पालिका जिम्मेवार नबन्दा बिरामीले पाउँदैनन् निःशुल्क औषधी


पूर्वि सुर्खेतका केही पालिकाले स्वास्थ्य संस्थाका लागि नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क अत्यावश्यकिय औषधी तथा स्वास्थ्य सामाग्री समयमै खरिद नगर्दा औषधी अभाव हुने गरेको पाइएको छ ।

यी पालिकाका स्वास्थ्य संस्थामा गरिएको स्थलगत अनुगमनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाले समयमै औषधी खरिद नगर्दा सरकारले निःशुल्क उपलब्ध गराउने औषधीबाट नागरिक बञ्चित हुनु परेको पाइएको हो ।

भेरीगंगाले चार स्वास्थ्य चौकी, एक सहरी स्वास्थ्य केन्द्र र १३ आधारभूत स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने औषधी समयमै खरिद नगर्दा सेवा प्रवाहमा समस्या हुने गरेको भेरीगंगा १२ स्थित रामघाट स्वास्थ्य चौकीका इन्चार्ज पुष्पा बास्कोटा बताउँछिन् ।
पालिकाले समयमै औषधीको व्यवस्थापन नगरिदिँदा अन्य स्वास्थ्य संस्था तथा प्रदेश आपूर्ति केन्द्रबाट औषधी मागेर चलाउनु पर्ने बाध्यता रहेको उनले बताइन । ९८ प्रकारका अत्यावश्यक औषधीहरु निःशुल्करुपमा प्रदान गर्न संघ, प्रदेश र स्थानीय तहले औषधी खरिद गर्ने गरेका छन् । तर, स्थानीय तहले औषधी खरिदमा ढिलाई गर्दा बिरामीले भनेको बेलामा औषधी पाउन सक्ने अवस्था नरहेको बास्कोटाले बताइन ।

भेरीगंगाकै छिन्चु स्वास्थ्य चौकीमा समेत औषधी अभाव हुने गरेको छ । विरामीको अत्याधिक चाप हुने छिन्चु स्वास्थ्य चौकीमा अन्य स्वास्थ्य संस्था तथा वडाबाट मागेर भएपनि औषधीको पूर्ति गर्ने गरेको स्वास्थ्य चौकीका इन्चार्ज हरिप्रसाद उपाध्यय बताउँछन् ।

चालु आर्थिक वर्षका लागि स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने औषधी नगरपालिकाले चैत्रमा पठाएको उनको भनाई छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले स्वास्थ्य संस्थामा पठाउनु पर्ने अत्यावश्यक औषधी खरिदका लागि १३ कार्तिक २०८० मा प्रक्रिया अगाडि बढाएर चैत्रमा औषधी स्वास्थ्य संस्थामा पठाएको थियो ।

यस्तै, ६ स्वास्थ्य चौकी, आठ आधारभुत स्वास्थ्य केन्द्र, पाँच सहरी स्वास्थ्य केन्द्र र सात बर्थिङ्ग सेन्टर रहेको गुर्भाकोट नगरपालिकामा पनि यही समस्या छ । विरामीको बढी चाप हुने गुमी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर र कल्याण स्वास्थ्य चौकीमा समय समय औषधी अभाव हुने गरेको स्थलगत अनुगमनका क्रममा पाइएको छ ।

गुर्भाकोट–१३ कि टेविता सारुले भनेको बेला औषधी नपाईने गरेको गुनासो गरिन । प्रायजसो स्वास्थ्य बीमामार्फत निशुल्क पाइने औषधि नै नपाईने गरेको उनले बताइन । सुगर, प्रेसर लगायतका नियमित खानुपर्ने औषधी अभाव हुँदा निजि मेडिकलबाट किनेर खाने गरेको उनले बताइन ।

