नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

रुकुम पश्चिम,२४ मंसिर ।
रुकुम पश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले त्रिवेणी गाउँपालिका –३ को झुल्नेटामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बुधबार भएको शिविरबाट ३४८ सर्वसाधारणले सेवा पाएका छन् ।
शिविरबाट स्वास्थ्य परिक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा साझा मुराल अस्पताल प्रा.लि, त्रिवेणी गाउँपालिका र जिल्ला अस्पताल रुकुमपश्चिमको सहयोगमा शिविर सम्पन्न गरेको जनाएको छ ।
चण्डीदल गणका सह सेनानी अशोकराज मिश्र अनुसार शिविरबाट २३१ जना महिला र ११७ जना पुरुषले सेवा लिएका छन् । जसमध्य ३३ जना बालालिका, ४६ जना जेष्ठ नागरिक र २६९ जना अन्य उमेर समुहका रहेका छन् । शिविरबाट नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको थियो ।
गाउँमै शिविर मार्फत निःशुल्क सेवा पाउँदा यहाँ सर्वसाधारणहरु खुसी भएका छन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसीले गाउँमै दक्ष चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको भन्दै खुशी व्यक्त गरे ।
आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोगको शिकार भईरहेका जनताले गाउँमै सेवा पाउँदा उनीहरुसमेत खुशी रहेको उनले उल्लेख गरे । निःशुल्क स्वास्थ्य जाँच, परामर्श र औषधि समेतको व्यवस्थाबाट सर्वसाधारणहरुमा ठुलो राहत भएको अध्यक्ष केसीले बताए ।
श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा. भण्डारी, डा. दिपक पुन लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न शिविरमा रुकुमपश्चिमसँगै सल्यान जिल्लाका सर्वसाधारणहरुले समेत सेवा पाएका छन् ।






