विपद् पोर्टल अद्यावधिक गर्न तालिम
सुर्खेत, २५ जेठ ।
विपद् पोर्टल अद्यावधिक तथा अभिलेखिकरण सम्बन्धि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी सुपर–२ परियोजनाको प्राविधिक सहयोगमा सुर्खेत जिल्लाको विपद् पोर्टल संचालन तथा स्थानियकरण विषयक दुई दिने तालिम सम्पन्न भएको हो ।
२०८२ जेठ २२ देखि २३ सम्म चलेको दुई दिने तालिममा सुर्खेत जिल्लाका आठ स्थानयि तहका विपद् सम्पर्क व्यक्ति तथा सुचना प्रविधि अधिकृतहरु, जिल्ला आपतकालिन कार्य संचालन केन्द्र, प्रदेश आपतकालिन कार्य संचालन केन्द्रका सम्पर्क व्यक्तिहरु तालिममा सहभागी थिए ।
क्षमता विकास तालिममा विपद् सूचना प्रणालीलाई व्यवस्थापन र अधावधिक गर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार गरिएको विपद् पोर्टल अन्तर्गत विभिन्न ११ ड्यासबोर्ड मध्य अति महत्वपुर्ण ६ ड्यासवोर्डका बारेमा व्यवहारिक अभ्याससँगै विपद्जन्य घटनाहरुको अभिलेखिकरण गर्न सिकाइएको थियो ।
विपद्का घटनाको लेखाजोखा गर्न स्थानीय तह, प्रदेश सरकार र जिल्ला आपतकालिन संचालन केन्द्र जिम्मेवार हुने हुँदा आगामी दिनमा यस तालिमले विपद्का तथ्यांक अभिलेखिकरण गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रमको सहजिकरण यूएनडिपी सुपर–२ परीयोजनाका प्रदेश संयोजक कृष्ण चापागाईले गरेका थिए । उनले विपद्, प्रकोप, आपतकालिन, संकटासंन्न र सम्मुखता र विपद् न्यूनिकरण तथा व्यवस्थापन सम्वन्धी भएका कानुनी व्यवस्थाका बारेमा सहजिकरण गरेका थिए । यस्तै, प्रशिक्षक उज्वल अधिकारीले विपद् पोर्टलमा भएका विभिन्न तथ्यांक, पालिकाहरुको आपतकालिन संचालन केन्द्रमा विपद्को तयारीका सामाग्री तथा विपद् पोर्टलमा अपडेटको विषयमा जानकारी गराएका थिए ।