमित छन् । दमकल सञ्चालनमा नआउँदा सिङ्गो नगर आगलागीको जोखिममा छ । तर तीन महिना बितिसक्दा पनि दमकल मर्मत नहुनु प्रशासनिक ढिलासुस्ती हो वा प्राथमिकतामा गरिएको उपेक्षा यो प्रश्न अझै अनुत्तरित छ ।





