भारत–पाकिस्तानबीचको तनावपछि बाँके–बर्दिया सीमामा सुरक्षा सतर्कता

बाँके २५, बैशाख ।
भारत र पाकिस्तानबीच चर्किँदै गएको तनावसँगै नेपाल-भारत सीमासँग जोडिएका बाँके र बर्दिया जिल्लाका सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ) ले उच्च सतर्कता अपनाएको छ। खुला सीमाका कारण नेपालतर्फ हुन सक्ने अवैध घुसपैठ र आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन एपीएफ सतर्क भएको हो।
राष्ट्रिय सुरक्षा समितिको बुधबार बसेको बैठकले भारत–पाकिस्तानबीचको बढ्दो तनावले नेपालमा पार्न सक्ने असरको विश्लेषण गर्दै नयाँ सुरक्षा रणनीति निर्माण गरेर कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सीमाक्षेत्रमा सुरक्षालाई थप कडाइ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
जोखिमपूर्ण क्षेत्रहरूमा निगरानी बढाइएको छ भने सीमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन एपीएफका सबै बाहिनीपतिलाई विशेष निर्देशन दिइएको बताइएको छ। सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूको परिचयपत्र जाँच गरी अभिलेख राख्ने कार्यसमेत भइरहेको एपीएफले जानकारी दिएको छ।
सुरक्षा व्यवस्थालाई सशक्त बनाउन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचनाको आदान–प्रदान भइरहेको बताइएको छ। सीमाक्षेत्रलाई व्यवस्थित गर्दै अवैध गतिविधिमा संलग्न हुने तत्वहरूलाई नियन्त्रणमा ल्याउन सबै सुरक्षा निकाय एकजुट भएर काम गरिरहेका छन्।
L