त्यस्तै, चार स्वास्थ्य चौकी, पाँच आधारभूत स्वास्थ्य केन्द्र, तीन सामुदायिक इकाई र एक प्राथमिक केन्द्र रहेको लेकवेशीले पनि समयमै औषधी खरिद गर्ने गरेको छैन । खरिद प्रक्रियामा झन्झट, न्यून बजेट लगायतका कारण औषधी खरिदमा ढिलाई हुने गरेको नगर स्वास्थ्य शाखा भेरीगंगाका प्रमुख विमल रावत बताउँछन् । आवश्यकता अनुसारको बजेटको व्यवस्थापन नहुँदा थप समस्या भइरहेको रावतले बताए ।

त्यस्तै, स्वास्थ्यलाई स्थानीय तहको जिम्मेवारीमा राख्दा व्यवस्थापनको पाटो भद्रगोल बनिरहेको गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक जिवन लामिछानेले बताए । स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिईदा संघीयतापछि कार्यसम्पादनमा तालमेल नमिलि रहेको उनले बताए ।

आवश्यकताको आधारमा कुन स्वास्थ्य संस्थामा कति औषधी आवश्यक पर्छ भनेर विश्लेषण नै नगरी हचुवाको भरमा औषधी वितरण गर्दा विरामीको चाप बढी हुने स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी संधै अभाव हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । जसका कारण कतै औषधी अभाव भइरहने कतै औषधी खेर जाने भइरहेको छ ।

सरकारले स्वास्थ्य संस्थाका लागि निःशुल्क औषधी चार÷चार महिनाको फरकमा खरिद गर्नुपर्ने परिपत्र गरेपनि स्थानीय तहरु जिम्मेवार नबन्दा नागरिकहरु निजि मेडिकल धाउन बाध्य भइरहेका छन् । समयमै औषधीहरु आपूर्ति गरी स्वास्थ्य संस्थाहरुबाट बर्षभरी नै निःशुल्क औषधी उपलब्धता गराउनतर्फ पालिकाहरु बिमुख देखिएका छन् ।

परामर्शसहितको मानसिक स्वास्थ्य सेवा
पछिल्लो समय यहाँका स्वास्थ्य संस्थाहरुले मानसिक समस्यालाई पनि प्राथमिकता दिन थालेका छन् । सामाजिक, आर्थिक तथा पारिवारिक लगायत विभिन्न कारणले सिर्जना हुने मानसिक समस्याको निराकरणका लागि भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाका स्वास्थ्य संस्थाहरुले परामर्श कक्षसहितको सेवा दिन थालेका छन् ।

मानसिक समस्याको उपचार हुने भएपछि विस्तारै सेवाग्राही बढ्दै जान थालेको लेकवेशी–६ को कल्याण स्वास्थ्य चौकीका इन्चार्ज भगवती श्रेष्ठ बताउँछिन् । मानसिक समस्या लिएर आउने अधिकांश महिला रहेको उनले बताइन । प्रमुख समस्याको रुपमा बढ्दै गएको मानसिक समस्याको उपचार गर्न छिन्चु स्वास्थ्य चौकी, रामघाट स्वास्थ्य चौकी, गुमी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर र कल्याण स्वास्थ्य चौकीले मनोसामाजिक परामर्शदाता मार्फत सेवा दिइरहेका छन् ।

थपिँदै स्वास्थ्य सेवा
पूर्वि सुर्खेतका तीन पालिकामा स्थापना भएका सामुदायिक स्वास्थ्य संस्थाहरुमा सेवाहरु थपिदै गएका छन् । सामान्य विरामी हुँदा वीरेन्द्रनगर धाउने यहाँका नागरिकहरुले घरदैलोमै विशिष्टिकृत स्वास्थ्य सेवा पाउन थालेका छन् ।
भेरीगंगा नगरपालिका १२ कि रिता रेग्मी पहिलो पटक सुत्केरी हुँदा जाँच गराउन वीरेन्द्रनगर जानु परेको बाध्यता सुनाउँदै घर नजिकै प्रसुति सेवा सुरु भएपछि खुशी लागेको बताइन ।
सामान्य उपचारात्मक पद्धतीबाट विस्तारै यहाँका स्वास्थ्य संस्थाहरु अब्बल स्वास्थ्य सेवा प्रवाहको बाटोमा लाग्न थालेका छन् । सुरक्षित मातृत्व, खोप तथा परिवार नियोजन सेवा, क्षय तथा कुष्ठरोग, मानसिक रोग, २४ सै घण्टा एम्बुलेन्ससहितको सेवा प्रवाह भइरहेको छ ।
त्यस्तै, पोषण सम्बन्धि सेवा, स्वास्थ्य शिक्षा, सरुवा रोग सम्बन्धि सेवा, यौन तथा एचआईभी परामर्श सेवा, सुरक्षित गर्भपतन लगायतका सेवाहरु स्थानीय स्तरबाटै भइरहेका छन् ।

जिर्ण भवनबाट सेवा दिँदै कल्याण र दशरथपुर
लेकवेशी नगरपालिका–६ स्थित कल्याण स्वास्थ्य चौकीले भौतिक अभाव झेलि रहेको छ । भवन अभावका कारण एउटै कोठामा विरामी राखेर उपचार गर्नुपर्ने बाध्ययता रहेको स्वास्थ्य चौकीकी इन्चार्ज भगवति श्रेष्ठले दुखेसो पोखिन ।
‘हामी कहाँ भवन अभाव हुँदा जिर्ण भवनमा बसेर सेवा दिनु पर्ने बाध्यता छ,’ उनी भन्छिन्, ‘भवन नहुँदा स्वास्थ्यका मापदण्ड पुरा गर्न सकिएको छैन, सबै विरामीलाई एउटै कोठामा राखेर सेवा दिनुपर्छ, अर्को कुरा हामी कहाँ विद्युतको वैकल्पिक व्यवस्था नभएका कारण विद्युत गएको बेला टर्च बालेर सेवा दिनुपर्ने बाध्यता छ ।’
भवन पुरानो र जिर्ण भएकाले पानी परेको बेला चुहिएर कोठाहरु जलमग्न हुने उनले बताइन । स्वास्थ्य चौकीका लागि भनेर निर्माण थालिएको भवन ठेकेदारको लापरवाहीले हालसम्म पनि बन्न नसक्दा समस्या भइरहेको छ ।
त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरले पनि जिर्ण भवनबाट सेवा दिइरहेको छ । एक जना विशेषज्ञ डाक्टरसहित सात बेडबाट सेवा दिइरहेको केन्द्रले वर्षौ पुराना र जिर्ण बनेका भवनबाट सेवा दिइरहेको छ । पुरानो भवनबाट अहिलेको स्वास्थ्य मापदण्ड अनुसार सेवा दिन सकस भइरहेको स्वास्थ्य चौकी इन्चार्ज खगेन्द्र बिरकट्टाले बताए ।

जनशक्ति नहुँदा थन्कियो डिजिटल एक्सरे
प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा जडान गरिएको डिजिटल एक्सरे जनशक्ति अभावका कारण थन्किएको छ । उक्त मेसिन सञ्चालन गर्न रेडियोग्राफरको दरवन्दी नहुँदा प्रयोगविहिन बनेको स्वास्थ्य चौकी इन्चार्ज विरकट्टाले बताए । एक्सरे मेसिन सञ्चालनका लागि पालिकामा दरवन्दीको माग गरिएको भएपनि हालसम्म व्यवस्थापन हुन नसकेको उनले बताए ।

पालिका जिम्मेवार नबन्दा बिरामीले पाउँदैनन् निःशुल्क औषधी

सम्पादकीय : विदेश युवा मात्रै नपठाऊँ सिप

पालिका जिम्मेवार नबन्दा बिरामीले पाउँदैनन् निःशुल्क औषधी

YUGAAWHAN NATIONAL DAILY (2081-03-14)