२०८२ फाल्गुन ५ गते
×

Now Playing

जङ्गली हात्तीको जोखिम न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जमा साइरन जडान

सरला सुवेदी ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न नयाँ पहल सुरु गरिएको छ । जङ्गली हात्तीको आक्रमणका कारण जोखिममा रहेका बस्तीमा अब पूर्व–सूचनामा आधारित साइरन प्रणाली जडान गरिएको छ । यसले नागरिकलाई हात्तीको आगमनको बारेमा जानकारी गराउँदै सुरक्षा सतर्कता अपनाउन मद्दत गरेको छ ।

राप्तिसोनारी गाउँपालिका–९ को बुच्चापुर क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बारम्बार हुने गरेको छ । यस समस्यालाई समाधान गर्न जेडएसएल नेपालले पूर्व–सूचना प्रणालीअन्तर्गत साइरन जडान गरेको छ । साइरन बज्नेबित्तिकै बस्तीका नागरिकले हात्तीको उपस्थिति थाहा पाउँछन् । यसले उनीहरूलाई सचेत गराउनुका साथै हात्तीलाई धपाउन एकजुट हुने अवसर प्रदान गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका बस्तीहरूले जङ्गली हात्तीको आक्रमणबाट विगतमा ठूलो मानवीय र आर्थिक क्षति बेहोर्दै आएका थिए । तर अहिले साइरन प्रणालीले हात्ती–मानव द्वन्द्व कम गर्न सहयोग पु¥याएको जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा २५ भन्दा बढी जङ्गली हात्ती छन् । जंगलमा आहारा पर्याप्त नहुँदा हात्तीले बस्तीमा प्रवेश गरेर घर, अन्नबाली, र संरचनामा क्षति पुर्याउने गरेका छन् । यद्यपि, साइरन प्रणालीले यस खतरालाई न्यूनीकरण गरेको छ । बुच्चापुर हात्तिसार केन्द्रका कर्मचारी शालिकराम यादवका अनुसार अब साइरन जडानपछि बस्तीका नागरिक समयमै सावधानी अपनाउन सक्षम भएका छन् ।

स्थानीय संरक्षणकर्मी शान्ति चौधरीका अनुसार, बस्तीलाई सुरक्षित राख्न तारबार गरिए पनि जङ्गली हात्तीले बस्तीमा आक्रमण गर्न छाडेको छैन । साइरन प्रणालीले हात्तीको आगमनको पूर्व सूचना प्रदान गरेर समुदायलाई त्रासमुक्त बनाउने काम गरेको छ ।

पूर्व–सूचनामा आधारित प्रविधिको प्रभावकारिताका कारण अब जङ्गली हात्तीबाट हुने जोखिम कम हुँदै गएको छ । यस प्रणालीले मध्यवर्ती क्षेत्रका नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै हात्ती–मानव द्वन्द्व समाधानमा महत्त्वपूर्ण योगदान पु¥याएको छ ।

जङ्गली हात्तीको जोखिम न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जमा साइरन जडान

भेडीगोठमै बित्यो खड्गबहादुरको जीवन

जङ्गली हात्तीको जोखिम न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जमा साइरन जडान

त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित