पातारासी भेडापालन तालिम

गाेल्डेन बुढा
जुम्ला,१९ मंसिर।
जुम्लाको पातारासी गाउँपालिका–७, पटमारा। तीन दिनसम्म यो गाउँ महिलाहरूको उत्साह, जिज्ञासा र शिकाइले गुञ्जियो। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुम्लाले “सीप सिकौँ, आत्मनिर्भर बनौँ” मूल नारासहित सञ्चालन गरेको भेडा तथा बाख्रापालन तालिमका सहभागी महिलाहरूका अनुहारमा भविष्यप्रतिको नयाँ सम्भावनाको चमक देखिन्थ्यो।मंसिर १५ देखि १७ गतेसम्म सञ्चालित तालिममा ३६ जना महिलाको उपस्थिति केवल संख्यामा ठूलो थिएन, उनीहरूको प्रतिबद्धतामा पनि गहिरो थियो।
हिमाली जुम्लाको कठोर भूगोल र सीमित अवसरबीच सीपमूलक तालिमले खोलिदिएको ‘व्यावसायिक द्वार’लाई सहभागीहरूले जीवनपरिवर्तनकारी भनेका छन्।पटमारा गाउँकी विमला थापा, वर्षौंदेखि भेडा–बाख्रा पाल्दै आइरहेकी साधारण कृषक। तर, तालिमपछि उनी अब ‘आधुनिक पशुपालक’ बन्न तयार देखिन्छिन्।“हामीले थोरै बुझेका, थोरै गरेका काम पनि यति महत्त्वपूर्ण रहेछन् भन्ने थाहा भयो,” उनले तालिमपछि भनिन्, “रोग लागेपछि कसैलाई बोलाउने, झोलझाम लगाउने मात्र हैन, घरमै उपलब्ध सामग्री प्रयोग गरेर उपचार गर्न सकिने रहेछ।

अब हाम्रो प्रयास व्यवस्थित व्यवसायतर्फ मोडिनेछ।”यस्तै शाखा प्रमुख अनिल खड्का पछिल्ला वर्षयता ग्रामीण महिलाहरूमा उद्यमशिलता बढ्नेक्रमलाई नजिकबाट नियालिरहेका छन्।“हाम्रो उद्देश्य केवल कर्जा दिनु मात्र होइन, कर्जा उपयोग गर्ने कौशल जगाउनु पनि हो,” उनी भन्छन्, “स्थानीय भेडा–बाख्रा पालौँ, सीप सिकौँ, आत्मनिर्भर बनौँ—यो नारालाई व्यवहारमा रूपान्तरण गर्ने सशक्त माध्यम यस्तै तालिमहरू हुन्।”उनका अनुसार तालिममा भेडा–बाख्राका नश्ल पहिचानदेखि रोग व्यवस्थापन, पोषण, घाउ–चोट उपचार, गोठ व्यवस्थापन, परम्परागत तर वैज्ञानिक रूपमा प्रभावकारी घरेलु उपचार प्रविधिसम्म सबै विषय व्यावहारिक रूपमा समेटिएको थियो।लघुवित्त संस्थाले यसअघि गुठिचौर–५ झारज्वालामा च्याउ खेती तालिम आयोजना गरेको स्मरण गर्दै खड्काले भने, “हामी महिलालाई आर्थिक रूपमा सक्षम नागरिक बनाउने लक्ष्यसहित क्रियाशील छौँ। यो तालिम त्यो यात्राको अर्को महत्त्वपूर्ण चरण हो।”भेडा–बाख्रा जुम्लावासीको जीवनशैली मात्र होइन।अर्थतन्त्रको मेरुदण्ड समेत बनेको छ।पशु अस्पताल तथा पशु सेवा कार्यालयका तथ्यांक अनुसार जुम्लामा हाल करिब ८८ हजार भेडा र ४६ हजार ३ सय ६ बाख्रा छन्। करिब ६९ हजार हेक्टर चरन क्षेत्र भएको जुम्लामा भेडापालन पुख्यौली पेशाका रूपमा पुस्तौँदेखि निरन्तर छ।पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जुम्लालाई “हिमाली जिल्लामध्ये सबैभन्दा बढी भेडापालन हुने जिल्ला” भनेर परिभाषित गर्छन्।“जुम्लामा भेडाबाट हुने आम्दानी निकै सन्तोषजनक छ,” उनले भने, “त्यसैले ८ वटै स्थानीय तहका गाउँहरूमा यो पेसा समानरूपमा फैलिएको छ।”एक चन्दननाथ नगरपालिका सात वटा गाउँपालिका छन्।कर्णाली प्रदेश सरकारले गोठालालाई व्यवसायतर्फ आकर्षित गर्न मासिक १ हजार ५ सय रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ ‘गोठालो भत्ता’ उपलब्ध गराउँदै आएको छ। ५० भन्दा बढी भेडा पाल्ने किसान मात्र यस सुविधाका हकदार छन्।पातारासी–७, पटमारा अहिले ‘भेडा–बाख्राको राजधानी’ बन्न पुगेको छ।प्रायः १ सय ९० भन्दा बढी घरधुरी रहेको गाउँमा एक घरसँग औसत १ सय भेडा छन्। धेरै परिवारका लागि यो व्यवसाय मात्र होइन।जीविकाको मुख्य आधार, वार्षिक आम्दानीको प्रमुख स्रोत र परम्परागत पहिचानसमेत हो।
तालिमले महिलाहरूमा आत्मविश्वास मात्रै जगाएको छैन, परम्परागत पशुपालन प्रणालीलाई आधुनिक, वैज्ञानिक र व्यावसायिक दिशातर्फ मोड्ने मार्गसमेत तयार गरेको छ।सहभागी सरिता थापाले व्यक्त गरिन्।“अब हामी घोकन मात्र होइन, ज्ञान प्रयोग गरेर काम गर्छौँ। पशुपालनलाई घरेलु काम होइन, कमाई दिने व्यवसाय बनाउँछौँ।”





