डुडुवा सिंचाई आयोजनाको ऐतिहासिक सम्पत्ति खण्डहरमा परिणत


सरला सुवेदी।
विक्रम सम्बत २०२० सालमा भारतीय सहयोगमा निर्माण गरिएको बाँकेको कोहलपुरस्थित डुडुवा सिंचाई आयोजना अहिले खण्डहरमा परिणत भएको छ। सयौं बिगाह खेतियोग्य जमिनमा सिंचाई पुर्याउने उद्देश्यले निर्माण गरिएको यस आयोजनाको संरचना जीर्ण भएको छ। यसको मर्मत सम्भार नहुँदा कोहलपुर नगरपालिका वडा नम्बर १० चटार क्षेत्रका किसानहरू समस्यामा परेका छन्।
डुडुवा सिंचाई आयोजनाले बाँकेको दक्षिणी क्षेत्रहरू, जस्तै नेपालगन्ज र खजुरासम्मका खेतमा सिंचाई सुविधा पुर्याउँदै आएको थियो। तत्कालीन राजा महेन्द्र शाहद्वारा उद्घाटन गरिएको यो आयोजनाले एक समय कृषि उत्पादनमा ठूलो योगदान दिएको थियो। तर, २०७० सालपछि देखिएको क्षयीकरणले आयोजनाको संरचना कमजोर बनाउँदै लग्यो। अहिले यो स्थानीय बासिन्दाका लागि जोखिमपूर्ण क्षेत्र बनेको छ।
चटार क्षेत्रका किसान रामबहादुर थारू भन्छन्, “पहिले यो आयोजनाले हाम्रो खेतमा पानी पुर्याउँथ्यो, धान, गहुँजस्ता बाली राम्रो हुन्थे। अहिले त सिचाइँको अभावले जमिन बाँझो हुने अवस्था आयो।”
त्यस्तै, अर्का किसान गोमा देवकोटाले भनिन्, “डुडुवाले सिचाइँ गर्न नसकेपछि हामीले पम्पसेट चलाएर पानी ल्याउनुपर्छ। पेट्रोलियमको मूल्य बढेकोले खेती गर्ने खर्च पनि धेरै महँगो भइरहेको छ।”
यसैगरी, युवा किसान विनोद थारुले भने, “यो आयोजनालाई पुनर्जीवित गर्न सके हामीले फेरि सहजै खेती गर्न सक्ने थियौं। तर, सरकारले कुनै ध्यान दिएको देखिँदैन।”

डुडुवा सिंचाई आयोजना २०१६ सालमा शिलान्यास भई २०२० सालमा सम्पन्न भएको थियो। तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको पालामा सिंचाई मन्त्री ललित चन्दले यसको सुरुवात गरेका थिए। चटार र सिम्री गाउँलाई जोड्ने पुलसमेत निर्माण गरिएको थियो। तर, बर्षातका बाढीले पुल र संरचनाहरूमा क्षति पुर्याएपछि आयोजनाले काम गर्न छोड्यो।
स्थानीय सरस्वती केसीका अनुसार, “डुडुवाको क्षेत्र पहिले पर्यटकीय आकर्षणको थलो थियो। अहिले भने यहाँ खतरनाक संरचना बाँकी छन्, जसले जोखिम निम्त्याउँछ।”
डुडुवा सिंचाई आयोजनाको खण्डहर बनेको ६० वर्षपछि, सिक्टा सिंचाई आयोजनाले यस क्षेत्रमा पुनर्निर्माणको सम्भावना देखाएको छ। सिक्टा आयोजनाले यसलाई आफ्नो हिस्साको रूपमा पुनर्जीवित गर्न प्रयास गर्ने बताएको छ। यदि मर्मत र पुनर्निर्माण गरियो भने बाँकेको सयौं बिगाह जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन सकिनेछ।
किसानहरू डुडुवाको पुनर्जीवनले बाँकेको कृषि उत्पादनमा सुधार आउने विश्वास राख्छन्। ऐतिहासिक महत्वको डुडुवा सिंचाई आयोजनालाई जोगाउन र पुनः उपयोगमा ल्याउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता छ।
डुडुवा सिंचाई आयोजनाको पुनर्निर्माणले केवल खेतिपातीमा मात्र सुधार ल्याउँदैन, यसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्नेछ।






