सिंजामा १ हजार ६४ घरधुरीमा धारा

गाेल्डेन बुढा
जुम्ला,२० कार्तिक ।
कर्णालीको ऐतिहासिक सिँजा गाउँपालिकाका बासिन्दा अब पानीका लागि टाढा धारा खोज्दै हिँड्नुपर्ने अवस्था छैन। संघीय सरकारको अनुदान र फिनल्यान्ड सरकार तथा युरोपियन युनियनको सहकार्यमा गाउँपालिकाका १ हजार ६४ घरधुरीमा सुरक्षित खानेपानी पुगेको छ।गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार खानेपानी अभावले दशकौँदेखि दैनिक जीवन कठिन बनेका बस्तीहरूमा अहिले राहत अनुभव भएको छ।“नराकोटदेखि भुलीगाउँसम्मका बस्तीमा अब स्वच्छ पानीको सहज पहुँच पुगेको छ। खानेपानी हाम्रो विकासको पहिलो आधार बनेको छ,” पूर्णप्रसाद धिताल, अध्यक्ष, सिँजा गाउँपालिका गाउँपालिका खानेपानी प्राविधिक गजेन्द्रबहादुर महतका अनुसार पालिकाभित्र विभिन्न आयोजना र परियोजनाबाट सयौँ धारा निर्माण भएका छन्।वडा -१ को डिग्रा जाँच खानेपानी आयोजनाबाट २ सय १४ धारा,विष्टबाडा आयोजनाबाट ८५ धारा,नराकोट गाउँ आयोजनाबाट १ सउ ५२ धारा,फुङ्ग्रगाउँ (लापा परियोजना)बाट १ सय १९ धारा,गाडापानी गाउँ (प्रदेश सरकारको सहयोग)बाट ५८ धारा, सुस्वा परियोजना अन्तर्गत ४ सय ३६ धारा सुस्वा परियोजनामार्फत बनेका धारामध्ये धिताल लिहीगाउँमा ६४, फार्सेवाडामा १ सय ३०, गोरागाउँमा १ सय ८८, रुघागाउँमा ५४, जोडुगाउँमा १ सय १०, चुलेलगाउँमा ८८, धापामा २७ र भुलीगाउँमा २२ धारा रहेका छन्।सिँजा गाउँपालिकाले खानेपानी र सरसफाइ क्षेत्रमा गरेको लगानी र उपलब्धिलाई सुस्वा परियोजनाले कर्णालीकै उत्कृष्ट ठहर गरेको छ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित मूल्याङ्कन कार्यक्रममा २८ स्थानीय तहमध्ये सिँजाले पहिलो स्थान हासिल गरेको हो।सुस्वा परियोजना संयोजक मञ्जु थापाका अनुसार सिँजाले खानेपानी क्षेत्रमा कुल बजेटको २६ प्रतिशत लगानी गरेको छ।“सिँजाले योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम राखेको छ। विवाद समाधानमा सक्रियता र दिगोपनाको दृष्टिले पनि यो पालिका अग्रणी देखिएको छ,”मञ्जु थापा, संयोजक, सुस्वा परियोजना धारा सञ्चालनसँगै गाउँका बासिन्दाको जीवनस्तरमा सुधार आएको गाउँपालिकाले जनाएको छ। विद्यालय, स्वास्थ्यचौकी र सार्वजनिक स्थानमा पनि स्वच्छ पानी उपलब्ध भएपछि सरसफाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ।अध्यक्ष धिताल भन्छन्, “अब सिँजाका बासिन्दा पानीका लागि घण्टौँ टाढा जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्। हाम्रो लक्ष्य हरेक घरमा दिगो र स्वच्छ खानेपानी।”






