चार जनाको मृगौला प्रत्यारोपणपछि ठप्प, कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा


सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा मृगौला प्रत्यारोपण गर्ने लक्ष्यसहित कर्णाली प्रदेश अस्पतालसँग १० चैत्र २०७८ मा मृगौला प्रत्यारोपण सेवा सुचारु गर्ने सम्झौता गरेको थियो । सेवाको विस्तारसँगै पश्चिन नेपालमा मृगौला प्रत्यारोपण गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेश अस्पतालबाट नियमित सेवा सुरु गर्ने उद्देश्य थियो ।
सम्झौता भएको १० महिनापछि २१ माघ २०७९ मा पहिलो पटक प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण पनि गरियो । तर, पश्चिम नेपाललाई लक्षित गरेर सञ्चालन गरिएको मृगौला प्रत्यारोपण सेवा हाल ठप्प छ । गत आर्थिक वर्षसम्म चार जनामा मृगौला प्रत्यारोपण गरिएको भएपनि चालू आर्थिक वर्षदेखि यो सेवा नै ठप्प बनेको छ ।
पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा कर्णाली प्रदेशमा २१ माघ २०७९ मा नवलपरासी बर्दघाट नगरपालिकाका २२ वर्षीया युवकको गरिएको थियो । उनलाई त्यहीबाट ल्याएर कर्णाली प्रदेशमा मृगौला प्रत्यारोपण गरिएपछि पश्चात पाँच दिनमा डिस्चार्ज गरिएको थियो । २१ माघमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिए पश्चात ६ महिनापछि २८ असार २०८० मा रोल्पाको रोल्पा नगरपालिकाका ३५ वर्षीय युवकमा दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।
मृगौला प्रत्यारोपण प्रक्रियमा ढिलाईसँगै झन्झटिलो प्रक्रिया र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ढिलाईले सेवा नियमित हुन नसकेको अस्पताल स्रोत दावी गर्छ । अस्पताल प्रशासनका अनुसार मृगौला प्रत्यारोपण प्रदेश अस्पतालमा सुरु भएको भएपनि त्यसलाई नियमित गर्नेमा दुबै पक्ष उदासिन हुँदा पनि कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।
मृगौला प्रत्यारोपण गर्न प्रदेश अस्पतालले सात लाख रुपैयाँ र प्रत्यारोपण गर्ने व्यक्तिले डेढलाख रुपैयाँ बेर्होने सहमतिका आधारमा प्रारम्भ भएको सेवा चार जनालाई सेवा दिए पश्चात बन्द भएको छ । पहिलो पटक प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अङ्ग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुने कर्णालीवासीको अपेक्षा थियो । उतिबेला मृगौला उपचार सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यताको अन्त्य भएको प्रदेश अस्पतालले दावी गरेको थियो ।
सेवा सुभारम्भ गर्दा प्रदेश अस्पतालमा राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट केही चिकित्सकहरुको टीमले महिनाको दुई पटक मृगौला प्रत्यारोपण सेवा दिने बताइएको भएपनि हालसम्म त्यसो हुन सकेको छैन । नियमित सेवा सुचारु गर्नेतर्फ भइरहेको ढिलाईले कर्णालीवासीलाई मृगौला रोगको उपचार गर्न प्रदेश बाहिर जानुपर्ने बाध्यता कायमै छ ।
यस्तो थियो सम्झौता
१० चैत्र २०७८ मा भएको सम्झौता पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका तत्कालिन निर्देशक डा. डम्बर खड्काले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्रदेश अस्पताल अन्तर्गतका अस्पतालमा डायलोसिस सेवा विस्तार गरी मृगौला प्रत्यारोपण गर्ने भनिएको थियो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा प्रदेश अस्पतालको जनशक्तिलाई सिप हस्तान्तरण गरेर उच्च प्रविधि र दक्ष जनशक्तिले उत्कृष्ट सेवा दिने लक्ष्यका साथ सेवा प्रारम्भ गर्न लागिएको दावी गरिएको थियो । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको मृगौला विरामीहरुको चाँपलाई ध्यानमा राखि मृगौला प्रत्यारोपण देशभर विस्तार गर्ने लक्ष्यका साथ पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुचारु गर्न लागिएको केन्द्रले दावी थियो ।
प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने सम्झौता भएको थियो ।
नियमित गर्ने बिषयमा छलफल भइरहेको छ : अस्पताल
कर्णाली प्रदेश अस्पतालमा हालसम्म दुई पटकमा चार जनाको मृगौला प्रत्यारोपण गरिएको छ । अन्तिम पटक २८ माघ २०८० मा मृगौला प्रत्यारोपण भएको थियो । त्यसयता चालू आर्थिक वर्षको हालसम्म मृगौला प्रत्यारोपण नभएको अस्पतालले जनाएको छ । चालू आर्थिक वर्षमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग भएको सम्झौता अनुसार मृगौला प्रत्यारोपण नभएको अस्पतालको भनाई छ ।
हाल अस्पतालले केन्द्रसँग समन्वयमार्फत नियमित मृगौला प्रत्यारोपण सेवा प्रदान गर्ने बिषयमा छलफल भइरहेको कर्णाली प्रदेश अस्पतालमा सूचना अधिकारी विनोद बस्नेतले बताए । ‘हामीले अहिले मृगौला प्रत्यारोपणका बिषयमा केन्द्रसँग कोर्डिनेसन गरिरहेका छौं,’ उनले भने, ‘मृगौला प्रत्यारोपण सेवा चाँडै सञ्चालनमा ल्याउने पहल भइरहेको छ ।’
अन्तिम पटक २८ असार २०८० मा मृगौला प्रत्यारोपण भएको त्यसभन्दा पछाडी हुन नसकेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । एउटा मृगौला बिरामी मृगौला प्रत्यारोपण गर्दा पाँच लाख बढी रुपैयाँ लाग्ने र त्यसका लागि प्रदेश अस्पतालले नै खर्च बेर्होने गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
भेरी अस्पतालमा सेवा सुचारु गर्न सकस
नेपालगन्जको भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुचारु हुनमा ढिलाई भइरहेको छ । भेरीमा न त स्थायी प्रत्यारोपण सर्जन नै छन्, न त नेफ्रोलोजिष्ट छन् (छात्रवृत्ति करारका एक जना चिकित्सकको ५ महिनामा करार अवधि सकिँदैछ) । प्रत्यारोपणका लागि विशेष तालिम लिएका नर्सिङ्ग स्टाफ पनि छैनन् । पूराना भवनमा रहेका दुई वटा ओटी सञ्चालनमा भएको भएपनि जनशक्ति अभावका कारण नयाँ बनेका भवनको ओटी सञ्चालनमै आउन सकेको छैन ।
आवश्यक पूर्वाधार र जनशक्ति अभावका बिच भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको हतारोले सेवा सञ्चानलमा बिलम्व भइरहेको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले तत्काल प्रत्यारोपण सेवा सुरु गर्न सम्भव नभएको बताउँछन् । ‘दुई संस्थाबीच सहकार्यको सम्झौता भएको हो । सम्झौतामा एक महिनाभित्र भन्ने छैन,’ उनले भने, ‘एउटा प्रक्रिया सुरु भएको छ । पूर्वाधार र जनशक्ति केही छ, केही थप गरेर तीनदेखि ६ महिनासम्ममा सेवा सुरु गर्न सक्छौ भन्ने हो ।’






